१७ वैशाख २०८३, बिहिबार

सहकारी शिक्षामा व्यापकता : म्याग्दीमा विश्वामित्र साकोसको सहकारी शिक्षा

२०७१ जेठ ४, आईतवार
सहकारी शिक्षामा व्यापकता : म्याग्दीमा विश्वामित्र साकोसको सहकारी शिक्षा

म्याग्दी, ४ जेठ । सहकारी संस्थालाई व्यवस्थित रुपमा सञ्चालन गर्नका लागि सदस्यहरुमा सहकारी सम्बन्धी शिक्षा आवश्यक रहेको भन्दै पछिल्लो समयमा सहकारीहरुले सहकारी शिक्षालाई व्यापक बनाउन थालेका छन् ।

सहकारी संस्थाहरुले गर्ने मुनाफा मध्ये सहकारी शिक्षा कोष नै खडा गरेर सहकारी संघ संस्थाहरुले सहकारी शिक्षा सञ्चालन गर्न थालेका हुन् । सहकारी ऐनमै सहकारीका विभिन्न कोषहरुको व्यवस्था गरिए पनि विगतमा सहकारी शिक्षामा लगानी हुने गरेको थिएन ।

पछिल्लो समयमा सहकारी शिक्षातर्फ सहकारीहरुको आकर्षण बढ्नुले सहकारीलाई बलियो बनाउन सहयोग पु¥याउने सहकारीका अगुवाहरु बताउँछन् । मुलुकमा सहकारीको संख्या ३० हजार पुग्नै लाग्दा पनि सबै जिल्लामा डिभिजन सहकारी कार्यालय र आवश्यक जनशक्ति नहुदा राज्यले सहकारी शिक्षा त परै जावस सहकारीको अनुगमन समेत गर्न सकिरहेको छैन । राज्यले गर्न नसकेपछि सहकारी संस्थाहरुले सहकारी शिक्षा लगायतका कार्यक्रम सञ्चालन गरेर सहकारी अभियानलाई व्यापक बनाउँदै लगेका छन् ।

यसै क्रममा म्याग्दी जिल्लाको बेनी बजारमा सञ्चालित विश्वामित्र बचत तथा ऋण सहकारी संस्था लि.ले शुक्रवार एक दिने सहकारी शिक्षा तथा व्यवस्थापन तालिम सम्पन्न गरेको छ ।

तालिममा संस्थाका ५० जना शेयर सदस्यहरुको सहभागिता रहेको थियो । क्रमश संस्थामा आवद्ध सबै सदस्यहरुलाई सहकारी शिक्षा दिइने संस्थाका अध्यक्ष कृष्णबहादुर बानियाले जानकारी दिए । संस्थामा करिव ३ सय शेयर सदस्य रहेका छन् ।

तालिममा सहकारीको अवधारणा, मूल्य मान्यता र सिद्धान्त तथा शेयर सदस्य, सञ्चालक र कर्मचारीको काम कर्तव्य अधिकार लगायतका विषयमा राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष रामबहादुर जिसीले सहजीकरण गर्नु गरेका थिए । तालिमको उद्घाटन जेष्ठ शेयर सदस्य नन्दकली खड्काले गरे । कार्यक्रम संस्थाका अध्यक्ष कृष्णबहादुर बानियाको अध्यक्षता र उपाध्यक्ष मालती केसीको सञ्चालनमा सम्पन्न भएको थियो ।

अभिलेख

लोकप्रिय