२० कात्तिक २०८३, शुक्रबार

‘सहकारीलाई नियन्त्रण होइन, नियमन जरुरी’

२०७१ भदौ २६, बिहिबार
‘सहकारीलाई नियन्त्रण होइन, नियमन जरुरी’

वीरगन्ज, २६ भदौ । मुलुकको अर्थतन्त्रको प्रमुख आधारस्तम्भका रूपमा रहेको सहकारी संस्थाहरूमाथि नियन्त्रण नभई नियमन जरुरी रहेकोमा सरोकारवालाहरूले जोड दिएका छन् ।
कस्तुरी बचत तथा ऋण सहकारी संस्था वीरगन्जको बहिबार आयोजित दोस्रो वार्षिक साधारणसभामा बोल्दै उनीहरूले भने सहकारी क्षेत्रमा भइरहेको तीव्र विकासलाई सही र पारदर्शी रूपमा व्यवस्थापन गरी नेपालको गरिबी निवारण तथा आर्थिक समृद्धिमा सहकारी संस्थालाई सही रूपमा परिचालन गर्न ठोस र प्रभावकारी पहल हुनु अत्यन्त जरुरी भएको छ ।
सरकार, राष्ट्रिय सहकारी सङ्घलगायत यससँग सम्बन्धित सम्पूर्ण सहकारी सङ्घसंस्था र निकायले एकीकृत र समन्वयात्मक ढङ्गबाट काम गर्न सकेमा सहकारी क्षेत्र नेपालको आर्थिक समृद्धिको मुख्य मेरुदण्ड बन्नेमा कुनै शङ्का छैन भन्ने उनीहरूको भनाइ थियो ।
सो अवसरमा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य एवम् मध्यमाञ्चल संयोजक शीतलप्रसाद महतोले मुलुकको आर्थिक तथा सामाजिक क्षेत्रको विकासमा सहकारीले निर्वाह गर्न सक्ने महत्वपूर्ण भूमिकालाई दृष्टिगत गरेर अन्तरिम संविधान, २०६३ मा अर्थतन्त्रको तीन खम्बाका रूपमा सहकारीलाई व्याख्या गरिसकेको उल्लेख गर्दै स–साना लगानीमा सीमित रहेको सहकारितालाई नेपाली अर्थतन्त्रको प्रमुख आधारस्तम्भका रूपमा रहेको कृषि, जलस्रोत, पर्यटन, शिक्षा र स्वास्थ्य क्षेत्रलगायतका विभिन्न ठूलाठूला परियोजनामा पुर्याउनुपर्ने अहिलेको आवश्यकता रहेको  बताए ।
केन्द्रीय सदस्य महतोले सङ्ख्यात्मक रूपमा सहकारीले उल्लेखनीय प्रगति गरेको देखिए पनि गुणात्मक रूपमा त्यसअनुरूपको प्रगति गर्न सकेको छैन भन्दै विगत केही वर्षयतादेखि सशक्त कानुनको अभावमा आम नेपाली नागरिकले निक्षेप गरेको रकम लिएर सहकारी सञ्चालक रातारात भागेका थुप्रै उदाहरण हामीसमक्ष छन्, त्यसैले सहकारी क्षेत्रले गुमाएको त्यो विश्वासलाई कायम गर्नुपर्ने चुनौती अहिले सहकारीकर्मीहरूको का“धमा आएको  बताए ।
नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य विजय कुशवाहा र नेपाल पत्रकार महासङ्घका पूर्व जिल्ला अध्यक्ष एवम् सल्लाहकार अशोक तिवारीले सहकारी क्षेत्रको माध्यमबाट नै छरिएर रहेका आम नेपाली नागरिकका पुँजी, श्रम, सीप र प्रविधिको उपयोग तथा उद्यमशीलताको उचित ढङ्गले विकास र विस्तार गरी मुलुकलाई आर्थिक रूपान्तरणको बाटोमा डोर्याउन सकिने बताउ“दै उचित र प्रभावकारी नियमन संयन्त्र तथा पर्याप्त कानुनी व्यवस्था नहु“दा पछिल्ला दिनमा सहकारी संस्थाहरू वित्तीय विकृतिका कारक तत्वका रूपमा अगाडि बढ्दै गएकाले यस्तो गलत प्रवृतिलाई निरुत्साहित गर्नुपर्ने विचार व्यक्त गरे ।
डिभिजन सहकारी कार्यालय पर्साका प्रमुख राजुप्रसाद साहले सहकारीको मूल्य, मान्यता र सिद्धान्त विपरीत संस्था चल्नुलाई कुनै पनि हालतमा राम्रो मान्न नसकिने बताए । बचत तथा ऋण सहकारी सङ्घका जिल्ला उपाध्यक्ष अलिअस्कर अन्सारीले सहकारी संस्थाको दर्तामा जोड दिने तर त्यसको निगरानीमा चासो नलिने प्रवृत्तिको कारण नै समग्र सहकारी क्षेत्र अहिले विकृत भएको जस्तो देखिन्छ भन्दै मुलुकको आर्थिक विकासका लागि सहकारीका उपयोगिता र प्रभावकारिताका बारेमा राज्यले बढीभन्दा बढी जनचेतना जगाउनुपर्ने बताए ।

अभिलेख

लोकप्रिय