११ मंसिर २०८३, शुक्रबार

सदस्यका उत्पादनलाई डिजिटल बजारमा जोड्दै सेवा शुभारम्भ, आई स्मार्टमा ‘डिजिटल हाटबजार’

२०८३ मंसिर ११, शुक्रबार
सदस्यका उत्पादनलाई डिजिटल बजारमा जोड्दै सेवा शुभारम्भ, आई स्मार्टमा ‘डिजिटल हाटबजार’

काठमाडौं : निजगढ न.पा.९, बारा स्थित सेवा शुभारम्भ बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्ना सदस्यहरूको उत्पादन, सीप तथा उद्यमशीलताको प्रवर्द्धन र बजार पहुँच विस्तार गर्ने उद्देश्यले मोबाइल बैंकिङ एपमार्फत ‘डिजिटल हाटबजार’ सेवा सञ्चालनमा ल्याएको छ।

देवन सफ्ट प्रा.लि. (आई स्मार्ट) द्वारा विकसित डिजिटल बैंकिङ प्लेटफर्ममा समावेश गरिएको यस सेवाले सहकारीका सदस्यहरूलाई आफ्ना वस्तु तथा सेवाहरू डिजिटल माध्यमबाट प्रस्तुत गर्ने, प्रचारप्रसार गर्ने र सम्भावित ग्राहकहरूसँग प्रत्यक्ष सम्पर्क स्थापित गर्ने अवसर प्रदान गर्नेछ।

सहकारीको सेवालाई बचत तथा ऋण कारोबारमा मात्र सीमित नराखी सदस्यहरूको उत्पादनमूलक गतिविधि, व्यावसायिक क्षमता र आर्थिक आत्मनिर्भरता अभिवृद्धिमा समेत योगदान पुर्‍याउने उद्देश्यले सेवा सुरू गरिएको संस्थाका व्यवस्थापक बिबेक कुमार ठाकुरले बताउनुभयो ।  संस्थाको मंसिर ५ गते सम्पन्न १६ औँ वार्षिक साधारणबाट ‘डिजिटल हाटबजार’ सेवा सुरु गरेको हो ।

मोबाइल एपबाटै उत्पादनको बजारीकरण
डिजिटल हाटबजारमार्फत सदस्यहरूले आफ्ना उत्पादन तथा सेवाको नाम, फोटो, मूल्य, विवरण र सम्पर्क जानकारी मोबाइल एपमा राख्न सक्नेछन्। यसरी सूचीकृत उत्पादनहरू अन्य सदस्य तथा सम्भावित ग्राहकहरूले अवलोकन गर्न सक्नेछन् भने आवश्यकताअनुसार उत्पादकसँग प्रत्यक्ष सम्पर्क गरी व्यावसायिक कारोबार अघि बढाउन सक्ने आईस्मार्टका प्रमुख कार्यकारी अधिकृत विष्णु महर्जनले बताउनुभयो।

कृषिजन्य उपज, घरेलु उत्पादन, अचार, दुग्धजन्य पदार्थ, कपडा, हस्तकला तथा अन्य स्थानीय उत्पादनलाई डिजिटल माध्यमबाट बजारमा प्रस्तुत गर्न सकिने भएकाले विशेषगरी महिला उद्यमी, घरेलु उत्पादक तथा साना व्यवसायी सदस्यहरूका लागि यो सेवा उपयोगी हुने अपेक्षा आईस्मार्टको छ।

सदस्यको सीप र उत्पादनलाई बजारसँग जोड्ने माध्यम
धेरै सदस्यसँग उत्पादन गर्ने सीप, ज्ञान र क्षमता भए पनि उपयुक्त बजार तथा ग्राहकसम्म पुग्न कठिनाइ हुने गरेको छ। डिजिटल हाटबजारले यही चुनौतीलाई सम्बोधन गर्दै सदस्यका उत्पादनलाई डिजिटल माध्यमबाट सम्भावित ग्राहकसम्म पुर्‍याउने साझा प्लेटफर्मको भूमिका निर्वाह गर्नेछ।

यसले सदस्यहरूबीच व्यावसायिक सहकार्य, स्थानीय उत्पादनको प्रवर्द्धन, बजार विस्तार तथा समुदायमा आधारित उद्यमशीलतालाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ।

एउटै डिजिटल प्लेटफर्ममा वित्तीय तथा व्यावसायिक सेवा
आई स्मार्ट मोबाइल बैंकिङ एपले वित्तीय कारोबारलाई सहज बनाउनुका साथै सदस्यहरूको दैनिक आवश्यकतासँग सम्बन्धित विभिन्न डिजिटल सेवाहरू पनि उपलब्ध गराउँदै आएको छ।

यस एपमार्फत बैंक खातामा रकम स्थानान्तरण, वालेट लोड, क्यूआर भुक्तानी, उपयोगिता महसुल भुक्तानी, रेमिट्यान्स, बीमासम्बन्धी सेवा, बस तथा हवाई टिकट बुकिङलगायतका सेवाहरू उपयोग गर्न सकिन्छ।

डिजिटल हाटबजारको थप सुविधाले वित्तीय सेवासँगै सदस्यको व्यवसाय तथा उत्पादनलाई समेत एउटै डिजिटल इकोसिस्टममा समेट्ने अवधारणालाई अघि बढाएको छ।

देवन सफ्टको प्रविधि, सहकारीको सदस्यकेन्द्रित अभियान
देवन सफ्टले आई स्मार्टमार्फत सहकारी क्षेत्रको डिजिटल रूपान्तरणमा प्रविधिगत सहकार्य गर्दै आएको छ। वित्तीय कारोबार तथा डिजिटल भुक्तानीलाई सहज बनाउने सेवासँगै सदस्यहरूको व्यावसायिक गतिविधि र उद्यमशीलतालाई प्रविधिसँग जोड्ने उद्देश्यले डिजिटल हाटबजार सेवा विकास तथा विस्तार गरिएको प्रमुख कार्यकारी अधिकृत महर्जनले बताउनुभयो।

यसले सहकारीलाई वित्तीय सेवा प्रवाह गर्ने संस्थाका रूपमा मात्र नभई सदस्यहरूको उत्पादन, व्यवसाय र आर्थिक विकासमा सहजीकरण गर्ने संस्थाका रूपमा स्थापित गर्न सहयोग पुर्‍याउने विश्वास गरिएको छ।

सहकारीको डिजिटल रूपान्तरणमा सदस्यकेन्द्रित नयाँ अभ्यास
सहकारी क्षेत्रको दिगो विकासका लागि वित्तीय सेवाको आधुनिकीकरणसँगै सदस्यको आर्थिक तथा व्यावसायिक सशक्तीकरण पनि उत्तिकै महत्वपूर्ण छ। यस सन्दर्भमा डिजिटल हाटबजार सदस्यको उत्पादनलाई बजारसँग जोड्ने र सहकारीको सेवालाई थप उत्पादनमूलक बनाउने महत्वपूर्ण अभ्यासका रूपमा लिन सकिन्छ।

सेवा शुभारम्भ सहकारी र देवन सफ्ट (आई स्मार्ट) बीचको यस प्रविधिगत सहकार्यले सदस्यको सीप, उत्पादन र उद्यमशीलतालाई डिजिटल अवसरसँग जोड्दै स्थानीय अर्थतन्त्रको विकासमा समेत योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

अभिलेख

लोकप्रिय