१७ वैशाख २०८३, बिहिबार

सहकारी समुदायमा आधारित हुनुपर्ने, पर्सेली सहकारीद्वारा ११ वुंदे प्रतिवद्धता

२०७० चैत १६, आईतवार
सहकारी समुदायमा आधारित हुनुपर्ने, पर्सेली सहकारीद्वारा ११ वुंदे प्रतिवद्धता

पर्सा, १५ चैत । नेपाल बचत तथा ऋण सहकारी संघ (नेफ्स्कुन) का सञ्चालक कृष्ण पौडेलले सहकारी संस्थाहरु सामाजिक व्यवसाय भएकोले समुदायमा आधारित भई नोक्सान नहुने गरी सञ्चालन हुनुपर्ने बताएका छन् ।

पर्साको वीरगञ्जमा आयोजित सहकारीका समस्या र समाधानका उपायहरु विषयक एक दिने अन्तरक्रियात्मक गोष्ठिमा बोल्दै पौडेलले सहकारी क्षेत्रका उपलव्धि, अवसर र सम्भावनाहरुलाई संरक्षण गर्न, सहकारी क्षेत्रमा देखिएका गलत काम विकृतिहरुलाई न्युनीकरण गर्ने र गुणात्मक सहकारीहरुको विकासमा वीरगञ्जका सहकारीकर्मीहरु गम्भिर हुनुपर्ने बताए । ‘अहिले पनि सहकारीहरुले चर्को सेवाशुल्क र फ्ल्याटमा व्याज लिने प्रवृत्ति देखिएको छ ।’ उनले भने– ‘संस्थाको आवश्यकता, स्प्रेडदर र प्रतिस्पर्धी व्याजदरको आधारमा काम गर्नु पर्छ ।’

कार्यक्रममा बचत तथा ऋण सहकारी संघका अध्यक्ष राजेश पण्डितको अध्यक्षतामा सम्पन्न कार्यक्रममा डिभिजन सहकारी कार्यालयका प्रमुख अरुण बस्नेत, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बञ्जारा, राष्ट्रिय सहकारी बैंक सिमराका प्रमुख युवराज त्रिपाठी, सहकारीकर्मीहरु दिपकराज भण्डारी, राजेन्द्र जायसवाल, गोविन्द श्रेष्ठ, वीरेन्द्रराज कंडेल, सुरेश कुशवाहालगायतले आफ्नो धारणा राखेका थिए । गोष्ठिले ११ वुंदे प्रतिवद्धता जारी गर्दै सुशासन र सिद्धान्तमुताविक सहकारी संघ संस्था सञ्चालन गर्ने घोषणा गरेका छन् ।

पर्सेली बचत तथा ऋण सहकारी संस्थाहरुद्वारा जारी ११ वुंदे प्रतिवद्धता

बचत तथा ऋण सहकारी संघ लिमिटेड पर्सा वीरगञ्जद्वारा मिति २०७० चैत्र १५ गते सहकारी क्षेत्रका समस्या र समाधानका उपायहरु विषयक एक दिने गोष्ठिबाट पारीत ११ वुंदे प्रतिवद्धताः

१. जिल्लाका सबै बचत तथा ऋण सहकारीले सहकारी सिद्धान्त र मूल्यमान्यतामुताविक सञ्चालन गर्ने, आर्थिक हिसाव किताव व्यवस्थित राख्ने, आर्थिक वर्ष समाप्त हुने बित्तिकै लेखापरीक्षण गरी समयमा नै सबै सदस्यहरुलाई सहभागी गराई वार्षिक साधारणसभा आयोजना गर्ने,

२. सहकारी संस्थाहरुलाई समुदायमा आधारित र सदस्यकेन्द्रीय सामाजिक व्यवसायको रुपमा सञ्चालन गर्ने,

३. बचत तथा ऋण सहकारी संस्थाहरुले आफना सञ्चालक समिति, कर्मचारी र सदस्यहरुलाई आवश्यकता र प्राथमिकताको आधारमा विभिन्न प्रकारका शिक्षा तथा तालीमका कार्यक्रमहरु सञ्चालन गर्ने । आवश्यक तालीम कार्यक्रमको संयोजनको जिम्मेवारी बचत तथा ऋण सहकारी संघले गर्ने,

४. संस्थाको मासिक तथा वार्षिक प्रतिवेदन नियमित रुपमा डिभिजन सहकारी कार्यालय र बचत तथा ऋण सहकारी संघमा बुझाउने व्यवस्था मिलाउने,

५. संस्थाको कार्यालय सञ्चालन, आर्थिक हिसाव किताव र सबै गतिविधिहरु पारदर्शी र मितव्ययी हुने व्यवस्था मिलाउने,

६. सहकारीको पल्र्स सिद्धान्त अनुरुप समय समयमा मूल्यांकन गर्ने र आवश्यक सुधारका लागि प्रभावकारी उपायहरु अवलम्वन गर्ने । आवश्यक नीति, नियम, कार्यविधि तय गरी लागु गर्ने ।

७. संस्थाले आफनो कारोवार सदस्यहरुवीच र कार्यक्षेत्रभित्र रहेर गर्ने व्यवस्था मिलाउने, कर्जा लगानी गर्दा सुरक्षित र उत्पादनमूलक परियोजनामा लगानी गर्ने र पुनर्भुक्तानी व्यवस्थालाई कडाईका साथ लागु गर्ने,

८. संस्थाले काम गर्दा ग्रामिण तथा सीमान्तीकृत समुदायलाई प्राथमिकता दिने, गरीवी र बेरोजगारी न्युनीकरण गर्नेतर्फ ध्यान दिने,

९. एकै कार्यक्षेत्रका संस्थाहरुले समन्वय गरी सदस्यता र कारोवार दोहोरापना नहुने गरी प्रभावकारी समन्वयको व्यवस्था मिलाउने,

१०. सहकारी अभियानका विभिन्न कार्यक्रम, केन्द्र तथा जिल्ला तहका कार्यक्रमहरु र संघ एवम् सञ्जालमा सहभागिता र भूमिकालाई प्रभावकारी बनाउन ध्यान दिने,

११. संस्थाले कार्यक्षेत्रभित्र सामाजिक उत्तरदायित्व बहन गर्ने र सामाजिक न्यायको क्षेत्रमा आफनो भूमिकालाई प्रभावकारी बनाउन ध्यान दिने ।

अभिलेख

लोकप्रिय