१३ भदौ २०८३, शनिवार

राष्ट्रिय सहकारी संघमा अनियमितता

२०७० फागुन ६, मङ्गलबार
राष्ट्रिय सहकारी संघमा अनियमितता

काठमाडौ, ६ फागुन । देशभरका सहकारीहरुको केन्द्रीय छाता संगठन राष्ट्रिय सहकारी संघमा लाखौं रुपैयाँ अनियमितता भएको पाइएको छ । संघको संचालक समितिमा रहेर काम गर्दा विभिन्न व्यक्तिले लाखौं रुपैयाँ लिएर तिर्न अटेर गरेका छन् । संघका २१ औं वार्षिक प्रतिवेदनमा पूर्वदेखि वर्तमान संचालकहरुले पेश्की नतिरेको उल्लेख गरीएको छ ।

राजनीतिक प्रभाव देखाएर संघको नेतृवमा पुगेका संचालकहरुले सहकारीको प्रवद्र्धनमा ध्यान दिन छोडेर आफ्नो व्यक्तिगत स्वार्थमा लागेका छन् । संघबाट विभिन्न काम लिनुका साथै काम गर्छु भनेर पेश्की लिए तिर्न अटेर गर्दै आएका छन् । संघको वर्तमान नेतृत्वले पेश्की उठाउन लागेको छैन ।

संघबाट पेश्की लिएर नतिर्नेमा अग्रपङ्तीमा पूर्व संचालक कुलचन्द्र अधिकारी रहेका छन् । उनले राष्ट्रिय सहकारी संघले ठेक्का लिएको पुलीस क्लव पुन आफुले ठेक्का लिएर संचालन गरेका थिए । उक्त व्यवसायबाट करोडौं रुपैयाँ कमाएका अधिकारीले संघलाई साढे ५ लाख रुपैयाँ तिर्न बाकी रहेको छ । दिपक बाष्कोटा अध्यक्ष हुदा संचालक रहेका अधिकारीले पैसा नतिरेछि तत्कालिन साधारणसभाले उनलाई संचालकबाट निलब्बन गर्ने र बैठकमा भाग लिन नपाउने प्रस्ताव पारित गरेको थियो । त्यसपछि संघको बैठकमा जान छाडे्का उनले संघलाई तिर्नुपर्ने दायित्व भने चुक्ता गरेनन् । एमालेमा बलियो राजनीतिक प्रभाव भएकाले उनलाई संघले कारवाही प्रक्रिया अघि बढाउन नसकेको संघ निकट स्रोतले जानकारी दियो । राष्ट्रिय संघको कालोसुचिमा परेका उनी राजनीतिक प्रभाव देखाउँदै सहकारी बैंकको लेखा समिति संयोजक रहेका छन् । हालै भएको बैंकको चुनावबाट उनी पुनः लेखा संयोजक पदमा निर्वाचित भए ।

यसैगरी उपभोक्ता सहकारी केन्द्रीय संघका पूर्व अध्यक्ष खड्ग बहादुर श्रेष्ठले पनि संघलाई करिब चार लाख रुपैयाँ तिर्न बाँकी रहेको छ । बैंदेशिक रोजगार व्यवसायी समेत रहेका श्रेष्ठले उपभोक्ता समन्धी काम गर्न भनि लिएको रकम तिरेका छैनन् । उपभोक्ता संघका एक संचालकका अनुसार उनले विभिन्न ठाउँबाट उधारोमा सामान लिएर समेत नतिरको पाइएको छ ।

सघंको पूर्व उपाध्यक्ष राजकृष्ण अमात्यले पनि संघलाई करिब ३ लाख रुपैयाँ तिर्न बाँकी रहेको राष्ट्रिय सहकारी संघको वार्षिक प्रगति प्रतिवेदनमा उल्लेख गरिएको छ ।

नेकपा माओवादीको कोटामा संचालक बनेका रविन्द्र केसीले पनि संघबाट १८ हजार रुपैयाँ पेश्की लिएर तिरेका छैनन् । विदेश भ्रमणका लागि भन्दै पेश्की लिएका उनले मन्त्रालयबाट पैसा आएपछि मिलाउछु भन्दै आलटाल गरेको समाचार स्रोतले जानकारी दियो ।

वर्तमानसँगको कुराकानीमा भने केसीले आफुले रकम तिरिसकेको र टेक्नीकल्ली गल्तीका कारण प्रतिवेदनमा आफ्नो नाम आएको बताए । ‘म लण्डन जाँदा संघले होटल बुकिङ गर्दाको रकम पेश्की देखिएको हो, मैले तिरिसकेको छ’ उनले भने, ‘प्राविधिक त्रुटीका कारण नाम आएको हो, साधारणसभामै मैले स्पष्ट पारीसकेको छु ।’

जिल्ला बचत संघ धनुषाका अध्यक्ष र नेपाल सहकारी पाटीका महासचिव समेत रहेका धुव्र नारायण यादवले पनि राष्ट्रि संघबाट १८ हजार रुपैयाँ लिएर नतिरेको प्रतिवेदनमा उल्लेख छ ।

यसैगरी केदार मानन्धर अध्यक्ष रहेको सितापाईला बहुउद्देश्यीय सहकारीले पनि राष्ट्रिय सहकारी संघको ६० हजार ५ सय रुपैयाँ तिर्न बाकी रहेको छ । सितापाईलाई उपत्यकाकै उत्कृष्ट सहकारी मानिन्छ ।

राष्ट्रिय सहकारी संघका एक संचालक भन्छन्, राजनीतिक आडमा अटेर गर्ने प्रवृत्तीका कारण संघको पैसा नउठेको बताउँछन् । ‘सबै पैसा तिर्न सक्ने उच्च हैसियतका छन्’ उनले भने, ‘संघको नेतृत्व सशक्त नहुँदा पैसा उठाउन नसकिएको हो ।’

छानविनकर्ताकै पेश्की ¤

संघको अघिल्लो साधारणसभाले पेश्की छानविन गरी उठाउन भन्दै वर्तमान संचालक रविन्द्र केसीलाई जिम्मेवारी दिएको थियो । उनले पेश्की उठाउन त सकेनन् नै आफैले पनि संघबाट रकम लिएर तिरेका छैनन् । उनले पेश्की उठाउन खासै पहल नगरेको संघका एक संचालकले टिप्पणी गरे ।

संघका प्रत्येक साधारणसभामा पेश्कीबारे सदस्यले कुरा उठाएपनि संघले त्यसलाई फस्यौट गर्नेबारे कुनै पहल गरेको छैन । हालै सम्पन्न २१ औं साधारणसभामा पनि सदस्यहरुले संघको रकम खानेलाई तुरुन्तै कारवाही अगाडी बढाउनुपर्ने माँग गरेका थिए । संघका अध्यक्ष केशव प्रसाद बडालले छिटो भन्दा छिटो पेश्की फस्यौट गर्नका लागि प्रतिवद्धता व्यक्त गरेपनि हालसम्म कुनै कदम चालेका छन् ।

संघहरुमा राजनीतिकरणसँगै स्रोत साधानको दुरुपयोग हुने क्रम बढेको एक सहकारीकर्मीले बताए । सहकारीको नाममा विभिन्न ठाउबाट सहुलियत लिने र त्यसलाई आफ्नो व्यक्तिगत स्वार्थमा प्रयोग गर्ने प्रवृत्ती बढ्दै गएको उनले टिप्पणी गरे ।

पेश्की नतिर्नेलाई कारवाही गर्नुपर्छ

रविन्द्र केसी पेश्की छानविन समिति

राष्ट्रिय संघको पेश्की छानविन गर्दा के पाउनुभयो ?

संघको पेश्की तथा कर्जा दुई–तिन खालको छ । एक संघले जग्गाको काम गर्दा र विभिन्न समानहरुको ठेक्का पट्टा गर्दा नउठेको रकम हो भने अर्को संघहरुका संचालकले काम गर्न लगेको पैसा र जिल्ला संघहरुले लगेको रकम फस्यौट नभएको देखिन्छ । मैले छानविन समितिको जिम्मेवारी पाउदा केही रकम उठाउन पहल गरे भने केहीले तिर्न अटेर गरे ।

के के पहल गर्नु भयो ?

पेश्की फस्यिोट नगर्नेलाई मौखिक अनुरोध गरे । संघ मार्फत ताकेता गरे । चिठ्ठी काटेर पनि पठाइयो तर धेरैले वेवास्ता गरे ।

कति पेश्की उठाउनुभयो ?

मैले तिन लाख रुपैयाँभन्दा बढी उठाए ।

बा“की पेश्की उठाउन के गर्नपर्छ ?

धेरै व्यक्तिहरु आर्थिक र सामाजिक हैसियत राम्रो भएर पनि नतिरेका हुन् । केहीको तिर्न नसक्ने स्थिती पनि छ । त्यसैले यसबारे संघले छानविन गरेर नसक्नेलाई मिनाहा गर्नुपर्छ भने बाकी रहेकाले कडा भन्दा कडा कारवाही अगाडी बढाउनुपर्छ ।

कसले कति तिर्न बाँकी

कलचन्द्र अधिकारी ५४९७३०

खड्ग बहादुर श्रेष्ठ ३९८०८१

राजकृष्ण अमात्य २९०६००

भाइचा मर्हजन २३००००

बाबुराजा डंगोल १६०२५०

धर्म रत्न शाक्य १५५०००

रामकृष्ण महर्जन १३०००

राजेन्द्र घिमिरे ९०४२०

जिल्ला सहकारी संघ, नुवाकोट ७३८६२

सितापाईला बहुउद्देश्यीय सहकारी ६०५७३

एनसिएफ इम्प्लाइमेन्ट ५६७५०

गणेश सापकोटा ४२७५०

बाबुकाजी मर्हजन २५०००

जिल्ला सहकारी संघ, काठमाडौं २२९५०

रविन्द्र केसी १८०००

धुव्र नारायण यादव १८०००

वातावरण बहुउद्देश्यीय सहकारी, ललितपुर १४९५०

सहदेव घिमिरे १००००

जिल्ला सहकारी संघ, गुल्मी ८१९१

सहकारी सन्देश ७८९५

कुल २३६३००२

 साभार- वर्तमान सहकारी मासिकबाट

अभिलेख

लोकप्रिय