गाभिँदै धवलागिरिका सहकारी
बागलुङ, २५ वैशाख । देशभर सहकारी संस्थाको सङ्ख्या बढिरहेका बेला धवलागिरिका सहकारी भने एकीकरण हुन थालेका छन् । सहकारी ऐन २०४८ र एकीकरण कार्यविधि २०७० को प्रावधानमा टेकेर सहकारीहरू एकीकरणतिर अग्रसर बनेका हुन् ।
हालसम्म धवलागिरि अञ्चलभित्रका १० वटा सहकारी संस्था एकीकरण भइसकेका डिभिजन सहकारी कार्यालय बागलुङले जनाएको छ । २०६५ सालमा म्याग्दीकाली केबुल नेटवर्क सहकारी संस्था र म्याग्दी सञ्चार सहकारी संस्थाबीच धवलागिरिमै पहिलो पटक एकीकरण सम्पन्न भएको डिभिजन सहकारी कार्यालय बागलुङका सहकारी अधिकृत विष्णुप्रसाद सुवेदीले बताउनुभयो ।
त्यस्तै बागलुङ, पर्वत र म्याग्दीमा गरी हालसम्म १० वटा सहकारी एकीकरण भएको अधिकृत सुवेदीले जानकारी दिनुभयो ।
एकीकरण हुनेमा पर्वत कुर्घाको चिसापानी सहकारी संस्था र कुर्घा बहुउद्देश्यीय सहकारी संस्था, बागलुङ तित्याङ्को कल्याणकारी बचत तथा ऋण सहकारी संस्था र बागलुङ नगरपालिका–३ को सिवाइसी बचत तथा ऋण सहकारी संस्था, त्यस्तै पैँयुपाटा बागलुङको कालीगण्डकी महिला विकास बहुउद्देश्यीय सहकारी संस्था र महिला जागरण सहकारी संस्था, बिम म्याग्दीको बिम बहुउद्देश्यीय सहकारी संस्था र बिम कृषि सहकारी संस्थाबीच एकीकरण भइसकेको कार्यालयले जनाएको छ ।
अधिकृत सुवेदीले भन्नुभयो, “एकीकृत ढङ्गले पुँजी निर्माण र संस्थालाई सवलीकरण गर्न एकीकरण आवश्यक छ ।” धवलागिरि अञ्चलका चारै जिल्लामा गरी ८६२ सहकारी संस्था सञ्चालनमा छन् ।
पछिल्लो समय नयाँ सहकारीहरू दर्ता हुनेक्रम तुलनात्मक रूपमा कम रहेको बताइन्छ । एकीकरण अभियानले सहकारी संस्थाहरूको सङ्ख्यामा केही मात्रामा भए पनि कमी आउने देखिएको छ । थप नयाँ सहकारीहरू पनि एकीकरणको तयारीमा रहेको अधिकृत सुवेदीले बताउनुभयो ।।
सवल र सक्षम संस्था निर्माण गर्न, संस्थालाई पुँजी, भौतिक तथा मानवीय संसाधनद्वारा सक्षम र आत्मनिर्भर बनाउन, सङ्घ संस्थाको दिगो विकास र स्थायित्व कायम गर्न, सदस्यलाई प्रदान गरिने सेवामा गुणात्मकता वृद्धि गर्न, सञ्चालन खर्च कटौती गरी उत्पादनका क्षेत्रमा लगानी बढाउन, सहकारीको क्षेत्रमा रहेका विकृतिहरू सुधार गर्नलगायत अन्य उद्देश्यका लागि सहकारीहरू एकीकरण हुने गरेका हुन् ।
एउटै कार्य क्षेत्रभित्र रहेका र एउटै विषय तथा उद्देश्यले खोलिएका सहकारी एकीकरण गर्न सकिने अधिकृत सुवेदीले बताउनुभयो । साथै, फरक जिल्ला भएर पनि कार्यक्षेत्र जोडिएका संस्थाहरू पनि एकीकरण हुन सक्ने उहाँको भनाइ छ ।
एकीकरणका लागि सम्बन्धित सहकारी संस्थाका सेयर सदस्य, सञ्चालक समिति, लेखा समितिलगायत अन्य समिति र पदाधीकारीसँग छलफल गरी सहमति जुटाउनुपर्ने, शर्त तथा कार्यविधि तय गर्न संयुक्त कार्यदल बनाउनुपर्ने, कार्यविधि साधारणसभामा लैजाने र साधारणसभाबाट पारित गरी आवश्यक प्रक्रिया पूरा गरी एकीकरण गर्न सकिने व्यवस्था एकीकरणसम्बन्धी कार्यविधि २०७० ले गरेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
राष्ट्रिय साकोस कञ्चनपुरको प्रमुख कार्यकारी अधिकृतमा धर्मराज जोशी नियुक्त
२ कार्तिक २०८३, आईतवार
चण्डेश्वरी साकोसद्वारा बाढीपीडितको राहतका लागि १ लाख ५५ हजार सहयोग
२९ आश्विन २०८३, बिहीबार
सहकारी विज्ञ प्रशिक्षकको विवरण अद्यावधिक गर्दै रजिस्ट्रार कार्यालय
२८ आश्विन २०८३, बुधबार