८ असोज २०८३, बिहिबार

गाउँकै सहकारीले दिन थाले विप्रेषणसेवा

२०७० माघ ८, बुधबार
गाउँकै सहकारीले दिन थाले विप्रेषणसेवा

तानसेन, ८ माघ । विप्रेषण (रेमिट्यान्स) सेवा गाउँकै सहकारीले दिन थालेपछि तानसेनका युवामा खुसी छाएको छ । विदेशबाट पठाएको रकम गाउँको सहकारीमार्फत पाएपछि पूर्वी पाल्पाका युवा खुसी भएका हुन् । कतारबाट तीर्थराज पोखरेलले पाल्पा गाडाकोट गाविस भलायटारमा रहेकी आफ्नी आमा दुर्गादेवी पोखरेललाई पठाएको  २५ हजार रुपैयाँ गाउँकै सहकारीमार्फत पाए । छोराले पठाएको रकम गाउँमै पाएपछि उहाँ खुसी छन् ।
पहिला तानसेन, रामपुर पैसा लिन जानुपर्ने थियो अहिले यस्तो समस्या हटेको उनले बताइन् । पाल्पाको गाँडाकोटस्थित ग्रामीण विकास बचत तथा ऋण सहकारी संस्थाले यो सेवा गाउँमै दिएको हो । विदेशबाट पठाएको रकम लिन टाढा जानुपर्ने भएकाले सहकारीले प्रभु मनी ट्रान्सफरसँगको सम्झौतामा यो सेवा गाउँमा दिएको हो । करिब एक महिनाअघि सम्झौता भएपछि सहकारीले २० लाखको विप्रेषणको कारोबार गरेको सहकारीले जनाएको छ ।
सहकारीका अध्यक्ष नारायणप्रसाद सिग्देलले पाल्पाका गाँडाकोट, वाकामलाङ, सहलकोट, तनहु, स्याङ्जालगायतका जिल्लाका बासिन्दाले विप्रेषणको सुविधा लिन आउने गरेको बताए ।  यो सेवा सुरु गरेपछि मलेसिया, दुबई, कतार, भारत, कुबेत र नेपालका विभिन्न जिल्लाबाट रकम भित्रिने गरेको सहकारीका संयोजक टीकाराम सिग्देल बताए । वि.सं. २०५५ मा स्थापना भएको सहकारीले अहिले एक करोड रुपैयाँभन्दा बढीको आर्थिक कारोबार गर्दै आएको छ ।

अभिलेख

लोकप्रिय