१२ आश्विन २०८०, शुक्रबार

बैंकको व्यवहार, सहकारीलाई कहर

१६ भाद्र २०७७, मंगलवार
बैंकको व्यवहार, सहकारीलाई कहर

माधव प्रसाद पौडेल

विश्व यतिबेला कोरोना माहामारीसँग लडिरहेको छ । राज्य तथा जनताको तर्फबाट यस विरुद्ध सम्भव भएसम्म सबै विकल्पहरुको प्रयोग भैरहेको छ । भनिँदैछ कही कतै कोरोना भाईरसको दोस्रो चरण पनि हुर भयो भनेर । जे होस् यसबाट समग्र मानवजाती माथि नै चुनौती खडा भएको छ, अस्थित्व कायम राख्नको लागि ।
यस प्रकारको महामारीको शुरुवात गत आर्थिक वर्ष २०७६/०७७ को पछिल्लो चौमासबाट भयो, जुन समय आर्थिक वर्षको अन्तमा पर्छ र समग्र वर्षको प्रभावलाई सकारात्मक बनाउनका लागि यस अवधिमा बैंक, वित्तीय संस्था, सहकारी, तथा निजि क्षेत्रसँग सम्बन्धित व्यक्ति तथा फर्महरु तल्लीन हुन्छन र अवस्थालाई सकारात्मक बनाउने प्रयत्न हुन्छ । तर यसै अवधिमा महामारीको शुरुवात र अर्को आर्थिक वर्ष २०७७/०७८ को शुरुवातसँगै महामारीको उत्कर्ष–समग्र क्षेत्रकालागि अनुकुल देखिँदैन ।

यतिबेला बैंक, वित्तीय तथा सहकारीको क्षेत्रमा उच्च तरलता रहेको देखिन्छ । फलस्वरुप बैंकहरुले आधार मुल्य नयाँ कायम गरि ऋण लगानीको लागि व्याजदर घटाएको छन् र लगानीको क्षेत्र र माग बढ्छ भन्ने अपेक्षा गरिएको थियो तर त्यसो हुन सकेको छैन । उच्च तरलताको अवस्था आएपछि बैंक तथा वित्तीय क्षेत्रका पुराना ऋणीहरु कम व्याजदर भएको बैंक तथा वित्तीय संस्थामा ऋण सार्न थालेको देखिन्छ । तर यो अवस्था भने दिगो रहन सक्ने देखिँदैन । यसले बैंकिङ क्षेत्रभित्र एक प्रकारको विगतमा नभएको विचित्र अवस्थाको सुजना गरेको छ । यो स्थिती आफैमा व्यवसायिक धर्म र नैतिकता भित्र पर्छ वा पर्दैन बहस र छलफलको विषय भएको छ । तर यस प्रकारको प्रवृत्ति सहकारी क्षेत्रमा भने देखिएको छैन र देखिँदैन पनि किनभने समुदायमा आधारित सदस्य केन्द्रित सुसानयुक्त सहकारी संस्थाको लागि नैतिक प्रश्न भित्रको विश्वास रहेको छ । उता बैंकहरुले उल्लखित प्रकारका पुराना ऋणीहरुलाई सस्तो व्याजदर देखाएर आफुतिर तान्ने प्रयास गरिरहेको देखिन्छ ।

यसभन्दा पहिला ऋण लिएका पुराना ऋणीहरुले आफुले लिएको ऋणको ऋण तिर्ने अन्तिम अवधि बाँकी रहदा रहदै अर्को बैंक तथा वित्तीय संस्थाले काम व्याजमा ऋण घटाएर ऋणी तान्न अस्वाभाविक आकर्षित गर्ने अस्वस्थ प्रतिस्पर्धा भएको र यसले बैकिङ क्षेत्रभित्र असहज अवस्था सृजना भएको स्वयं बैंकरहरुले गुनासो गरेका छन् । ऋणीहरुले कजौ अवधि पुरा नगरी बिचैमा अग्रीम भुक्तानी गरेर अर्को बैंकमा सार्ने अर्थात कर्जा स्वाप गर्ने प्रवृत्ति देखिएको छ । महामारीका कारण नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुका लागि सेवा शुल्कसँगै पहिलो पटक ऋण अग्रिम भुक्तानीको शुल्क तोकिदिएको छ । राष्ट्र बैंकले अग्रिम भुक्तानी तथा कर्जा स्वाप गर्दा वाणिज्य बैंकलाई ०.१५ प्रतिशत, विकास बैंकलाई ०.२ प्रतिशत र वित्त कम्पनीहरुलाई ०.३ प्रतिशत शुल्क तिर्न सक्ने व्यवस्था गरेको थियो । बैंक तथा वित्तीय संस्थाहरुले लिईरहेको कर्जा स्वाप शुल्क राष्ट्र बैंकले घटाईदिएकाले पुराना ऋणीहरुलाई अर्को बैंकमा जान सहज भएको देखिन्छ ।

हाल बैंक तथा वित्तीय संस्थाहरुले पहिला पहिला कर्जामा लिने सेवा शुल्क बराबर अहिले निक्षेपमा व्याज दिन थालेका छन् । कुनै कुनैको त निक्षेपमा व्याजदर १ प्रतिशतभन्दा पनि कम हुन आउँछ । यो सामाजिक न्याय र मुल्यको आधारमा उचित छैन । कम्तिमा पनि राज्यको मुद्रा स्फिृती दर बराबरको निक्षेपमा व्याज पाउनु पर्ने निक्षेप कर्ताको अधिकार हो । तर यसको यतिबेला बैंक तथा वित्तीय संस्थाले दिल्ली उडाएका छन् । मानौं निक्षेप भन्ने कुरा अब हामीलाई कहिलेही पनि चाँहिदैन जस्तो व्यवहार गरेको अनुभव हुन्छ ।

तर, सहकारी संस्थाले भने आफ्ना सदस्यहरु सँग नजिकको सम्बन्ध स्थापित गरी सामाजिक दायित्व निर्वाह गर्दै ‘एकका लागि सबै र सबैका लागि एक’ भन्ने मान्यतालाई आत्मसाथ गर्दै विशिष्टीकृत सेवा दिईरहेका छन् । चाहे त्यो वित्तीय क्षेत्र बचत तथा ऋण होस्, चाहे त्यो गैर वित्तीय क्षेत्र सामाजिक सुरक्षा होस् । बैंकहरुको अस्वस्थ प्रतिस्पर्धाले गर्दा सहकारी क्षेत्रमा प्रतिकुल प्रभाव पर्ने अवस्था सृजना भएको छ । यसका लागि नियामक निकायले न्यूनतम मापदण्ड तोकिदिनु पर्ने देखिन्छ ।

निक्षेपको व्याजदर बैंक तथा वित्तीय संस्थामा एउटै दरमा थोरै देखिन्छ तर ठुला बैंकहरुले योजनासहित ऋणको व्याजदर ह्वात्तै घटाएर अर्को बैंकको पुरानो ऋणी तान्न रातदिन लागि परेको देखिन्छ । सबै तिर अधिक तरलता हुनु, नयाँ ऋणीहरु नआउनु, पुँजि बढ्नु, बजार खुम्चिनु, उच्च प्रतिफल दिनु पर्ने सिमित बजारबाट यी अवस्था भने विद्यमान छन् ।

श्रावण मसान्तसम्म नयाँ कर्जाको माग नभएको र पुराना ऋणीबाट साँवा तथा व्याज अशुली भएपछि बैंकहरुको कर्जा प्रवाह स्थिती ऋणात्मक देखिएको छ । वाणिज्य बैंकहरुबाट गत असार मसान्तमा थप ८६ अर्ब रुपयाँको कर्जा प्रवाह भएपनि साउन मसान्तमा २५ अर्ब रुपयाँ कर्जा प्रवाह ऋणात्मक दिएको छ । बैंकबाट प्रवाहित कर्जामा संकुचन सँगै साउनमा निक्षेप संकलनमा समेत संकुचन देखिएको छ । असारमा वाणिज्य बैंकहरुले २ खर्ब ११ अर्ब रुपयाँ थप निक्षेप संकलन गरेर कुल ३४ खर्ब ८७ अर्ब रुपयाँ पुरयाएका थिए तर साउनमा ८ अर्ब रुपयाँले संकुचन आई कुल निक्षेप ३४ खर्ब ७९ अर्ब रुपयाँ रुपयाँ पुगेको छ । यसले के संकेत गर्छ भने बैंक तथा वित्तीय संस्थाहरुले निक्षेप कर्तामाथि गरेको व्यवहार न्यायोचित छैन भनेर ।

फलस्वरुप सहकारी क्षेत्रमा भने दिन प्रतिदिन निक्षेप बढ्दै गएको छ । र ऋणको मागमा पनि बृद्धि भएको देखिन्छ । सामाजिक सुरक्षा, व्यवहारिक, तुरुन्त प्रयाप्तता, प्रत्यक्ष संलग्नता, कठिन परिस्थीतिको सारथी, अपनत्व, बचत कर्तामाथि को न्याय, जस्ता कारणले गर्दा पनि स्थानिय व्यक्तिको आकर्षण सहकारीतर्फ बढ्दै गएको देखिन्छ । उच्च प्रविधिको प्रयोग बिस्तार र सहजताले गर्दा थप आकर्षण सृजना गरेको देखिन्छ । जुन सहकारी क्षेत्रको अवसर हो भने यसलाई परिमार्जित र परिस्कृत गर्दै थप जुजारुपन ल्याउनु चुनौति पनि रहेको छ ।

धन्यवाद ।

(लेखक विकू बचत तथा ऋण सहकारी सस्था लि., गैडाकोट, नवलपुरका प्रमुख कार्यकारी अधिकृत हुनुहुन्छ)

अभिलेख

लोकप्रिय