७ वैशाख २०८३, सोमबार

सहकारीद्वारा व्यावसायिक बङ्गुरपालन

२०७० फागुन २२, बिहिबार
सहकारीद्वारा व्यावसायिक बङ्गुरपालन

म्याग्दी, २२ फागुन । म्याग्दीको बिम–१ मा रहेको बिम बहुउद्देश्यीय सहकारी संस्थाले व्यावसायिक बङ्गुरपालन सुरु गर्ने तयारी गरेको छ ।
जिल्ला पशु सेवा कार्यालयको अनुदान सहयोगमा सहकारी खेती बङ्गुरपालन कार्यक्रममार्फत सो सहकारीले व्यावसायिक बङ्गुरपालन गर्न लागेको हो ।
पशु सेवा कार्यालयको करिब रु साढे आठ लाख अनुदान सहयोगमा सहकारीले व्यावसायिक बङ्गुरपालन सुरु गर्न लागेको कार्यालय प्रमुख वरिष्ठ पशु चिकित्सक दयाराम चापागार्इंले जानकारी दिनुभयो ।
अहिले जग्गा छनोट गरी बङ्गुरपालनका लागि बिम–४ मा करिब १०० क्षमताको पक्की खोर निर्माणका कामलाई तीव्र बनाएको सहकारीका सदस्य बेगप्रसाद गर्बुजाले जानकारी दिनुभयो ।
उहाँका अनुसार वार्षिक रु पाँच हजारमा जग्गा भाडामा लिएर सहकारीले खोर निर्माण गर्न लागेको हो । खोर निर्माणसँगै सहकारीले बङ्गुर खरिदका लागि विभिन्न ठाउँमा रहेका फार्ममा सम्पर्क गरिरहेको सदस्य गर्बुजाले बताउनुभयो ।
बङ्गुर खरिदमा दुई लाख, खोर निर्माणमा तीन लाख, दाना खरिदमा दुई लाख, बीमा कोष रु १५ हजार, सहकारी सञ्चालनमा रु ५० हजार, फार्ममा विद्युत् जडान रु १५ हजार, खानेपानी व्यवस्थापन रु ६५ हजार गरी आठ लाख ४५ हजार अनुदान रकम उपलब्ध गराउने जिल्ला पशु सेवा कार्यालयले जनाएको छ । सहकारीले यस अगाडि बाख्रापालन, सुन्तलाखेती, तरकारीखेती गर्दै आएको छ ।
कार्यालयले अहिलेसम्म सहकारीलाई रु चार लाख ३० हजार अनुदान रकम उपलब्ध गराइसकेको छ भने स्थलगत तालिम, अभिमुखीकरण गोष्ठी र आधारभूत अभिलेख राख्नेलगायतका तालिम सञ्चालन गरिसकेको वरिष्ठ पशु चिकित्सक चापागार्इंले जानकारी दिनुभयो ।
पशु सेवा कार्यालयको अनुदान सहयोगमा सुरु गर्न लागिएको बङ्गुरपालनमा पहिलो चरणमा ५० वटा बङ्गुर खरिद गरी ल्याउने तयारी भइरहेको सहकारीले जनाएको छ ।

अभिलेख

लोकप्रिय