८ अर्बको लागतमा ‘शेराटन काठमाडौं होटल’ बन्ने
यस्तो छ, होटलको बिशेषता
काठमाडौं, २४ असोज । एमआईटी ग्रुप होल्डिङसको लगानीमा काठमाडांैमा पाँचतार होटल ‘शेराटन काठमाडौं होटल’ बन्ने भएको छ । सो होटलको गैरआवासीय नेपाली दिवसका अबसरमा आगामी अक्टुवर ११ तारिखमा प्रधानमन्त्री सुशील कोइरालाले शिलन्यास गर्नेछन् ।
करिव ८ अर्ब रुपैयाँको लागतमा निर्माण हुन लागेको होटलमा सत प्रतिशत बैदेशिक (अष्ट्रेलियन) लगानी रहने छ । होटलको प्रर्बद्धक अष्ट्रेलियाको एमआईटी ग्रुप होल्डिङस रहेको छ भने ब्यबस्थापन तथा संचालन सिंगापुरको स्टारवुड ग्रुपले गर्ने छ ।
काठमाण्डौको मुख्य केन्द्र कान्तिपथस्थित केशरमहलसँगै रहेको करिव १४ रोपनी क्षेत्रफलमा होटल निर्माण हुने छ । १७ तलाको होटलमा दुई तला पार्किङ, बेसमेन्ट, लवीसहित १३ वटा तलामा गेष्टरुम हुने जनाएको छ ।
हाल होटलको डिजाइन र नक्सा पास भइसकेको छ भने शिलन्यास लगत्तै निर्माण कार्य सुरु हुने छ । सन् २०१७ को अन्त्यसम्ममा निर्माण सम्पन्न गरी सन् २०१८ फेब्रुअरी महिनाबाट होटल संचालन गर्ने लक्ष्य लिइएको छ ।
अन्तराष्ट्रिय स्तरको प्रतिष्ठित शेराटन होटल नेपाल आउनु मुलुकको पर्यटन उद्योग र समग्र आर्थिक बिकाशमा समेत महत्वपूर्ण उपलब्धि हो । मुलुकको सेवा क्षेत्रमा आएको सवैभन्दा ठूलो प्रत्यक्ष बैदेशिक लगानी भएकाले नेपालको पर्यटन उद्योगको बिकाशमा दूरगामी प्रभाव पार्ने हाम्रो बिश्वास छ । यसले नेपालमा प्रत्यक्ष बैदेशिक लगानीमा ठूला परियोजना सुरु गर्न प्रोत्साहन मिल्ने छ भने शेराटनजस्तै अन्तराष्ट्रिय चेन होटललाई नेपाल आउन हौसला मिल्ने छ ।
बिश्वकै अग्रणी होटल म्यानेजमेन्ट कम्पनी ‘स्टारवुड होटल र एण्ड रिसोर्ट वल्डवाइड इंक’ले संचालन गर्ने बिभिन्न होटल ब्राण्डमध्ये शेराटन पनि एक हो । शेराटन ब्राण्डमा बिश्वका करिव ७० मुलुकमा ४ सय होटल संचालन भइरहेका छन् ।
पाँचतारे लक्जरी होटल शेराटन काठमाडौंमा २१८ वटा गेष्टरुम र सुइट रहने छन् । हेल्थ क्लव, स्पा, वातानुकुलित स्वीमिङ पुल र फिटनेस सेन्टरसहितका सुबिधा उपलब्ध हुनेछन् । होटलभित्रै रिटेल सपिङ सुबिधा हुने छ भने स्थानीय र अन्तरराष्ट्रिय स्वादका खानाको आनन्द लिन सकिने छ ।
बिबाह तथा सभा समारोहका लागि करिव एक हजार सिट क्षमताको सभाकक्ष हुने छ जुन काठमाडौंमा हालसम्म उपलब्धमध्ये सवैभन्दा ठूलो हुने छ । यसबाहेक थप दुईवटा सभाकक्ष, तीनवटा मिटिङ रुम र बोर्ड रुम पनि रहनेछन् ।
भवनको निर्माण आधुनिक ‘पोष्ट टेन्सन्ड कंक्रिट’ बिधिमार्फत् गरिने छ, जुन काठमाण्डौमा पहिलोपटक प्रयोग गर्न लागिएको हो । यसले भवनलाई बलियो र सुरक्षित बनाउने छ ।
होटल निर्माणका क्रममा करिव ५० हजारले प्रत्यक्ष रोजगारी पाउने छन् भने होटल संचालनपछि ४५० जना दक्ष जनशक्तिले रोजगारी पाउने छन् ।
एमआईटी ग्रुप होल्डिङ
गैरआवासीय नेपाली शेष घले र जमुना गुरुङद्वारा प्रर्बद्धित अष्ट्रेलियाको मेलवर्नमा मुख्यालय रहेको ‘एमआईटी ग्रुप होल्डिङ्स’ले शिक्षा र रियलस्टेट क्षेत्रमा काम गरिरहेको छ । एमआईटीको लगानीमा मेलवर्न र सिड्नीमा ‘मेलवर्न इन्टिच्यूट अफ टेक्नोलोजी’ कलेज संचालन गरिरहेको छ जहाँ करिव ३ हजारभन्दा धेरै अन्तराष्ट्रिय बिद्यार्थी अध्ययनरत छन् ।
एमआईटी ग्रुपले पोपर्टी म्यानेजमेन्टको काम पनि गरिरहेको छ । एमआईटीसँग मेलवर्न र सिड्नीका मुख्य स्थानमा रहेका बिभिन्न ब्यबसायिक भवनहरुको स्वामित्व छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार

