१२ मंसिर २०८३, शनिवार

नवकान्तिपुर साकोसमा संस्थागत सुशासन र नियामकीय मापदण्ड पालनासम्बन्धी अभिमुखीकरण

२०८३ मंसिर १२, शनिवार
नवकान्तिपुर साकोसमा संस्थागत सुशासन र नियामकीय मापदण्ड पालनासम्बन्धी अभिमुखीकरण

काठमाडौं : नवकान्तिपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजना तथा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) को प्राविधिक सहयोगमा एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

संस्थागत सुशासन अभिवृद्धि तथा नियामकीय मापदण्डको प्रभावकारी परिपालना गर्ने उद्देश्यले मंसिर ११ गते शुक्रबार कार्यक्रम आयोजना गरिएको हो ।

संस्थाकी अध्यक्ष सविना ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेफ्स्कुनका अध्यक्ष चन्द्रप्रसाद ढकालको विशेष आतिथ्यता थियो । कार्यक्रममा बोल्दै ढकालले सहकारी अभियानको सान्दर्भिकता कायम राख्न संस्थाको जिम्मेवारीमा रहेका व्यक्तिहरूले सदस्य केन्द्रीयता र सदस्य हितलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो । उहाँले यसका लागि आवश्यक नीति निर्माण र त्यसको प्रभावकारी कार्यान्वयनमा विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नेफ्स्कुनका प्रशिक्षक सन्दीपराज ढकालले सहकारी संस्थाका सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, व्यवस्थापक तथा ऋण, शिक्षा लगायतका उपसमितिहरूको भूमिका र जिम्मेवारीका विषयमा प्रशिक्षण दिनुभयो । उहाँले नियामकीय मापदण्डको पालना गर्न संस्थाले अपनाउनुपर्ने प्रक्रिया र पद्धतिबारे समेत स्पष्ट पार्नुभयो ।

प्रशिक्षणका क्रममा सहभागीहरूले प्रचलित सहकारी कानुनका प्रावधान, तिनको व्यावहारिक कार्यान्वयनमा देखिने चुनौती र समाधानका उपायबारे जिज्ञासा राख्नुभएको थियो ।

कार्यक्रममा संस्थाका सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, ऋण उपसमिति, शिक्षा उपसमिति, सदस्य कल्याणकारी उपसमिति तथा व्यवस्थापकको सक्रिय सहभागिता रहेको थियो ।

कार्यक्रमको समापन गर्दै संस्थाकी अध्यक्ष सविना ढकालले प्रशिक्षणबाट प्राप्त ज्ञानले संस्थाको कार्यसम्पादनलाई थप पारदर्शी, व्यवस्थित र सदस्यमैत्री बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

अभिलेख

लोकप्रिय