२० कात्तिक २०८३, शुक्रबार

पीटीए र पीडीएपछि नेपाल अन्तर्राष्ट्रिय लगानीको गन्तब्य : विश्व बैंक

२०७१ असोज २५, शनिवार
पीटीए र पीडीएपछि नेपाल अन्तर्राष्ट्रिय लगानीको गन्तब्य : विश्व बैंक

काठमाडौं, २५ असोज । विश्व बैंकले नेपाल र भारतबीच हालै सम्पन्न बिद्युत व्यापार सम्झौता र माथिल्लो कर्णाली जलबिद्युत आयोजनाको आयोजना विकास सम्झौताले नेपालमा जलबिद्युतको विकासको ढोका खुलेको प्रतिक्रिया दिएको छ ।

विश्व बैंकको बार्षिक बैठकमा भाग लिन अमेरिका पुगेका अर्थमन्त्री डा. रामशरण महतसँगको भेटमा विश्व बैंकका अधिकारीहरुले सो प्रतिक्रिया दिएका हुन् । सो अवसरमा विश्व बैंकका दक्षिण एसिया क्षेत्रको जिम्मेवारी पाएका उपाध्यक्ष फिलिप हाउरेले अर्थमन्त्री डा महतसँगको भेटमा नेपालको जलबिद्युतका क्षेत्रमा विश्वको लगानीको ढोका खुल्नुका साथै विश्व बैंक अन्तर्गतकै आईएफसीको ६ अर्ब डलर लगानीको ढोका पनि खुलेको बताए ।

नेपालको आर्थिक विकासका लागि जलबिद्युतको संभावना उजागर गर्नुपर्ने र यसका लागि ठूलो लगानी आवश्यक रहेको भन्दै अर्थमन्त्री डा महतले नयाँ सरकार बन्नासाथ विश्व बैंक र आईएफसीलाई सहयोग गर्न आग्रह समेत गरे । सो अवसरमा बजारको सुनिश्चितता गर्न भारतसँग बिद्युत व्यापार सम्झौता गरेमा आईएफसीले ठूलो रकम लगानी गर्ने आश्वासन दिएको थियो ।
हाउरोले अर्थमन्त्री डा महतलाई भने— ‘अव अन्य बिद्युत आयोजनाहरुमा लगानीको ढोका खुल्यो । नेपालले काम छिटो गर्ने रहेछ र निर्णय समयमा गर्ने रहेछ भन्ने सन्देश पनि फैलिएको छ । यसको सकारात्मक प्रभाव नेपालको जलबिद्युतका क्षेत्रमा मात्र होइन अन्य लगानीका क्षेत्रमा पनि पर्नेछ । नेपालको आर्थिक विकासमा यसले दूरगामी सकारात्मक प्रभाव पार्नेछ ।’ उपाध्यक्ष हाउरोले जलबिद्युतका साथै नेपालमा ठूला पूर्वाधारका क्षेत्रमा विश्व बैंकले लगानी गर्ने आश्वासन दिए ।
विश्व बैंकको बार्षिक बैठकलाई सम्बोधन गर्दै अर्थमन्त्री डा महतले शान्ति कायम भैरहेका मुलुकहरु र द्वन्द्वोत्तर समस्यामा रहेका नेपालजस्ता मुलुकहरुलाई सहयोग गर्ने विश्व बैंकको शैलीमा स्पष्टरुपमा फरकपन आउनुपर्नेमा जोड दिए ।  नेपालले आगामी सन २०२२ सम्ममा विकासशील मुलुकको दाँजोमा पुग्ने दृष्टिकोण अघि सारेको चर्चा गर्दै अर्थमन्त्री डा महतले आवश्यक सहयोग गर्न विश्व बैंकसमक्ष आग्रह गरे ।

अभिलेख

लोकप्रिय