बागमती प्रदेश बचत संघको कारोबार सुरु, पहिलो दिन नै ७० करोड निक्षेप संकलन
बनेपा : बागमती प्रदेश बचत तथा ऋण सहकारी संघले कारोबार शुभारम्भ गरेको छ । काभ्रे जिल्लाको बनेपा–७ मा कार्यालय स्थापना गरी संघले आजबाट औपचारिक कार्यालय उद्घाटन तथा कारोबार शुरु गरेको हो । साउन १३ गते दर्ता भएको संघले कात्र्तिक २२ गते प्रारम्भिक साधारणसभा सम्पन्न गरेको थियो ।
बुधबार एक कार्यक्रमको बीच केन्द्रीय कार्यालयको उद्घाटन संघका अध्यक्ष उद्धव सापकोटाले गर्नुभयो । औपचारिक कार्य आरम्भ सुरु भएकै दिनमा संघमा ७० करोड निक्षेप संकलन भएको छ । विभिन्न सदस्य संस्थाबाट उक्त निक्षेप संकलन भएको हो । संघले बुधबार नै विभिन्न सदस्य संस्थालाई ३५ करोड रुपैयाँ लगानी गरेको अध्यक्ष उद्धव सापकोटाले जानकारी दिनुभयो ।
संघमा हाल एक सय ७० संघ संस्थामा आवद्ध भएका छन् । कार्यक्रममा ८० वटा सदस्य सहकारीका करिब १ सय २० जनाको सहभागिता रहेको छ । संघको सेयर पूँजी १ करोड संकलन भएको अध्यक्ष सापकोटाले बताउनुभयो ।
संघको संघीय राजधानी काठमाडौंमा कर्पाेरेट कार्यालय र बागमती प्रदेशको राजधानी मकवानपुरमा सम्पर्क कार्यालय राख्ने गरी बनेपामा कार्यालय शुभारम्भ गरिएको अध्यक्ष सापकोटाले बताउनु भयो ।
कार्यालय र कारोवार शुभारम्भ गर्दै अध्यक्ष सापकोटाले सदस्यहरुको क्षमता विकास, समन्वयकारी भूमिका, बचत तथा ऋण परिचालन गरी समृद्ध सहकारी र सहकारीका समृद्ध सदस्य निर्माण गर्न महत्वपूर्ण भूमिका संघले खेल्ने बताउनु भयो ।
संघमा काभ्रेपलाञ्चोक जिल्लाबाट मात्रै ४० करोड रकम संकलन भएको छ । कार्यक्रममा १३ वटा जिल्ला बचत संघका अध्यक्षहरुको समेत सहभागिता रहेको थियो । संघका महासचिव जिवसराज खड्काले सञ्चालन गर्नुभएको कार्याक्रममा सचिव गोविन्द्रप्रसाद काफ्ले शुभकामना सहित संघको बारेमा जानकारी गराउनुभएको थियो ।
कात्र्तिक २२ गते सम्पन्न प्रारम्भिक साधारण सभाबाट अध्यक्ष उद्धव सापकोटा, बरिष्ठ उपाध्यक्ष प्रकाश श्रेष्ठ, महिला उपाध्यक्ष राधा सिन्तान, महासचिव जिवसराज खड्का, सचिव गोविन्दप्रसाद काफ्ले, कोषाध्यक्ष टापबहादुर श्रेष्ठ निर्वाचित हुनुभएको थियो ।
त्यस्तै सदस्यहरुमा इन्द्र घिमिरे, तेजेन्द्र खड्का, जगन्नाथ दाहाल, ठाकुर बास्कोटा, कृष्णगोविन्द लाखाजु, प्रकाश बञ्जारा, प्रदिप थापा, ओमप्रसाद अधिकारी, कृष्णहरी कोईराला, राधा कडेरिया र चक्रबहादुर बस्नेत रहनु भएको छ । लेखा तथा सुपरिवेक्षण समितिमा संयोजक केशवप्रसाद दंगाल, सदस्यहरुमा रमिला शाक्य श्रेष्ठ र रमेश श्रेष्ठ रहनु भएको छ ।