१५ चैत्र २०७९, बुधबार

ज्योति मिर्मिरे सामुहिक साकोसको आठौं एकीकरण उत्सव : ५५ जना जेष्ठ सदस्यलाई सम्मान

२० फाल्गुन २०७७, बिहीबार
ज्योति मिर्मिरे सामुहिक साकोसको आठौं एकीकरण उत्सव : ५५ जना जेष्ठ सदस्यलाई सम्मान

बनेपा : काभ्रेको पनौती नगरपालिका– ६ नमोबुद्ध रोड स्थित ज्योति मिर्मिरे सामुहिक बचत तथा ऋण सहकारी संस्थाले आठौं एकीकरण उत्सव मनाएको छ । बिहीबार बृहत स्वास्थ्य शिविर आयोजना गरी एकीकरण उत्सव मनाएको हो । उक्त कार्यक्रममा संस्थाका अध्यक्ष उद्धव सापकोटाको सभापतित्व र नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि. (नेफ्स्कुन)का अध्यक्ष परितोष पौड्यालको प्रमुख आतित्थ्यता रहेको थियो ।

संस्थाले वि स.२०६९ साल फाल्गुन १९ गते काभ्रेको पनौतीमा रहेका ज्योति, मिर्मिरे, सामुहिक महिला र जागृति नमुना साकोस बीच एकीकरण गरेको थियो । यो एकीकरण नेपालमै पहिलो थियो । एकिकरण अभियानलाई नेतृत्व गरेको संस्थाले गत वर्ष सातौं एकिकरण उत्सवका अवसरमा बल्थलिमा रहेको जन्म ज्योति महिला विकास बहुउद्देश्य सहकारीसँग एकीकरण गरेको थियो ।

संस्थाले एकीकरण दिवसको अवसरमा विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ । संस्थाले ७० वर्ष उमेर पुरा भएका जेष्ठ सदस्यहरुलाई सम्मान, रक्तदान, विभिन्न स्वास्थ्य सम्बन्धि परीक्षण र संस्थामा उत्कृष्ट बचत, ऋण कारोबार गर्दै आएका सदस्यहरुलाई सम्मान गर्ने गरेको छ । संस्थाले आफ्नो आठौं एकीकरण उत्सवका अवसरमा यो वर्ष ५५ जना जेष्ठ सदस्यहरुलाई दोसल्ला ओढाई सम्मान गर्नुका साथै काठमाडौं मेडिकल कलेजको प्राविधिक सहयोगमा बृहत निः शुल्क स्वास्थ्य शिविर संचालन गरेको छ । शिविरमा ४०० जनाले स्वास्थ्य सम्बन्धि साधारण चेक जाँच, रगत परीक्षण, सुगर, प्रेसर, युरिक एसिड, आखाँ सम्बन्धि सम्पूर्ण परीक्षण, गाइनो, भिडियो एक्सरे, इसिजीको उपचार गरेका थिए ।

उक्त शिविरमा परीक्षण गर्न आउने सम्पूर्ण सदस्यहरुलाई संस्थाको पहलमा थप उपचारका लागि काठमाडौं मेडिकल कलेजले औषधी उपचारमा ५० प्रतिशत छुटको व्यवस्था गरेको छ ।

‘दिगो र उत्कृष्ट वित्तीय सहकारी संस्था’को परिकल्पना गरी समुदायमा आधारित भएर संचालित ज्योति मिर्मिरे सामूहिक साकोस ०७७ माघ मसान्त सम्ममा ११ हजार ५ सय सदस्य तथा ९ सय ७० बाल बचतकर्ता आवद्ध भएका छन् । संस्थाले ९० करोड पूँजी संकलन गरी सेवा प्रदान गर्दै आएको संस्थाका प्रमुख कार्यकारी अधिकृत गोपाल दाहालले जानकारी गराउनु दिनुभयो । सेवालाई प्रतिस्पर्धी र अन्य संस्थाहरुको तुलनामा गुणस्तरीय बनाउनका लागि आधुनिक प्रविधिको अधिकतम उपयोग गरी व्यवस्थित तथा पूर्ण व्यवसायिक ढंगबाट संस्थाको कारोवार सञ्चालन गरिएको दाहालले बताउनुभयो ।

संस्थाको कार्यक्षेत्र पनौती, बनेपा, धुलिखेल, पाँचखाल, मण्डनदेउपुर नगरपालिका र बेथानचोक गाउँपालिका रहेको छ ।

अभिलेख

लोकप्रिय