सहकारी,बैंक तथा वित्तीय संस्था गरिबको जीवनस्तर उकास्नेतिर केन्द्रित हुनुपर्नेमा राष्ट्रपतिको जोड
काठमाडौँ, ६ मङ्सिर । राष्ट्रपति डा रामवरण यादवले सहकारी, बैंक तथा वित्तीय संस्था निरपेक्ष गरिबीको रेखामुनि रहेका जनताको जीवनस्तर उकास्नेतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिनुभएको छ । उनन्चासौँ सिसन गभर्नर सम्मेलन तथा उच्चस्तरीय कार्यशालाको आज उद्घाटन गर्दै उहाँले गरिबी घटाउने दिशामा बैंक तथा वित्तीय संस्था लाग्नुपर्ने बताउनुभयो ।
दिगो एवम् समावेशी आर्थिक वृद्धि अहिलेको आवश्यकता भएको बताउँदै राष्ट्रपतिले मुनाफा चाहने निजी क्षेत्रले पनि समाजप्रतिको आफ्नो दायित्व सम्झेर आर्थिक गतिविधि गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । वित्तीय सेवामा तल्लो तहका जनताको पहुँच विस्तार गर्नुपर्नेमा जोड दिँदै उहाँले त्यसनिम्ति राष्ट्रिय एवम् क्षेत्रीयस्तरमा सहकार्यको खाँचो औँल्याउनुभयो ।
समृद्ध, शान्त, स्थिर एवम् आर्थिक रुपमा सवल नेपाल निर्माणको अभियानमा मुलुक लागेको भन्दै उहाँले वित्तीय क्षेत्रका जोखिम एवम् चुनौतीको सामना गर्दै अघि बढ्न जरुरी भएको बताउनुभयो । अर्थमन्त्री शङ्करप्रसाद कोइरालाले नेपालको वर्तमान आर्थिक स्थितिबारे जानकारी दिँदै मूल्यवृद्धि नियन्त्रण सरकारका निम्ति चुनौतीका रुपमा रहेको बताउनुभयो । विप्रेषण आप्रवाह, वैदेशिक मुद्रा सञ्चिति, चालु खातामा विद्यमान बचतले नेपालको अर्थतन्त्रलाई गतिशील बनाउन मद्दत गरेको बताउँदै उहाँले वित्तीय क्षेत्र सुधारलगायत नीतिगत व्यवस्थालाई कार्यान्वयन गर्न सरकार क्रियाशील छ भन्नुभयो ।
ग्रामीण क्षेत्रमा बैंक तथा वित्तीय सेवा विस्तार गर्न सरकार लागिपरेको जानकारी दिँदै अर्थमत्रीले आर्थिक स्थायित्वका लागि सिसन समूहका बैंक तथा वित्तीय संस्थाबीच सहकार्य हुनुपर्नेमा जोड दिनुभयो । “दिगो आर्थिक विकास प्राप्तिका लागि सामूहिक प्रयास हुनुपर्छ ।”, उहाँले भन्नुभयो । अन्तर्राष्ट्रिय मुद्राकोषका नायब प्रबन्ध निर्देशक नायुकी सिनोहाराले विकासशील मुलुकहरूको अर्थतन्त्र सुदृढ तुल्याउन तथा विकासका परियोजनामा लगानी बढाउन कोष सकारात्मक रहेको बताउनुभयो ।
उद्घाटन समारोहका सभापति एवम् मङ्गोलियाको केन्द्रीय बैंकका गभर्नर नैदानसुरेन जोलजार्गलले वित्तीय जोखिम घटाउने, लगानी वृद्धि, वित्तीय साक्षरता विस्तार गर्दै दिगो आर्थिक विकास हासिल गर्नेतर्फ केन्द्रीय बैंकहरू लाग्नुपर्ने धारणा व्यक्त गर्नुभयो । नेपाल राष्ट्र बैंकका गभर्नर डा युवराज खतिवडाले वित्तीय क्षेत्रको विस्तारसँगै वित्तीय जोखिम बढेको, अनौपचारिक वित्तीय कारोबारले वित्त बजारमा समस्या थपेको बताउँदै उहाँले वित्तीय स्थायित्व कायम राख्न तथा आर्थिक विकासलाई द्रुत गतिमा अघि बढाउन बैंकले हरसम्भव प्रयास गरिरहेको जानकारी दिनुभयो । सम्मेलन आयोजक समितिका संयोजक एवम् डेपुटी गभर्नर गोपालप्रसाद काफ्लेले २६ वर्षपछि दोस्रो पटक नेपालमा उक्त सम्मेलन आयोजना हुनु नेपालका निम्ति गौरवको विषय भएको चर्चा गर्दै वित्तीय नीति तर्जुमा तथा क्षेत्रीय सहयोग प्रवद्र्धन गर्न सम्मेलन फलदायी हुने विश्वास व्यक्त गर्नुभयो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
काभ्रेमा सहकारीका लागि ऋण लगानी र असुली व्यवस्थापन तालिम, ८३ जनाको सहभागिता
१६ माघ २०८२, बिहीबार
६ बुँदे संकल्पसहित दोस्रो राष्ट्रिय सहकारी युवा तथा प्रविधि सम्मेलन सम्पन्न
१५ माघ २०८२, बुधबार
सहकारी पत्रकार समाजमा अर्जुन खतिवडाको अध्यक्षतामा नयाँ कार्यसमिति
१३ माघ २०८२, सोमबार