२० कात्तिक २०८३, शुक्रबार

सर्वोच्चको आदेश पालना गर्न अध्यक्ष पाण्डेको आग्रह

२०७१ भदौ २८, शनिवार
सर्वोच्चको आदेश पालना गर्न अध्यक्ष पाण्डेको आग्रह

काठमाडौँ, २८ भदौ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष प्रदीपजङ्ग पाण्डेले आफूविरुद्धका अनर्गल प्रचारको खण्डन गर्दै सर्वोच्च अदालतको आदेशको पालना गर्न सम्बद्ध सबै पक्षलाई आग्रह गर्नुभएको छ ।
महासङ्घको शुक्रबार धुलिखेलमा सम्पन्न चौथो कार्यकारिणी समितिको बैठकले गरेका निर्णयहरुबारे जानकारी दिन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले केही सञ्चारमाध्यमले आफ्नो योग्यतालगायत व्यक्तिगत विषयमा लाञ्छनायुक्त विवरण प्रकाशित गरेकामा आपत्ति जनाउनुभयो ।
उहाँले भन्नुभयो, “अध्यक्षलगायत कार्यसमितिका सदस्यको योग्यताको प्रश्न उठेमा त्यसको निकास विधानअनुसार हुने र सर्वोच्च अदालतबाट पनि सोही आशयको निर्णय भएकाले न्यायको सर्वोच्चता मान्न सम्बद्ध सबैलाई आग्रह गर्छु ।”
बैठकले पूर्वअध्यक्ष चण्डिराज ढकाललाई विशिष्ट सदस्यमा, अञ्जन श्रेष्ठ र कृष्णप्रसाद शर्मालाई कार्यसमिति सदस्यमा मनोनयन गरिएको जानकारी दिनुभयो ।
महासङ्घले अनुशासन समिति गठन गरी त्यसको सभापतिमा पूर्व अध्यक्ष रविभक्त श्रेष्ठलाई मनोनयन गरेको जानकारी पनि दिनुभयो ।
महासङ्घले बढ्दै गएको विद्युत्भार कटौतीबाट उद्योग व्यवसायमा गम्भीर असर परेकाले बिजुली उत्पादनका साथै विद्युत् प्रसारण लाइन निर्माणमा प्राथमिकताका साथ अघि बढ्न सरकारलाई अनुरोध गरेको छ ।
सो कार्यमा निजी क्षेत्रका तर्फबाट महासङ्घले सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ ।
यसैगरी महासङ्घले श्रमसम्बन्धी ऐन, औद्योगिक व्यवसाय ऐन, विशेष आर्थिक क्षेत्र ऐन, सार्वजनिक खरिद ऐनलगायत उद्योग व्यवसायसँग सम्बन्धित ३३ वटा ऐन तर्जुमा एवम् संशोधन गर्न सरकारसँग आग्रह गरेको छ ।
यस्तै महासङ्घले नेपाल राष्ट्रिय बैंकले बैंक तथा वित्तीय संस्थाका सञ्चालकहरुले आफू सम्बद्ध बैंक तथा वित्तीय संस्थाहरुबाट ऋण लिन नपाउने नीति अवलम्बन गरेकामा त्यसको पुनरावलोकन गर्न राष्ट्र बैंक तथा सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ ।
महासङ्घले शिक्षा, स्वास्थ्य, खेलकुद क्षेत्रका साथै प्राकृतिक प्रकोपमा परेकाहरुलाई सहयोग गर्ने उद्देश्यले सामाजिक कोष स्थापना र उद्योग क्षेत्रको प्रवद्र्धन गर्न योगदान गर्ने सञ्चारकर्मीहरुलाई सम्मान गर्न पत्रकार पुरस्कार कोष पनि स्थापना गरेको छ ।

अभिलेख

लोकप्रिय