२० कात्तिक २०८३, शुक्रबार

भैँसी पालेर छोरालाई ओभरसियर

२०७१ भदौ २७, शुक्रबार
भैँसी पालेर छोरालाई ओभरसियर

गौशाला, २७ भदौ । महोत्तरीको एकरहिया गाविसकी एक महिलाले भैँसीपालन गरी आएको आर्जनबाट आफ्नो छोरालाई ओभरसियर बनाउन सफल भएकी छिन् ।
एकरहिया गाविस–७ अतराढ बस्ने छठियादेवी मण्डलले छोरा ज्ञानी मण्डललाई जनकपुरधामको एक क्याम्पसबाट ओभरसियर बनाउन सफल भएकी हुन् ।
गरिबी, अशिक्षा र अज्ञानताले जरो गाडेको छठियाको परिवारमा २०६७ सालमा जिल्ला विकास समिति महोत्तरीबाट गरिबी निवारण कोषले ज्ञान, सीप र आर्थिक सहयोगसहित मद्दत गरेपछि उनी आज एउटा भैँसी पालेर आफ्नो छोरालाई ओभरसियर बनाउन सफल भएकी छिन् ।
पहिलापहिला हातमुख जोड्नसमेत समस्या हुने गरेको छठियाको परिवारमा अहिले शिक्षा, दीक्षा र विकासका कुराहरू हुने गरेको स्थानीय बासिन्दा बताउँछन् ।
गरिबी निवारण कोषको घुम्ती कोषबाट ऋण पाएर भैँसी पालन सुरु गरेकी छठिया अहिले गाउँलेले ओभरसियरकी आमा भन्दा निकै खुसी हुने गरेको बताउँछिन् ।
पाँच वर्षअघि शुभ सामुदायिक संस्था एकरहिया–७ अतराढमा आबद्ध भएर गरिबी निवारण कोषको रु ४० हजार ऋण लिएर भैँसीपालनको काम सुरु गरेकी छठिया अहिले पनि सोही समूहमा आबद्ध छिन् ।
छठियाले नियमित रुपमा समूहको ब्याज बुझाउने, ऋण चुक्ता गर्ने र राम्रो बचत गर्नसमेत सफल भएकी स्थानीय सामाजिक परिचालक भगवती भण्डारीले बताउनुभयो ।
छठियाको प्रगति देखेर अहिले सो समूहमा आबद्ध अन्य २९ जना महिला पनि आ–आफ्ना बालबालिकालाई नियमित शिक्षा दिन अग्रसर भएका छन् ।

अभिलेख

लोकप्रिय