१७ वैशाख २०८३, बिहिबार

कास्कीका सहकारीको कारोबार बैङ्क सरह

२०७१ वैशाख २५, बिहिबार
कास्कीका सहकारीको  कारोबार  बैङ्क सरह

वैशाख २५, पोखरा । कास्कीमा सहकारीमार्फत चालू आर्थिक वर्षको मध्य वैशाखसम्म रू. ९ अर्ब ७७ करोड ९१ लाख ५० हजार ऋण लगानी भएको छ । कास्कीमा रहेका ५ सय ६३ सहकारीमार्फत विभिन्न शीर्षकमा ऋण लगानी भइरहेको छ । अघिल्लो आर्थिक वर्षको वैशाखसम्मको तुलनामा यो वर्ष रू. ४ अर्ब बढी ऋण लगानी भएको सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय, पोखराको तथ्याङ्कले देखाएको छ ।
आर्थिक वर्ष २०६९/७० मा कास्कीका सहकारीमार्फत ५ अर्ब ६१ करोड ३८ लाख ७० हजार ऋण लगानी भएको थियो । ऋण लगानीसँगै पछिल्लो समय सहकारी संस्थाको कुल निक्षेप र जगेडा कोषमा पनि वृद्धि भएको सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालयका प्राचार्य नारायणप्रसाद अर्यालले जानकारी दिए । जगेडा कोषमा अघिल्लो आर्थिक वर्षमा रू. १० करोड १३ लाख रहेकोमा चालू आर्थिक वर्षको शुरुआतमै रू. २३ करोड ७ लाख पुगेको छ । त्यस्तै आर्थिक वर्ष ०६९/७० मा रू. ५८ करोड ९४ लाख निक्षेप सङ्कलन गरेका सहकारीको चालू आवमा रू. ८६ करोड २० लाख निक्षेप देखिएको छ ।

कास्कीमा बचत तथा ऋण ३ सय ३६, कृषि १ सय १४, उपभोक्ता ३३, दुग्ध २३ लगायतका सहकारी सञ्चालनमा छन् । नियमन र अनुगमन प्रभावकारी नहुँदा यसअघि सहकारीको कुल कारोबारसम्बन्धी यकिन तथ्याङ्क नदेखिएको र अहिले सबैलाई अनुगमनको दायरामा ल्याएकाले कारोबार बढी देखिएको अर्यालले बताए । कास्कीका अधिकांश सहकारीको लगानी व्यापार, रियल इस्टेटलगायतमा रहेको छ ।
सहकारी ऐननियमको अनभिज्ञता, कार्यक्षेत्र उल्लङ्घन गर्ने प्रवृत्ति, गैरसदस्य कारोबार, बढी ब्याजदरमा ऋण लगानीलगायतका कारण पछिल्लो समय सहकारीको कारोबार जोखीममा पर्दै गएको छ । निष्क्रिय भई अघिल्लो वर्ष ६ ओटा सहकारी खारेजीमा परेको कास्कीमा यस वर्ष पनि ६ सहकारी खारेजीको प्रक्रियामा छन् । कार्यालयका अनुसार गत माघमा १४ र फागुनमा १३ ओटा गरी २७ ओटा मासिक प्रगति विवरण नबुझाउने सहकारीलाई जरीवाना गरिएको छ । सहकारीको कारोबार पारदर्शी एवम् प्रभावकारी बनाउन नियमन र अनुगमनको कामलाई तीव्रता दिइने प्राचार्य अर्यालले बताए । अबको १ वर्षभित्र रू. १ करोडभन्दा बढीको कारोबार गर्ने सबै सहकारीलाई अनुगमन गरिने उनको भनाइ छ ।
बैङ्कसरह सहकारीको कारोबार
कास्कीमा कतिपय सहकारी बैङ्कसरह कारोबार गर्न सफल भएका छन् । पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाको कारोबार वार्षिक रू. ५० करोडभन्दा बढी छ । कोन बचत तथा ऋण सहकारीको कारोबार पनि वार्षिक रू. ५० करोडकै हाराहारीमा रहेको सहकारी डिभिजन कार्यालयको तथ्याङ्क छ । यसैगरी कास्कीमा वार्षिक रू. ५ करोडभन्दा बढी कारोबार गर्ने सहकारीको सङ्ख्या ६२ छ । साथै, १ करोडभन्दा माथिको कारोबार गर्ने सहकारीको सङ्ख्या भने १ सय ७६ ओटा रहेको अर्यालले जानकारी दिए ।

अभिलेख

लोकप्रिय