१६ जेष्ठ २०७७, शुक्रबार

सतर्क रहौं, त्रसित नहोऔं !

६ जेष्ठ २०७७, मंगलवार
सतर्क रहौं, त्रसित नहोऔं !

कल्पना श्रेष्ठ

विश्वभरी फैलिएको कोरोना भाईरस (कोभिड–१९) को प्रभावबाट हामी सबै प्रभावित भएका छौं । कतिखेर के होला भन्ने कसैले आंकलन गर्न सकिरहेको अवस्था छैन । एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्ने । संक्रमित व्यक्तिमा पनि संक्रमणको लक्षण तुरुन्तै नदेखिने । रोग प्रतिरोधात्मक क्षमता राम्रो भएकाहरुमा लक्षण देखिनु पूर्व नै कमजोर प्रतिरोधात्मक क्षमता भएकाहरुमा सरी सक्ने तर त्यसको बिषयमा अनभिज्ञ नै रहने जस्ताकारण यसको जोखिम अझै बढी रह्यो ।

नेपालमा पनि कोरोनाको कारण मृत्यु हुने क्रम शुरु भैसक्यो । त्यो पनि मातृ बत्सल्यता टुटाउने गरी भएको पिडादायक मृत्यु । कोरोना संक्रमण पछिको समय र मृत्युपछि पनि मान्छेलाई अति आवश्यक माया र समवेदना जो नजिक पुगेर दिनन पाईने पिडा सम्झंदा त अझै कोरोनाको निरर्दयी प्रकृतिदेखि अझ बढी पिडा बोध हुन्छ । सतर्क रहन यी पिडा दायक विषयहरुलाईं दिलदिमाग भित्र गहिरो गरी राख्नुपर्छ ।

सिक्काको दुई पाटो भए जस्तै यसको पनि दुबै पाटाहरु छन् । पिडा बोध र त्रासको विषयलाई मात्र हामीले मन भित्र लिई रह्यौं भने यसले अर्को नकारात्मक अवस्था सिर्जना गर्न सक्छ । मानसिक रुपमा भैरहने पिडाले हामीलाई शारिरिक रुपमा पनि गाल्न सक्छ । यसैले पीडाबाट उन्मुक्ति भनेको आफूलाई व्यस्त राख्नु हो । व्यस्त पनि कसरी हुने भन्ने लाग्न सक्छ । नियमित गतिविधि नै टुटेको समयमा व्यवस्त रहनु सजिलो विषय पक्कै होईन । तर मान्छे त्यस्तो प्राणी हो जो हरेक अवस्थामा आफूलाई व्यवस्थापन गर्न सक्छ । त्यसैले मानिसले चेतन मन पाएका छौं । एक अर्कामा सुख दुःख, सुनाउन भाष छ हाम्रो । अभिव्यक्ति कलाहरु प्नि विभिन्न छन् ।

हामीले यो समयमा आफूलाई मात्र सम्झी रह्यौं भने व्यवस्त हुन सक्दैनौं । तर आफू, आफ्नो परिवारका साथै आफू सेवारत सहकारी संस्था, समुदायलाई सम्झना ग¥यौं र त्यसको लागि तत्कालिन र भावी योजना बनाउन समय दियौं । विषम परिस्थितिमा कसरी काम गर्न सकिन्छ भन्ने विषयमा भएका चर्चा परि चर्चामा भाग लियौं । आफ्नो मनमा भएका नवीनतम तौर तरिकाहरु, सेवाका क्रममा सुझेका विषयहरु शेयर ग¥यौं भने एक व्यस्त हुन सहयोग पुग्छ, अर्को आफ्नो मनमा आउन सक्ने संभावित समस्याहरु र त्रासलाई ठाउँ रहँदैन र आफ्नो रचनात्मकता बढ्दै जान्छ ।

सबै सामान्य चलिरहेको छ । सुर्य नियमित उदय, अस्त भै रहेछ । पवन आफ्नो गतिमा छ । ऋतुहरु आफ्नो समय कुरेर सोही अनुसार मौसमी वातावरण प्रदानगर्न दत्तचित्त छन् । हाम्रो शरिरका अंगहरु पनि स्वचालित छन् । ठिक समयमा भोक लाग्छ, तिर्खा लाग्छ र पाचनदेखि सबै प्रक्रिया स्वचालित भैरहेका छन् । सबै सामान्य छ । भने म पनि सामान्य रहनुपर्छ भन्ने धारणा मनमा राख्नु पर्छ । आम्दानी तथा ऋणलाई मनमा राखेर वा आहो कोरोना लागि हाल्यो भने के गर्ने भनेर लाग्दै न लागि तर्सने गर्नु हुँदैन । यो भनेको अनावश्यक रोगलाई गरिएको निमन्त्रणा हो । अनावश्यक रोगलाई निम्त्याउने काम गर्नु हुँदैन । सबै कुरा समय आएपछि ठिक हुन्छ । त्यसको लागि कारोनाले नै छोएछ भने पनि म मेरो उच्च मनोबलले आधा रोग जित्छु । आधा दिन–रात नभनी हाम्रो उपचारमा खटिएका स्वास्थ्यकर्मीले हौसला साथ उपचार गर्नेछन् र त्यसलाई जित्छु जित्छु भन्ने संधै मनमा लिई रहनु पर्दछ ।

विशेष अवस्थामा रहेका जस्तै गर्भवती, सुत्केरी, दीर्घ रोग भएकाहरुले विशेष सतर्कताका साथ रहनु पर्छ । दीर्घ रोग भएका, पाको उमेरका व्यक्तिहरुले पनि कोरोना जितेको समाचारहरु हामीले पढिरहेका छौं । आफूलाई मानसिक रुपमा स्वास्थ राख्नको लागि त्यस्ता व्यक्तिहरुको अन्तर्वार्ता पढ्ने हेर्ने गर्नुपर्छ । संधै सकारात्मक विषयका आलेखहरु मात्रै पढ्ने सुन्ने र चर्चा गर्नमा रमाउने बानीको बिकास गर्नुपर्छ ।

त्रासबाट उन्मुक्ति पाउने र रचनात्मक हुने केही उपायहरु

आधिकारिक र निश्चित समाचारहरु मात्र पढ्ने, सुन्ने र हेर्ने गर्नु पर्छ ।

मान्छेको मनमा त्रास पैदा हुने खालका समाचारहरु हचुवाको भरमा सेयर, लाईक र कमेन्ट गर्नु हुँदैन । हामी भनेको समुदायमा अग्रभागमा रहेर काम गर्ने व्यक्ति हौं । हामीले दिएको सूचना आधिकारिक मान्नेहरुको लागि त्यस्ता समाचारले नकारात्मक असर गर्न सक्छ ।

सतर्क रहन महामारीको पिडादायक पक्षको अध्ययन गर्ने र त्यसलाई जित्नको लागि आत्मबलको सख्त जरुरी हुन्छ । त्यसैले महामारी रोग जितेकाहरुको आत्म कथाहरु पढ्ने तथा सुनाउने ।

कमको सिलिसिलामा बाहिर जाँदा सबै खालका सुरक्षा उपायहरु अबलम्बन गर्ने । फर्कि सकेपछि पनि स्यानिटाईजका सबै विधिहरु अपनाएर मात्र घरको काममा संलग्न हुने । बच्चा तथा जेष्ठ सदस्यको स्याहारमा लाग्ने ।

 परिवारमा पर्याप्त छलफल गर्ने । एकले अर्कोलाई ढाडस दिने ।

सम्भावित जोखिमको लागि डक्टर, यम्बुलेन्स तथा सहयोगी र नजिकका आफन्तको नम्बर सबैले देख्ने र भेट्ने गरी राख्ने ।

कम्तीमा ६ महिनाको पारिवारिक बजेट बनाउने ।

मितव्ययी हुने । कम खर्चमा उपलब्ध हुने खालका हरिया सागपात, गेडागुडी जस्ता स्वास्थ्य बर्धक चिजहरु उपभोग गर्ने । उपभोगका सामग्रीहरु अनावश्यक रुपमा खेर जान नदिने । ठिक्क अड्कल गरेर मात्र पकाउने र ताजा पाकेको खाना खाने । घरमाकुनै छिट्टै बिग्रन सक्ने खाद्यपदार्थहरु छन् भने वा सञ्चित गरेर राख्न मिल्ने चिजहरु छन् भने व्यवस्थापन गर्ने ।

जस्तैः मस्यौरा बनाउने, सागको गुन्द्रुक बनाउने, साग, काउली, च्याउ आदि चिजहरु सुकाउँदा लामो समयपछि पनि उपभोग गर्न सकिन्छ । अदुवा लगायतका चिजहरुको सुठो बनाई प्रयोग गर्दा फारो र सहज हुन्छ । लप्सी, तिल, भटमास, सिलाम लगायतका चिजहरु आवश्यक भए पिच्छे पिंध्ने गर्दा बढी खपत हुन सक्छ । जसलाई फारो बनाउन एकैपटक पिसेर बट्टामा राख्न सकिन्छ ।

आफ्नो घर वरपर खाली जमिन छ भने त्यसलाई प्रयोगमा ल्याई उत्पादन गर्ने । खाली कौसी तथा छत छ भने सो ठाउँमा पनि तरकारीहरु लगाउने ।

 यदी हामी किसान हौं र हाम्रो सामान बिक्रि हुनको लागि समस्या भैरहेको छ भने सहकारीहरु, स्थानियतहहरुमा सम्पर्क समन्वय बढाउने र बिक्रीको लागि पहल गर्ने ।

अल्कोहल, धुम्रपान, मध्यपान लगायतका शरिरलाई हानी पु¥याउने चिजहरुको सेवन नगर्ने । जसले सञ्चित गरेर जोगाएर खानु पर्ने समयमा अनावश्यक पैसा समेत खर्च हुन जान्छ । बानी परेको छ भने पनि छोड्ने यो उपयुक्त समय हो ।

कोरोना संक्रमण भएका व्यक्ति, समुदाय, स्थानलाई घृणा नगर्ने र त्यस्तो झल्काउने अभिव्यक्ति नदिने । यसले हामीलाई असभ्य त बनाउँछ नै भोली आफूलाई नै लाग्यो र अरुले आफूलाई त्यस्तो व्यवहार गरेमा कस्तो होला भन्ने आंकलन गरेर मात्र बोल्ने ।

सहकारीको नाफा घाटालाई लिएर चिन्तित नहुने । भएको घाटाको पूर्ति गर्ने रणनीति उपर चनाखो रही त्यसको व्यवस्थापनका लागि छोटो समयका योजनाहरु तय गर्ने । सदस्यको बास्तविक आवश्यकतालाई बुझ्न निरन्तर सम्पर्क समन्वयको विधिहरु अपनाउने । सदस्यको सुझाव, आवश्यकतालाई ध्यानमा राखी सहकारीको नीति तथा कार्यक्रम ल्याउने ।

  सम्भवित तरलता व्यवस्थापन रणनीति लिने साथै छाता संघहरुमा सम्पर्क समन्वयमा रहने ।

सहकारीका सेवाहरुको विविधिकरण र महामारी अवस्थामा आवश्यक हुने सेवाहरुको ढाँचा तयारी तथा विस्तार गर्ने ।

 विद्युतीय माध्यमको सम्पर्क समन्वय र पहुँच विस्तारको लागि आवश्यक छलफल चलाउने । सहजीकरण गर्नुपर्ने भए सो को लागि तयार हुने । आदी

यसर्थ समुदायको अभिन्न अंगको रुपमा रहेका सहकारी संघ संस्थाहरुले सतर्क रहेर सेवालाई व्यवस्थित गर्न, आफू, आफ्नो परिवार तथा समुदायमा हुन सक्ने संक्रमणबाट बाँच्न र बचाउनु अति आवश्यक बस्तुको परिपूर्ति गर्न सहयोगी भूमिका निर्वाह गर्न जरुरी छ । यसो गर्दा पर्याप्त सुरक्षा उपाय अपनाऔं र त्रसित नहोऔं ।

kspglory@gmail.com

अभिलेख

लोकप्रिय