२० कात्तिक २०८३, शुक्रबार

आर्थिक विकासका लागि प्राकृतिक सम्पत्तिभन्दा पनि मानबीय खुबी महत्वपूर्ण

२०७१ भदौ २७, शुक्रबार
आर्थिक विकासका लागि प्राकृतिक सम्पत्तिभन्दा पनि मानबीय खुबी महत्वपूर्ण

चितवन २७ भदौ ।अर्थमन्त्री डा रामशरण महतले प्राकृतिक सम्पदाले भन्दा पनि उच्चस्तरको मानबीय खुबीले गर्दा देश धनी र सम्पन्नशाली हुने बिचार व्यक्त गर्नुभएको छ।चितवनमा आयोजित नेपाल राष्ट्रिय मारवाडी युवा संगठनको प्रथम राष्ट्रिय सम्मेलनको उद्घाटनका क्रममा उहाँले सो बिचार व्यक्त गर्नुभएको हो।
कार्यक्रमका प्रमुख अतिथि अर्थमन्त्री डा महतले कार्यक्रममा भन्नुभयो, अहिलेको समयमा सबैभन्दा महत्वपूर्ण पक्ष जनशक्ति हो। जनशक्तिमा पनि महत्वपूर्ण भनेको ब्रेनपावर हो।यही ब्रेन पावरका कारण प्राकृतिक सम्पदा नभएपनि जापानको विकास भएको हो। सिंगापुर लगायत पूर्वी एसियाली देशको विकास भएको हो।
नेपाल प्राकृतिक सम्पदाले धनी भएपनि ब्रेन पावरको सदुपयोग नगर्दा पछि परेको अर्थमन्त्रीको भनाई थियो।जनशक्तिको विकास हुनुपर्नेमा जोड दिदै उहाँले भन्नुभयो, सिर्जनाशिलता, आविस्कार र मेहनतबाट मात्र मुलुक माथि उठ्न सक्छ।उहाँले मानवीय शक्तिको सिर्जनशिलता, नयाँ नयाँ आविस्कार र सिर्जनशिलताका लागि प्रोत्साहन गर्न चालु आर्थिक बर्षको बजेटमार्फत त्यस्तो क्षमता भएका उद्यमशील व्यक्तिहरुलाई उद्योग तथा व्यवसाय स्थापनाका लागि शुरु पुँजी उपलब्ध गराउने घोषणा गरिएको स्पष्ट पार्नुभयो।
अव नेपाल शान्तिको मार्गमा अगाडि बढिसकेको उल्लेख गर्दै उहाँले मारवाडी समुदायलाई नेपालमा पैसा खन्याउन आग्रह गर्नुभयो।उहाँको भनाई थियो, तपाईहरुको पैसाको सुरक्षा हुनेछ । निर्धक्क भएर लगानी गर्नुहोस । यो समुदायमा उद्यमशिलता छ।पैसाभन्दा पनि ठूलो कुरा उद्यमशिलता हो।नयाँ नयाँ आविस्कार गरी युवा जनशक्तिले स्वदेशमै लगानी बढाउने हो भने मुलुकले छिटै फड्को मार्न सक्छ । औद्योगिकीकरण हुन सक्छ।
नब्बेको दशकमा कांग्रेसको सरकारले लाइसेन्सराजको समाप्त गरी निजी लगानीलाई प्रोत्साहित गरेको स्मरण गराउँदै उहाँले भन्नुभयो, फेरि संयोगले कांग्रेसको नेतृत्वमा सरकार बनेको छ । सरकारले नयाँ आर्थिक सुधार कार्यक्रम शुरु गरेको छ।बजारमुखी अर्थतन्त्र अझ अगाडि बढ्नेछ।निजीक्षेत्रलाई काम गर्न अप्ठेरा सबै कानूनहरुलाई सुधार थालिसकिएको छ । मुलुकमा आर्थिक गतिबिधिहरुको बिस्तार अझ व्यापक बन्दैछ।
उहाँले खुला र बजारमुखी नीतिलाई कसैले रोक्न नसक्ने बिचार पनि व्यक्त गर्नुभयो । अर्थमन्त्री डा महतले जलस्रोत, कृषि, पर्यटन, जडिबुटी लगायका प्राकृतिक सम्पदाहरु नेपालमा रहेकोले सही ब्रेनपावर र प्राकृतिक स्रोतको प्रयोगले नेपाल आगामी दिनमा छिटै नै द्रुत आर्थिक विकासको मार्गमा अगाडि बढ्ने आशा पनि व्यक्त गर्नुभयो।
सो अवसरमा उहाँले चितवन जिल्ला र मारवाडी समुदायको तीव्र प्रगतिको बारेमा चर्चा गर्नुभएको थियो । त्यसैगरी कार्यक्रममा अर्थमन्त्री डा महतले मारवाडी समुदायलाई चिनाउनेगरी तयार पारेको स्मारिकाको बिमोचन पनि गर्नुभएको थियो । संगठनका अध्यक्ष सन्दीप अग्रवालको सभापतित्वमा सम्पन्न अधिवेशनमा नेपालका मारवाडी युवाहरुका अतिरिक्त अखिल भारत मारवाडी समितिका पदाधिकारहरुको पनि सहभागिता रहेको छ।

अभिलेख

लोकप्रिय