१८ कात्तिक २०८१, आईतवार

६३ औं राष्ट्रिय सहकारी दिवस र कोभिड-१९

२०७६ चैत २०, बिहिबार
६३ औं राष्ट्रिय सहकारी दिवस र कोभिड-१९

चित्रा कुमारी थाम्सुहाड सुब्बा

२०१३ साल चैत्र २० गते चितवनमा वखानपुर ऋण सहकारी समितिको स्थापना भएको ऐतिहासिक दिनलाई स्मरण गर्दै प्रत्येक बर्ष चैत्र २० गते विभिन्न रचनात्मक कार्यक्रमसहित राष्ट्रिय सहकारी दिवस मनाउदै आएको छ । यही अनुरुप आज २०७६ चैत्र २० गते ६३ औं राष्टिय सहकारी दिवसका दिन भने फरक अनुभूतिका साथ सहकारीकर्मीहरुबीच एकआपसमा शुभकामना साटासाट गर्दै दिवस मनाईरहेका छौं ।

अहिले विश्व नै कोरोना भाइरस (कोभिड १९) को महामारीबाट आक्रान्त छ । चिनको वुहानबाट गत २०१९ डिसेम्वरबाट शुरु भएको उक्त कोेभिड १९ को महामारीले विश्वका अधिकांश मुलुकहरु कठिन परिस्थितिसँग लडिरहेका छन् । विकसित युरोपियन मुलुकहरु विशेष गरी इटाली, स्पेन सहित बेलायत एवंम विश्वका शत्तिशाली राष्ट्र अमेरिका समेत यस महामारीको दलदलमा फसेको अवस्था छ । यो लेख तयार पार्दासम्म पनि कोभिड १९ को कुनै औषधि वा खोप पत्ता लागि नसकेको अवस्थामा धेरै मुलुकले महामारीको रोकथामका लागि आईसोलेसन (छुट्टै बस्ने) लकडाउन (घरभित्रै बस्ने) र क्वारेण्टाइन (अरुबाट अलग्गै निगरानीमा बस्ने) लाई प्रयोग गरेका छन् । यसले गर्दा हाल अत्यावश्यक सेवा बाहेक सम्पूर्ण गतिविधि स्कुल, कलेज, कलकारखाना, उद्योग व्यवसाय प्रायः बन्द अवस्थामा छन् ।

यसबाट विश्व अर्थतन्त्रमा गम्भिर असर पर्ने आंकलन गरिँदैछ । नेपालको अर्थतन्त्र समेत प्रभावित हुनेछ । अहिले नै अर्थतन्त्रमा के कति असर पर्दछ भन्ने अवस्था नभएपनि विश्व अर्थतन्त्र र मुलुकको अर्थतन्त्रमा परेको असरले सहकारी क्षेत्रसमेत अछुतो रहन सक्दैन् ।

हाल मुलुकमा क्रियाशिल केही उपभोक्ता र कृषि सहकारी संस्थाहरुले आंशिक रुपमा कार्यालय खोली खाद्यान्न लगायतका अत्यावश्यक सेवा प्रवाह गरिहेका छन् । मुलुकभर संचालित दुग्ध सहकारी संस्थाहरुबाट संकलन हुने दुध नौ लाख लिटर मध्ये दैनिक करिब सात लाख लिटर खेर गइरहेको अवस्था छ । केही सहकारी संघहरुले दुग्ध प्रशोधन केन्द्र संचालन गरेको भएतापनि लकडाउनले हाल संचालन नभएको र धेरै दुग्ध उत्पादक सहकारी संस्थाहरु दुध बिक्रीका लागि दुग्ध विकास संस्थान र निजी डेरी उद्योगसंग भर पर्नाले पनि दुध धेरै खेर गइरहेको अवस्था देखिन्छ । अर्कोतर्फ दुग्ध उत्पादक सहकारी संस्थाका सदस्य किसानहरुले गाईवस्तुका लागि दाना उपलव्ध नभएरका थप संकटमा परेको गुनासो गर्न थालेका छन् । यसै गरी चिया उत्पादक सहकारी संस्थाहरुको हालको समय भनेको हरियो चियाको मुना टिप्ने समय हो । चैत्र महिनामा पलाएको मुनाबाट वन्ने चियाको स्वाद नै फरक हुने भएकाले यसकोले यसको मूल्य समेत अन्य समयको भन्दा अधिक हुन्छ । यस अवस्थामा चिया उत्पादक सहकारी संस्थाहरु समेत प्रभावित हुन पुगेका छन् ।

नेपालमा सबैभन्दा ठूला सख्यामा रहेका वितीय कारोवार गर्ने बचत तथा ऋण, वहुृउद्देश्यीय र कृषि सहकारी संस्थाहरुले कार्यालय नखोलेपनि सम्पर्क व्यक्ति तोकेर सदस्यहरुलाई आंशिक वित्तीय सेवा दिइरहेका छन् । कोरोना भाइरसको महामारी सम्बन्धी जनचेतना अभिवृद्धि एवंम महामारी संक्रमण हुन नदिन सुरक्षाका सामानहरु सदस्यहरुलाई उपलब्ध गराउने काममा पनि सहकारी लागेका छन् ।

लामो सयमसम्म बजार ठप्प भएको अवस्थाले सम्पूर्ण विषयका सहकारीहरुमा केही न केही असर पर्ने छ । अझ खासगरी बजार प्रतिनिधिको माध्यमबाट मात्रै सदस्यहरुसँग बचत संकलन गरी वित्तीय सुशासन कायम नगरी संचालन हुने संस्थाहरुमा संकट नआउला भन्न सकिन्न । यस प्रकारका संस्थाहरुको कर्जा असुलीमा समेत जोखिम देखिन्छ । एकातर्फ सदस्यहरुको व्यवसाय सुचारु नहुँदा बचत संकलन सुस्त हुन्छ भने अर्कोतर्फ लगानी भएको कर्जा असुलीमा समेत असर पर्दछ । आमसमुदायको पूर्ण विश्वास आर्जन गर्न नसकेको अवस्थामा कतिपय सहकारी संस्थाहरुको व्यवस्थापकिय कमजोरीले समेत संकटमा पर्ने सम्भावनालाई नकार्न सकिदैन ।

यसर्थ, कोभिड १९ को महामारीपछि सहकारीको आगामी कार्यदिशा के हो त ? गम्भीर मन्थन गर्न जरुरी देखिन्छ । जसरी अहिले कोभिड १९ का कारण लकडाउनले विश्वको वातावरणमा सुधार हुँदै गएकोे सकारात्मक सन्देश प्राप्त भइरहेका छन् । त्यसैगरी यसबाट सहकारी क्षेत्रका लागि केही अवसर पनि प्राप्त हुन सक्छ । त्यो अवसरलाई पनि क्यास गर्न चुक्नु हुदैन । अहिले रोजगारीका लागि देशका क्रियाशिल युवाहरु खाडी राष्ट्र, मलेशिया, भारत लगायतका देशमा गएका र यस संकटका घडीमा अत्यन्त कष्टका साथ फर्केका र कतिपय फर्किन चाहँदा चाहँदै पनि फर्किन सकेका छैनन् । यसले उनीहरुलाई अब आफ्नै देशमा नै केही गर्नुपर्ने शिक्षा दिएको हुनुपर्दछ । सबै युवा विदेश जादैनन् भन्न त सकिन्न तर अहिले यो संकटको समयमा धेरैले आफ्नो देश सम्झिरहेको समयमा उर्जावान युवाहरुलाई सहकारीमार्फत उत्पादन, प्रशोधनमा लगाउन सकियो भने साँच्चै संविधानले परिकल्पना गरेको तीनखम्बे अर्थनीति अनुरुप सहकारी क्षेत्रको योगदानलाई वृद्धि गर्न सकिन्छ । तर, सहकारी संघ÷संस्थाले उनीहरुलाई आकर्षित गर्ने रणनीतिका साथ व्यवसायिक योजना तर्जुमा गर्न ढिलो गर्नु हुन्न ।

प्रविधिको प्रयोगको महत्वलार्ई यस महामारीले थप उजागर गरिदिएको छ । यो विषम परिस्थितिमा दैनिक अत्यावश्यक वस्तुको आपूर्तिका लागि निजी व्यवसायी भन्दा उपभोक्ता सहकारीको महत्व आमजनसमुदायले बुझेको हुनुपर्दछ । त्यसैगरी यस संकटका समयमा सामान्य बिरामी समेत नहेर्ने निजी अस्पतालको सटामा स्वास्थ्य सहकारीको आवश्यकता समेत राज्यले अनुभुत गरेको हुनुपर्दछ । यस्तै अन्य वितरण, प्रशोधनलगायतका सहकारीहरुको समेत यो समयमा समुदाय र राज्यले आवश्यकता महसुस गरेको हुनुपर्छ । यसका लागि भएको कतिपय कानुनी अप्ठ्याराहरुलाई सरकारले समयमा नै सहज बनाइदिएको खण्डमा संकटको साथी सहकारी बन्न सक्छ ।

वित्तीय कारोवार गर्ने सहकारी संघ÷संस्थाको हकमा यस परिस्थितिबाट सदस्य र प्रविधिमैत्री बन्नुपर्ने खाचो औल्याएको छ । सदस्यहरुको विश्वास आर्जन गर्न सकेमा मात्र संस्था बलियो हुन्छ । संचालक समिति र व्यवस्थापन भन्दा पनि बजार प्रतिनिधिहरुको भरमा संकलित रकम कति दिगो र भरपर्दो हुन्छ भन्ने कुरालाई यसले स्पष्ट पारेको छ । सदस्यहरुको बचत रकम जुनसुकै बेला फिर्ता गर्नुपर्ने हुन्छ । सहकारी संघ÷संस्थाका लागि तरलता व्यवस्थापन संगसंगै जोखिम व्यवस्थापन त्यत्तिकै महत्वपूर्ण छ । सबैले सदस्य केन्द्रीत व्यवसाय गरांै, सदस्यको सेवा नै धर्म हो भन्ने कुरालाई आत्मासात गरौं तबमात्र सहकारी वास्तविक रुपमा सदस्यको साथी बन्न सक्दछ र दिगो, सवल र सक्षम बन्न सक्दछ ।

जय सहकारी ।

(लेखक राष्ट्रिय सहकारी महासंघका महाप्रवन्धक हुनुहुन्छ)

अभिलेख

लोकप्रिय