२१ कात्तिक २०८३, शनिवार

आधा दर्जनभन्दा बढी सहकारी संस्थामा डकैती

२०७२ भदौ ३१, बिहिबार
आधा दर्जनभन्दा बढी सहकारी संस्थामा डकैती

काठमाडौं  । श्रृंखलाबद्धरुपमा सहकारी संस्था चोरी गर्ने तीन व्यक्ति पक्राउ परेका छन् । महानगरीय प्रहरी अपराध महाशाखाले चोरी कार्यमा संलग्न सुवास पोखरेल, अर्जुन नेपाली र दिपक गजुरेललाई प्रहरीले पक्राउ गरेको हो ।
उपत्यकाभित्र भएका विभिन्न बचत तथा ऋण सहकारी संस्थाहरुमा रातको समयमा चोरीका घटनाहरु हुने गरेकाले त्यस्ता घटनाहरुको अनुसन्धान गर्ने सिल–सिलामा ती व्यक्तिहरु पक्राउ परेको महाशाखाले भनेको छ । अभियुक्तहरुले सहकारी संस्थाहरुमा कोही नभएको मौका पारी झ्याल तथा ढोकाहरूको ताला फोडी प्रवेश गरी नगद तथा सुनचाँदीका गरगहना, ल्यापटप, क्यामराहरु लगायतका अन्दाजी नौ लाख ४५ हजार एक सय पाँच रुपैयाँबराबरको धनमाल चोरी गरेको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ । चोरी गर्ने कार्यमा संलग्न रहेका जिल्ला धादिङ सुनौला बजार घर भई हाल का.जि. नयाँ बजार बस्ने पोखरेलसहितका व्यक्तिहरुलाई चोरी गरी लगेका नगद तथा विभिन्न दशीको सामानहरुसहित अपराध महाशाखावाट खटिएको प्रहरी टोलीले भदौ २७ गते काठमाडौंको नयाँ बजार तथा ठमेलबाट पक्राउ गरी आवश्यक कारबाहीको लागि महानगरीय प्रहरीपरिसर काठमाडौं पठाएको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार अभियुक्तहरुले असार २२ गते का.म.न.पा. ४ वसुन्धरास्थित फेमिली फुड ल्याण्ड  होटलबाट नगद अन्दाजी ८० हजार रुपैयाँबराबरको धनमाल चोरी गरेका थिए । यसैगरी साउन २५ गते का.म.न.पा. १७ क्षेत्रपाटीस्थित श्री पर्यटन सहकारी संस्थामा रहेको दराजको सेफ फुटाई पाँच लाख ३८ हजार तीन सय रुपैयाँबराबरको नगद धनमाल चोरी गरेको प्रहरीले जनाएको छ । भदौ २० गते पनि सोही समूहले का.म.न.पा. वडा न ३३ कमलपोखरीस्थित इलम ऋण तथा सहकारी संस्थामा नगद तथा सेफसहित अन्दाजी ४८ हजार चार सय रुपैयाँ चोरेको थियो । सोही दिन रातको समयमा काठमाडौंको मैतिदेवीस्थित ओमकर ग्रुप अफ कम्पनीको कार्यालयबाट नगद तथा ल्यापटप समेत गरी तीन लाख १० हजार रुपैयाँबराबरको सामान चोरी गरेको थियो । भदौ २० गते नै उक्त समूहले गैह्रीधारास्थित अनुरमा बचत तथा ऋण सहकारी संस्था लि.को काउण्टरबाट १६ हजार पाँच रुपैयाँ, भदौ २० गते नै सामाखुसीस्थित विष्णु पौडेलको घरको पहिलो तल्लामा रहेको हाम्रो भार्गव बचत तथा ऋण सहकारी संस्था लि.मा चोरी गरी लगेको थियो ।
उक्त समूहले भदौ २५ गते पनि रातिको समयमा का.जि.का.म.न.पा.१६ नयाँबजारस्थित मधुश्री बचत तथा ऋण सहकारी संस्थामा लक फुटाई दुई लाख रुपैयाँ धनमाल चोरी गरेको, भदौ २६ गते ठहिटीस्थित ग्रेटवाल टुर्स एण्ड ट्राभल्सबाट नगद तथा जिन्सीसहित ३१ हजार रुपैयाँबराबरको धनमाल चोरी गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका अभियुक्तहरुबाट एक हजारको एक सय छ थान, पाँच सय दरका ५९ थान, एक सय दरका तीन सय १२ थान, ५० रुपैयाँ दरका ९७ थान, क्यामरा, चक्कु भारतीय नोट, ल्यापटप लगायतका सामानहरु बरामद गरिएको प्रहरीले जनाएको आजको आर्थिक दैनिकमा खबर छ ।

अभिलेख

लोकप्रिय