२४ असोज २०८१, बिहिबार

कोभिड १९ पश्चात वित्तीय सहकारी ब्यवस्थापन

२०७७ वैशाख १३, शनिवार
कोभिड १९ पश्चात वित्तीय सहकारी ब्यवस्थापन

कुबेर निरौला

वित्तीय कारोबार मुख्य उद्देश्यका साथ संचालित विभिन्न प्रकृतिका सहकारी संस्थाहरु सदस्यहरुको नगद ब्यवस्थापनका मुख्य संवाहक हुन् । यस प्रकृतिका संस्थाहरु सामान्यतया सदस्यहरुको वित्तीय आवश्यक्ता पूर्तिका श्रोत हुन् जसलेगर्दा सदस्यहरुलाई वित्तीय भरोसा प्रदान गर्ने कार्यमा सक्षमता प्रदर्शन गर्न सक्नु नै वित्तीय कारोबार गर्ने सहकारी क्षेत्रको सफलताको सुचक हुने अवस्थाको सिर्जना हुने जाने अवस्था हुन सक्छ । यो विषय महामारीका प्रभावका कारण उत्पन्न परिस्थितीको ब्यवस्थापन गर्दै वित्तीय कारोबार गर्ने सहकारी संस्थाहरु प्रति सदस्यहरुको विश्वसनियता कायमका लागि सुरक्षित अवतरणको अवस्थामा संस्थालाई लिएर जानुपर्ने संस्थाको ब्यवस्थापनको एउटा महत्वपुर्ण चुनौती हुनसक्छ ।

समुदायप्रति उत्तरदायी संस्थाको यो चुनौतिको समना अनिवार्य विषय नै बन्न सक्ने हुन्छ र यस्तो चुनौतिको सामना गर्नका लागि वित्तीय ब्यवसाय संचालन गरीरहेका हरेक सहकारी संस्थाहरुले बिशेष गरी शुक्ष्म रुपमा सदस्य विश्लेषण गरी उनिहरुको वर्गिकरण अत्यन्तै महत्वका साथ गर्दै तयारी अवस्थामा रहन जरुरी देखिन्छ । सदस्य विश्लेषण तथा वर्गिकरणको कार्यले गर्दा संस्थाहरुलाई भावी रणनीतिक रुपमा कार्यान्वयन गर्न सकिने दिशा अवलम्बन गर्न सहजता रहन्छ । विशेष गरी सदस्यता विश्लेषण तथा वर्गिकरणका कार्यमा न्यूनतम पनि निम्नानुसारका विषयहरुलाई समेटेर गर्न सकेको खण्डमा महामारीको ब्यवस्थापन पश्चात् सहजताको अवस्था हुँदै जाने क्रममा संस्थाहरुलाई ब्यवस्थापनमा मार्गदर्शनको रुपमा काम गर्न सहजता प्रदान गर्दछ ।

सर्वप्रथम, संस्थाले हाल मौजुदा सम्पुर्ण सदस्यहरुको वर्गिकरण गर्ने प्रक्रियामा जाने कार्य प्रारम्भिक चरण हुनसक्छ । यस क्रममा सदस्यहरुको आयस्रोतको आधारमा नगद प्रवाहको अवस्थाको समेतका आधारहरु शुक्ष्म रुपमा अध्ययन गर्ने, सोका आधारमा वर्गिकरण गर्ने कार्यले नगदको परीचालनको अवस्थाको आंकलन गर्ने आधार बन्न सक्छ । सदस्यको नगद प्रवाहको वर्गिकरणको अनुमान संस्था संचालनको लागि एउटा सानो स्वमार्ग निर्देशन बन्न सक्दछ ।

दोश्रो विषय, नगद प्रभाव जसले सदस्यहरुको पेशा व्यवसाय, व्यापारका प्रकृति, पेशा व्यवसायका प्रकृति, लगायतले अत्यन्तै ठूलो असर पारिरहेको हुनाले सम्पुर्ण सदस्यहरुको आयका स्रोतहरुको क्षेत्रमा समेत संस्था अद्यावधिक हुन जरुरी छ । जसले सदस्यहरुले नगद आर्जन गर्ने समय, नगद आर्जनको स्तर, नगदको आवश्यक्ताको समय जस्ता कुराहरुको अवस्थाको जानकारीका आधार तय गरी उनिहरुको पेशा व्यवसायका आधारमा नगद ब्यवस्थापनमा सहजिकरण गर्न सकिने हुन्छ । पेशा व्यवसायमा सवलिकरणका लागि वित्तीय आवश्यक्ताको परिपूर्तिका साथै थप परामर्श तथा प्रविधिक सेवा समन्वय समेत गर्न सकिने र सदस्य संस्थाको बीच निकट सम्बन्ध स्थापनामा समेत टेवा पुग्ने हुन्छ ।

तेश्रो, सदस्यहरुको आयश्रोतको स्तर तथा उनिहरुको चलअचल सम्पत्तिको अवस्थाका साथै सदस्यहरुको नेट वर्थको विश्लेषण गरी विवरण तयार अर्को महत्वपुर्ण आधार हुनसक्छ । जसले गर्दा सदस्यहरुको सम्पत्तिको संरक्षणमा संस्थाले खेल्न सक्ने भूमिका, सदस्यहरुको सम्पत्ति तथा नेट वर्थको आधारमा गर्न सकिने विभिन्न थप सहयोगका आधारहरु तय गर्न सकिने सदस्यहरुको व्यवसायिक कार्यमा थप बल दिने सारथीसहित सदस्य निकटतामा भूमिका निर्वाहको कार्य गर्न सकिने हुन्छ ।

यसरी संस्थाले आफ्ना सम्पुर्ण सदस्यहरुको सुक्ष्म अध्ययन र विश्लेषण कार्य अद्यावधिक गर्ने क्रमबाट महमारीका समय पश्चात् संस्था ब्यवस्थापनमा रणनितिक कार्यन्यनका लागि आधार बन्न सक्दछ र संस्था सदस्यबीच व्यासायिक सम्बन्ध स्थापना तथा समन्वयको समेत आधार बन्न सक्दछ । यस विश्लेषणको आधारमा सदस्यहरुको क्षमता, उनिहरुको समय ब्यवस्थापन, श्रमशक्ति, पारिवारिक सदस्य परिचालन जस्ता विषयहरुमा थप परामर्श गर्दै उत्पादनका क्षेत्रहरुमा लगाउन प्रोत्साहित गर्ने, उत्पादन विविधिकरणका कामहरुमा प्रोत्साहन गर्ने, सदस्यहरुको सम्पत्तिको पुर्ण रुपमा उत्पादकत्वमा लगाउने, जस्ता योजनाहरु बनाउन सकिन्छ । यसले सदस्यहरुको साझेदारीतामा तथा समूहगत रुपमा समेत व्यावसायिकतामा परिचालनका उपायहरुको खोजी तथा प्रयोगमा समेत संस्थालाई सहजता गराउँदछ । कतिपय सदस्यहरुको आंशिक समयको उपयोग, थप सदस्यहरुमा रोजगारी, व्यवसायिकता, परिवारका सदस्यहरुलाई स्वरोजगार गराई उत्पादनमुखि बनाउनकालागि संस्थाले सहजिकरण गर्ने माध्यमको रुपमा प्रयोग गर्न सकिन्छ ।

यति मात्र नभएर, संस्थाका सदस्यहरुको पेशा व्यवसाय, खर्चका प्राथमिकता, खर्चका आवश्यताका अवस्थाहरु लगायतका क्षेत्रमा समेत वर्गिकृत विवरण तथा तथ्यांकले संस्थाको नगद प्रवाहमा सहयोग पुग्दछ । सदस्यहरुको वित्तीय साक्षरताको क्षेत्रमा थप परामर्श सेवा प्रदान गर्ने आधारहरु तय गर्न सकिन्छ । त्यसरी नै संस्थाका लागि लामो अवधि तथा छोटो अवधिको लागि लगानी तथा श्रोत पहिचानका आधारहरु तय गर्दै भावी रणनितिक योजना तय गर्न समेत सहजता हुन्छ । भवी योजनाले सदस्यहरुमा उत्पादकत्वको वृद्धि, व्यवसायिक उत्पादनमा परिचालन, उत्पादित वस्तुहरुको प्याकेजिङ, भण्डारण जस्ता विषयहरुमा समन्वय गराउन सकिने जस्ता थप सेवाहरुमा समेत भूमिका तय गर्न सकिन्छ । सदस्यहरुमा हालको जस्तो महामारीको पुर्व ब्यवस्थापन, अभाव ब्यवस्थापन तथा सुरक्षित अवस्थाको आधार जस्ता विषयहरुमा समेत सचेतना कार्यहरुको थालनी गर्न मद्दत पुगोस् ।

कोरोना महामारी पश्चात संस्थामा पर्नसक्ने प्रभावहरु

वित्तीय सहकारीहरुका लागि सबैभन्दा महत्वपुर्ण विषय नगदको व्यवस्थापन नै भएको हुनाले संस्थाहरुले नगदको व्यवस्थापनको एउटा आधार माथि उल्लेख गरिएको सदस्यहरुको सुक्ष्म विश्लेषण र वर्गिकरण हुनसक्छ । जसले तरलता ब्यवस्थापनमा पर्न सक्ने प्रभावलाई केही रणनितिक मार्ग निर्देशनको आधार तय गर्न सकिन्छ । यो महामारीको अवस्था समान्य पश्चात् वित्तीय क्षेत्रमा नै तरलताको अस्थिरता रहन सक्ने सम्भावना त्यसमा पनि शुरुमा ऋणात्मक प्रभाव अर्थात तरलता अभाव हुनसक्ने सम्भावना विद्यमान देखिएकोले वित्तीय सहकारीहरुमा पनि यसको प्रत्यक्ष प्रभावको सामान गर्नुपर्ने हुन्छ नै । यद्यपि समुदायमा आधारित रहेर संचालित सहकारीहरु जसले नियमित प्रकृतिका बचतका प्रकारहरुको पहिले देखिनै ब्यवस्थापन गरेको र नियमित प्रकृतिको बचतको अंश व्यवस्थित भएका वित्तीय कारोबार गर्ने सहकारी संस्थाहरुमा अन्यको तुलनामा कमै तनाव हुन्छ ।

हालको परिस्थिती समान्य अवस्थामा फर्कने क्रमसँगै वित्तीय सहकारीहरुमा बचत फिर्ताको मागमा वृद्धि हुनसक्ने, छोटो अवधिका ऋणहरु (बिशेष गरी चालु पुँजि प्रकृतिका) को मागमा वृद्धि हुनसक्ने, राहत तथा भैपरी ऋण सापटीको माग बड्न सक्ने, हाल भईसकेको लगानीहरुका ब्याज तथा सावाँ, किस्ता असुलीमा कमी हुनसक्ने, आवधिक ऋणको असुलीमा प्रभाव पर्न सक्ने जस्ता प्रवल सम्भावनाहरु विद्यमान रहन्छ । जसको प्रत्यक्ष प्रभाव संस्थाहरुको तरलता ब्यवस्थापनमा नै पर्न जाने भएकोले तरलता जोखिमको सम्भावना बढ्ने देखिन्छ । सुरुको अवस्थामा तरलताको ऋणात्मक प्रभाव ब्यहोर्नु पर्ने अवस्थाको साथै समयावधि बित्दै जाने क्रममा संस्थाहरुको लगानीका क्षेत्रहरुमा अन्यौलताको स्थिति आउन सक्ने सम्भावना पनि आंकलन गर्न जरुरी देखिन्छ । हाल भईरहेको व्यवसायिक अवस्थाको निरन्तरता नहुन सक्ने, उत्पादकत्वमा प्रभाव पर्न सक्ने, मानिसहरुमा द्धिविधा उत्पन्न भई व्यवसायीक काममा ह्रास आउन सक्ने, उत्पादित वस्तुहरुको वितरणका ऋंखलाहरु प्रभावित हुनसक्ने जस्ता विभिन्न अवस्थाहरुका कारणले गर्दा तरलता परिचालनमा कठिनाई आउन सक्ने सम्भावनाहरुको पनि आंकलन सहकारी क्षेत्रले गर्दै सही ब्यवस्थापनमा ध्यान पुर्याउन समेत जरुरी हुन्छ ।

वित्तीय कारोबारमा संलग्न सहकारीहरुले भावी योजनाबद्ध रुमा काम गर्न तथा आईपर्ने विभिन्न प्रकृतिका जोखिमहरुको सामना गर्दै संस्था संचालनको लागि सदस्यहरुको सुक्ष्म अध्ययनको आधारका साथै वित्तीय क्षेत्रमा राज्यले लिने नीति, वित्तीय व्यवसायको एक प्रकारका प्रतिस्पर्धी संगठनहरु (बैंक तथा वित्तीय संस्थाहरु) को व्यवसायिक रणनिती, नेपाल राष्ट्र बैंकको नीतिहरुको पनि अध्ययन गर्दै संस्थाहरु अगाडि बढ्नु पर्ने परिस्थितीको सिर्जना हुन्छ ।

अबको आर्थिक विकासको आधार भनेको महामारीका कारण प्रभावित क्षेत्रको पुनरुत्थान, नयाँ प्रकृतिका उत्पादनमुखि कार्यक्रम र सो क्षेत्रमा लगानी, उपभोगमुखि उत्पादनमा प्राथमिकता, दैनिक उपभोग्य सामाग्रिहरुको भण्डारण, प्रभावकारी वितरण प्रणालीको विकासका साथै खाद्य सुरक्षा जस्ता क्षेत्रहरुमा ध्यान पुर्याउन जरुरी हुन्छ । यस्ता क्षेत्रहरुमा आधारभूत संरचना निर्माण, दक्ष मानव श्रोत तयार र व्यवसयिकता उन्मुख गराउने कार्य त्यती सहज नहोला । यद्यपि राज्य संयन्त्र समेत संवेदनशिल भई सहकारी क्षेत्रसँग सहकार्य र साझेदारीतामा कार्य गर्ने वातावरण निर्माण गर्नका लागि भरपर्दो र परिणाममुखि पहलकदमी आवश्यकता भईसकेकोे छ ।

महामारीको अवस्था समान्य हुन समेत समय लाग्ने, निर्मुल हुने अवस्थाका लागि समय पर्खन पर्ने अवस्था रहेको खण्डमा यसको प्रभावका कारण लगानीमा रहेको कतिपय ऋणहरुको असुलिमा नकारात्मक अवस्था आईपर्न सक्ने भएकोले यस्ता ऋण ब्यवस्थापनका कारण संस्थाको नेटवर्थमा पर्न सक्ने प्रभाव, कर्मचारीहरुको स्वास्थ्य सुरक्षा, सदस्यहरुमा स्वास्थ्य सचेतना आदी पनि संस्थाहरुले सामना गर्नुपर्ने महत्वपुर्ण जोखिमका क्षेत्रहरु रहि रहन्छन् । यद्यपि सहकारी क्षेत्रले सबै प्रकारका जोखिमहरुको सामना गर्दै सहकारी अभियानको वर्चश्व कायम गर्नुपर्ने, विषेश गरी निम्न आय वर्ग र मध्यम आय वर्गका समुदायको आयस्तरको संरक्षण प्रवद्र्धनमा जोड दिँदै त्यस्ता समुदायमा छरिएको पुँजि संकलन गरी राज्यको आर्थिक अंगको एक खम्बा संरक्षण कायम र समुदायको आर्थिक तथा सामाजिक सवलिकरणमा अग्रपक्तीमा उभिने वातावरण निर्माणमा सहकारी क्षेत्र अझ संगठित भएर काम गर्न आवश्यक छ । यसरी नै सहकारीहरु संगठित रुप भएर आगमी दिनहरुमा थप व्यवसायिकता, उत्पादकत्वमा वृद्धिको कार्यक्रम, गुणस्तरीय उत्पादन, खाद्य सुरक्षा तथा पोषणयुक्तता, वातावरण संरक्षण र समुन्नत समाजको निरन्तरताका लागि समेत वित्तीय कारोबार गर्ने सहकारीहरुले अन्य प्रकृतिका सहकारीहरुसँग साझेदारी गर्न प्रभावकारी रुपमा संगठित हुन जरुरी भएको देखिन्छ । राज्य संयन्त्रसहित सहकारी मैत्री बन्दै राज्यलई उत्पादनमुखि बनाउन सहकारी क्षेत्रको संगठित स्वरुप अझ प्रभावकारी र भरपर्दो बनाउन समेत आजको आवश्यकता भएको छ ।

अभिलेख

लोकप्रिय