१७ वैशाख २०८३, बिहिबार

हजारौं सहकारीकर्मीहरु एकै ठाउँमा भेला

२०७० चैत २१, शुक्रबार
हजारौं सहकारीकर्मीहरु एकै ठाउँमा भेला

सिमरा, २१ चैत्र । ५७ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा आज बारा जिल्लाका हजारौं सहकारीकर्मीहरुले सदरमुकाम कलैयामा र्याली तथा सभा आयोजना गरेका छन । डिभिजन सहकारी कार्यालयबाट सहकारीका विभिन्न नाराहरु र झांकीसहित आरम्भ भएको र्याली कलैया नगर परिक्रमापछि सभामा परिणत भएको थियो ।

सभामा बोल्दै प्रमुख जिल्ला अधिकारी दिनेश भट्टराईले सहकारी अभियानलाई दिगो र गुणात्मक बनाउन राज्य र प्रशासनिक निकाय गम्भिर र प्रतिवद्ध रहेको बताए । सहकारीहरु मुनाफा र प्रतिस्पर्धामा भन्दा पनि सेवामा केन्द्रीत हुन भट्टराईले आग्रह गरे ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ नेफ्स्कूनका सञ्चालक कृष्ण पौडेलले सहकारी अभियानको गुणात्मक विकास र उद्यमशिलतामा आधारित बनाउनु अहिलेको आवश्यकता रहेको बताउँदै सहकारी क्षेत्रको पूंजी, श्रम र सीपलाई मुलुकको दिगो आर्थिक विकास तथा सामाजिक न्यायमा परिचालित गर्न जरुरी रहेको बताए । प्रथम सहकारी महासम्मेलनले दिशा निर्देश गरेका भावनाहरुलाई आत्मसात गर्दै सहकारीमैत्री संविधान र व्यवहार बनाउन पौडेलले जोड दिए ।

कार्यक्रममा पूर्वमन्त्री कलावती पासवान, साना किसान कृषि सहकारी संघका अध्यक्ष शिव अधिकारी, बारा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष भोला गौतम, जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष नारायण बर्तौलालगायतले आफ्नो धारणा राखेका थिए ।

डिभिजन सहकारी कार्यालय बाराका प्रमुख महेन्द्र राउतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्लाको उत्कृष्ट सहकारी संस्थाको रुपमा डुमरवानास्थित समाजसुधार कृषि सहकारी संस्थाको रुपमा सम्पन्न भएको छ । त्यसैगरी उत्कृष्ट सहकारी सञ्चालकको रुपमा दलित बहुद्धेश्यीय सहकारी संस्था धर्मनगरका अध्यक्ष पूर्वमन्त्री कलावती पासवान, क्रियाशिल बचत तथा ऋण सहकारी संस्था रतनपुरीका अध्यक्ष ईन्द्रलाल श्रेष्ठ, हरियाली कृषि सहकारी संस्था सिहोर्वाका अध्यक्ष रामबाबु कर्ण, हितैषी दुग्धउत्पादक सहकारी संस्था पिप्राढीका अध्यक्ष रामचन्द्र चौधरीलाई सम्मानित गरिएको छ ।

अभिलेख

लोकप्रिय