७ वैशाख २०८३, सोमबार

बारामा जिल्ला सहकारी समन्वय सञ्जाल गठन,सहकारी नियमन, सुशासन र एकीकरणमा जोड

२०७० फागुन १६, शुक्रबार
बारामा जिल्ला सहकारी समन्वय सञ्जाल गठन,सहकारी नियमन, सुशासन र एकीकरणमा जोड

सिमरा, १६ फागुन । बारा जिल्लाका अगुवा सहकारीकर्मीहरुको भेलाले जिलाको सहकारी अभियानलाई नियमन र सुशासन सहजीकरणका लागि जिल्ला सहकारी समन्वय सञ्जाल गठन गरेको छ । आज सिमरास्थित हातेमालो सहकारीको नवनिर्माणाधीन कार्यालय भवनमा सम्पन्न अगुवा सहकारीकर्मीहरु, डिभिजन सहकारी कार्यालय प्रमुखसहितको भेलाले जिल्लामा झण्डै दुई दशकदेखि जिल्ला सहकारी संघ निष्क्रिय रहेको कारण जिल्लामा सहकारी अभियानको संयोजन र समन्वयलगायतको कामलाई अघि बढाउन उक्त सञ्जाल गठन गरेको हो ।

भेलाले नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) का सञ्चालक कृष्ण पौडेलको अध्यक्षतामा सात सदस्यीय जिल्ला सहकारी समन्वय सञ्जालमा बारा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष भोला गौतम, साना किसान कृषि सहकारी संघका अध्यक्ष शिव अधिकारी, जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष नारायण बर्तौला, जिल्ला मत्स्य सहकारी संघका अध्यक्ष ओमप्रकाश ठाकुर र सदस्य सचिव डिभिजन सहकारी कार्यालयका प्रमुख महेन्द्र राउत छन् ।

भेलाले जिल्ला सहकारी संघको आर्थिक हिसाव किताव पारदर्शी गर्न र सहकारी सिद्धान्त तथा मूल्यमान्यतामुताविक सञ्चालन र वार्षिक साधारणसभा आयोजना गर्नका लागि लामो समयदेखि गरिएको आग्रहलाई बेवास्ता गर्ने कार्य भई रहेकोप्रति चिन्ता व्यक्त गर्दै तत्काल निष्क्रिय घोषणा गरी आर्थिक हिसाव किताव छानविन गर्न सरकारसंग मांगसमेत गरेको छ ।

सहकारीहरुको बढदो संख्यासंगै अस्वस्थ प्रतिस्पर्धा, जोखिम र परस्परमा समन्वयको अभाव बढदै गएको अवस्थालाई मध्यनजर गर्दै स्थानीय तहमा सहकारीहरुवीच समन्वय र एकीकरण छलफललाई अघि बढाउन पहलकदमी लिने भेलाले निर्णय गरेको छ । स्थानीय आवश्यकता र अभियानसंग आवश्यक सम्वन्ध र समन्वयका लागि नयां सहकारी दर्ता गर्नुपूर्व सम्वन्धित विषयगत जिल्ला संघको सिफारिश लिनुपर्ने व्यवस्था मिलाउने र संघहरुले आफना सदस्य संस्थाहरुमा सुशासन, पारदर्शिता, तरलता व्यवस्थापन र आर्थिक अनुशासन कायम गर्न ध्यान दिन जोड दिइएको छ ।

सबै सहकारी संस्थाहरुलाई उत्पादनमूलक परियोजना र विशेषतः कृषि तथा पशुपालन क्षेत्रहरुमा लगानी बढाउन र आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरणमा जिम्मेवार बन्न भेलाले आग्रह गरेको छ । आगामी चैत्र ११ देखि १३ गतेसम्म काठमाण्डौंमा आयोजना भई रहेको प्रथम राष्ट्रिय सहकारी महासम्मेलनलाई सफल बनाउन आवश्यक सहयोग पुर्याउनेसमेत भेलाले निर्णय गरेको छ । साथै आगामी चैत्र २० गते राष्ट्रिय सहकारी दिवसको अवसरमा कलैयामा भव्य र्यालीसहित सहकारी सभा आयोजना गर्ने निर्णय गरेको छ ।

डिभिजन प्रमुख महेन्द्र राउतको अध्यक्षतामा सम्पन्न वैठकमा नेफ्स्कूनका सञ्चालक कृष्ण पौडेल, विषयगत संघका अध्यक्षहरु, बचत संघका सचिव सत्तेन्द्र ठाकुर, कृषि संघका सचिव पुनदेव रौनियार, दुग्ध सहकारी संघका लेखा संयोजक मेघनाथ सुवेदीलगायतको उपस्थिति रहेको थियो ।

अभिलेख

लोकप्रिय