२० कात्तिक २०८३, शुक्रबार

भारतसँग पिटिए वार्ता सुरु

२०७१ भदौ १८, बुधबार
भारतसँग पिटिए वार्ता सुरु

काठमाडौं, १८ भदौ । भारतसँग गर्न लागिएको विद्युत् व्यापार सम्झौता (पिटिए) को विषयमा भारतको राजधानी नयाँ दिल्लीमा द्विपक्षीय वार्ता सुरु भएको छ ।
वार्तामा नेपालका तर्फबाट ऊर्जा सचिव राजेन्द्रकिशोर क्षेत्रीको टोली सहभागी भएको छ भने भारतका सरकारका तर्फबाट ऊर्जा सचिव पिके सिन्हालगायतको टोली सहभागी रहेको छ । वार्ताका लागि ऊर्जा सचिव क्षेत्री नेतृत्वको प्रतिनिधिमण्डल आजै त्यसतर्फ प्रस्थान गरेको थियो ।
भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीको गत साउनमा सम्पन्न नेपाल भ्रमणको क्रममा ४५ दिनभित्र पिटिए गर्ने सहमति भएको थियो । सोही सहमतिअनुसार वार्ताका लागि क्षेत्री नेतृत्वको प्रतिनिधिमण्डलले वार्ता सुरु गरेको हो ।
वार्ता दुई दिन चल्ने र सहमतिका आधारमा सम्झौता हुने जनाइएको छ । नेपाल सरकारका तर्फबाट प्रस्तुत गरिएको सम्झौताको मस्यौदामा सहमति जनाएको भारतले यसपटक दुवै मुलुकको हितलाई केन्द्रमा राखेर सो सम्झौता गर्ने विश्वास लिइएको छ ।
नेपाली प्रतिनिधिमण्डलमा ऊर्जा मन्त्रालयका सहसचिव केशवध्वज अधिकारी र मन्त्रालयकै सविना खर्बुजा, नेपाल विद्युत् प्राधिकरणका निमित्त कार्यकारी प्रमुख रामचन्द्र पाण्डे, उपकार्यकारी निर्देशक शेरसिंह भाट, परराष्ट्र र कानुन मन्त्रालयका एक÷एक जना उच्च अधिकारी र भारतका लागि नेपालका कार्यवाहक राजदूत सहभागी रहेका छन् ।
प्रमुख तीन राजनीतिक दलका नेता सदस्य रहेको कार्यदलले तयार पारेको मस्यौदाका आधारमा सो सम्झौता गर्न लागिएको हो । भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणको क्रममा नै सो सम्झौता गर्ने भनिए पनि आवश्यक तयारी पूरा नभएका कारण सम्भव भएको थिएन ।
मुलुकभित्र उत्पादन हुने विद्युत् बजार मूल्यका आधारमा भारतलाई बेच्नका लागि उक्त सम्झौता गर्नुपर्ने आवश्यकता महसुस गरिए पनि हुन सकेको थिएन ।

अभिलेख

लोकप्रिय