१ कात्तिक २०८३, शनिवार

सहकारीको विकास प्रशिक्षक प्रशिक्षण शुरु ,वित्तिय लगानीको पहुँच बढाएर उत्पादनमा लाग्न गभर्नरको सुझाव

२०७१ वैशाख ३, बुधबार
सहकारीको विकास प्रशिक्षक प्रशिक्षण शुरु ,वित्तिय लगानीको पहुँच बढाएर उत्पादनमा लाग्न गभर्नरको सुझाव

काठमाडौं, ३ बैशाख । नेपाल राष्ट्र बैंकका गभर्नर डा. युवराज खतिवडाले उत्पादन प्रक्रियामा वित्तिय पहुँचको अतुलनीय महत्व रहने बताएका छन् ।

राज्यले सामाजिक न्यायका लागि स्रोतको पुनर्वितरण गर्नसक्ने अवस्था नरहेको परिप्रेक्ष्यमा स्थानीय तहमा पुग्ने वित्तिय सेवा (खासगरी कर्जाको पहुँच) स्रोतको पुनर्वितरण सरह हुने र समावेशी आर्थिक विकास सम्भव हुने गभर्नरले उल्लेख गरे ।

सोमबारदेखि शुरु भई पाँच दिनसम्म सञ्चालन हुने ‘ग्रामीण वित्तिय लगानीमा वित्तिय संस्था र सहकारीको विकास प्रशिक्षक प्रशिक्षण’ कार्यक्रमको उद्घाटन गर्दै उक्त कुरा बताएका हुन् । सेन्टर फर इन्टरनेशनल को–अपरेसन एण्ड ट्रेनिङ इन एग्रिकल्चरल बैंकिङ (सिक्ट्याब)–भारतको आयोजना तथा नेपाल राष्ट्र बैंक, कृषि विकास बैंक, राष्ट्रिय वाणिज्य बैंक, साना किसान विकास बैंक, राष्ट्रिय सहकारी विकास बोर्ड तथा नेपाल बचत तथा ऋण सहकारी संघ (नेफस्कुन) को सह आयोजनामा सञ्चालन भइरहेको तालिम कार्यक्रमा भारत, नेपाल, भुटान, बंगलादेश, श्रीलंका लगायत देशका ३२ सहभागिले प्रशिक्षक प्रशिक्षण तालिम लिइरहेका छन् ।

तालिम उद्घाटन कार्यक्रमका प्रमुख अतिथि रहेका गभर्नर डा. खतिवडाले दक्षिण एसियाली देशहरु खासगरी भारत र नेपालमा सन् १९५०–६० को दशकदेखि नै भूमिसुधार सुरु भए पनि भूमिसम्बन्धि स्रोतको वितरण प्रभावकारी नभएकाले अहिलेको समयमा ठूलो सामाजिक क्रान्ति खोज्ने भन्दा पनि वित्तिय लगानीको पहुँच बढाएर उत्पादन बढाउने तथा गरिबी निवारण गर्नुपर्ने कुरामा जोड दिए ।

प्रविधि र ज्ञानसँगै वित्तिय लगानीले समाजमा रुपान्तरण ल्याउनेभन्दै गभर्नर खतिवडाले दक्षिण एसियाका सबै देशहरुमा वित्तिय मध्यस्थकर्ताहरुले वित्तिय स्रोतको माग पुरा गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा साना किसान विकास बैंकका प्रमुख कार्यकारी अधिकृत जलनकुमार शर्माले दक्षिण एसिया क्षेत्रमा कृषि क्षेत्र अर्थतन्त्रको महत्वपूर्ण पक्ष भएकाले कृषि उत्पादकत्व वृद्धिका लागि लघुवित्त संस्थाले महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्ने बताए । अहिले लघुवित्तिय संस्थाले १५ लाख जनसंख्यामा वित्तिय सेवा पु¥याएको उनको भनाई थियो ।

कार्यक्रमको सभापतित्व गरेका कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत तेज बहादुर बुढाथोकीले सरकार र वित्तिय संस्थाहरुको प्रयासका बाबजुद पनि दक्षिण एसियामा गरिबी निवारणमा ठूलो सुधार हासिल हुन नसक्नुका कारणहरुमध्ये वित्तिय पहुँच प्रमुख रहेको उल्लेख गर्दै लगानीको आवश्यकतालाई पूर्ति गर्ने संयन्त्र विकासमा जोड दिए ।

अभिलेख

लोकप्रिय