१ फागुन २०८१, बिहिबार

यसरी लुटिदैंछ जनताको पैसा सहकारीमार्फत ?

२०७० फागुन ४, आईतवार
यसरी लुटिदैंछ जनताको पैसा सहकारीमार्फत ?

काजी श्रेष्ठ

काठमाडौं, ४ फागुन । सहकारी संस्थाका संचालकहरुले आफ्नो भत्ता आफूखुसी तोकेर सर्वसाधरणको निक्षेपमा मोज मस्ति गरीरहेको तथ्य सार्वजनिक भएको छ । सहकारीमा सर्वसाधरणले जम्मा गरेको निक्षेपको के कति मात्रामा खर्च गर्न पाउने भन्ने कुनै पनि निर्देशिका जारी नहुँदा यस्ता निक्षेपमा मनोमानी गर्ने संचालकहरुको संख्या बढ्दो छ । त्यसो त आफ्नो तलब पनि आफ्नै खुसीले निर्धारण गरी जनताको निक्षेपमाथि खेलवाड गरिएको हो ।

यस्तै घटना सिन्सियर वचत तथा ऋण सहकारी संस्था लि रामशाहपथ, काठमाडौंमा देखिएको छ । डिभिजन सहकारी कार्यालयको रेकर्ड अनुसार ०५७/५/१२ मा दर्ता भएको उक्त सहकारी संस्थाको कार्यक्षेत्र काठमाडौं र ललितपुर उल्लेख छ । यहाँका संचालकहरुले वैठक भत्तामात्र प्रतिवैठक ७ हजार लिने गरेको भेटिएको छ । अध्यक्षको प्रतिवैठक भत्ता ७ हजार ५ रहेको छ । संस्थाका अध्यक्ष राजेन्द्रभक्त श्रेष्ठ तथा कार्यकारी संचालक राजेन्द्र श्रेष्ठ रहेका छन् ।

संस्थाको अध्यक्ष र सदस्यले साधारणसभाबाट अनुमोदन नगराई विभिन्न आर्थिक सुविधा लिइरहेका भेटिएको छ । अध्यक्ष राजेन्द्रभक्त श्रेष्ठले मासिक पेट्रोल खर्च २ सय लिटर, संस्थाको बा.८ च ५३५२ को कार प्रयोग गरिरहेको, मसलन्द, पत्रपत्रिकावापत १० हजार, मोबाइल बिल १ हजार ५ सय लिइरहेको पाइएको छ । कर्जा समिति संयोजकले प्रतिबैठक भत्ता ३ हजार ९ सय र सदस्य ३ हजार २ सय लिने गरेको पनि पाइएको छ ।

त्यस्तै कार्यकारी संचालक राजेश खड्काले मासिक तलव १ लाख ३५ हजार लिइरहेको पाइएको छ । मिति ०६९/५/२० को निर्णय गराइ तलब लिइरहेको बुझिएको छ । त्यस्तै संस्थाका सवै संचालकलाई मासिक पत्र पत्रिका मसलन्द बापत १३ हजार, व्यापार प्रमोशन खर्च ३ हजार रहेको छ ।

बचत तथा ऋण कारोबार गर्ने समस्याग्रस्त सहकारी संस्थाको छानबिन गरी जाँचबुझ आयोगले उक्त सहकारीको छानबिन गर्दा यस्तो भेटिएको हो । ‘एउटा सामान्य सहकारीको कार्यकारी संचालकले महिनाको १ लाख ३५ हजार तलव खाने गरेको र अरु सुविधा लिएको पाइयो ।’ आयोगकका अध्यक्ष गौरीबहादुर कार्कीले भने– ‘सहकारीका कार्यकारी संचालकको प्रधानमन्त्रीको भन्दा बढी सुविधा रहेछ ।’ संस्थाको कुल प्राथमिक पूँजी कोष ४ करोड ४९ लाख ३० हजार २ सय ८६ को १० गुणाले हुन आउने ४४ करोड ९३ लाख २ हजार ८ सय ६० भन्दा बढी निक्षेप संकलन गर्न नपाउने मापदण्ड भएकोमा ५० करोड १२ लाख ८६ हजार १ सय ५५ सम्म निक्षेप संकलन गरेको । संस्थामा शेयर सदस्य ५ सय १९ रहेको छ भने वचत तथा ऋणको कारोबार २ हजार ३ सय ६९ जनासँग रहेको पाइएको उनले जानकारी दिए ।

अभिलेख

लोकप्रिय