ज्योति मिर्मिरे सामूहिक साकोसको २७औँ साधारण सभा सम्पन्न, ७०.०३% सदस्यको उपस्थिति
काठमाडौं : काभ्रेको पनौती नगरपालिका-६, नमोबुद्धरोडमा मुख्य कार्यालय रहेको ज्योति मिर्मिरे सामूहिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २७औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
काभ्रे जिल्लाका ११ स्थानीय तहमा ८ वटा सदस्य सेवाकेन्द्रमार्फत वित्तीय सेवा प्रदान गर्दै आएको संस्थाले कार्तिक २६ गतेदेखि विभिन्न ६ वटा एकाइ केन्द्रमा साधारण सभा सञ्चालन गरेको थियो । कार्तिक ३० गते मुख्य कार्यालयमा छनोट भएका एकाइ प्रतिनिधिहरूको उपस्थितिमा निर्णय प्रमाणीकरण सभा आयोजना गरी २७औँ वार्षिक साधारण सभा सम्पन्न गरिएको हो ।
संस्थाका अध्यक्ष उद्धव सापकोटाको अध्यक्षतामा सम्पन्न सभामा सञ्चालक समितिका तर्फबाट सचिव बुद्ध सिंह थापाले वार्षिक प्रगति प्रतिवेदन तथा आगामी नीति र कार्यक्रम प्रस्तुत गर्नुभएको थियो। त्यसैगरी, कोषाध्यक्ष पूर्णराम तुलाधरले आर्थिक प्रतिवेदन, वार्षिक बजेट तथा कार्यक्रम र लेखा सुपरिवेक्षण समितिका संयोजक भीमसेन के.सी.ले लेखा सुपरिवेक्षण प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।
साधारण सभामा प्रस्तुत प्रतिवेदनअनुसार संस्थामा २१ हजार ९९१ शेयर सदस्य र २ हजार ३६० बाल बचतकर्ता गरी कुल २४ हजार ३५१ जना आबद्ध रहेका छन् । आर्थिक वर्ष २०८२/०८३ को अन्त्यसम्ममा संस्थाको कुल शेयर पुँजी ११ करोड २७ लाख ७५ हजार ३०० रुपैयाँ पुगेको छ ।
त्यस्तै, संस्थाको कुल बचत निक्षेप १ अर्ब २१ करोड ४२ लाख ३७ हजार ३३६ रुपैयाँ ४९ पैसा र कुल ऋण लगानी १ अर्ब १२ करोड ३४ हजार ५१९ रुपैयाँ ४० पैसा रहेको प्रतिवेदनमा उल्लेख छ ।
राष्ट्रिय सहकारी नियमन प्राधिकरणबाट बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाका रूपमा सञ्चालन इजाजतपत्र प्राप्त गरिसकेको संस्थाले प्रविधिमैत्री वित्तीय सेवालाई समेत प्राथमिकता दिएको छ । संस्थाले M–FIN PLUS मोबाइल बैंकिङ, डिजिटल क्यूआर कोड, एसएमएस तथा ट्याब बैंकिङलगायत सेवा सञ्चालन गर्दै सदस्यलाई घरदैलोबाटै नगदरहित कारोबारको सुविधा उपलब्ध गराउँदै आएको छ ।
वित्तीय कारोबारसँगै सामाजिक उत्तरदायित्वलाई पनि प्राथमिकतामा राख्दै आएको संस्थाले ‘कोखदेखि शोकसम्म ज्योमिसा’ भन्ने नारालाई व्यवहारमा उतार्ने प्रयास गरेको छ । समीक्षा वर्षमा स्वास्थ्य उपचार राहत, सदस्य तथा एकाघर परिवार मृत्यु राहत, गर्भवती पोषण सहयोग, ज्येष्ठ नागरिक तथा अपाङ्ग सदस्य भत्ता, बालबालिकाको जन्मोत्सव र प्राकृतिक प्रकोप पीडित राहतलगायत ८ शीर्षकमा कुल ४० लाख ५२ हजार रुपैयाँ बराबरको सहयोग वितरण गरेको संस्थाले जनाएको छ ।
आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि संस्थाले विभिन्न योजना तथा कार्यक्रम अघि सारेको छ । कम्तीमा ६० प्रतिशत सदस्यलाई समेटेर ‘वित्तीय साक्षरता वर्ष’ मनाउने, युवा केन्द्रित स्टार्टअप तथा उद्यमशीलता प्रवर्द्धन गर्ने, विद्यालय तहसम्म नैतिक तथा सहकारी शिक्षा विस्तार गर्ने र संस्थाका सम्पूर्ण कारोबारलाई पूर्ण रूपमा डिजिटल प्लेटफर्ममा आबद्ध गर्ने योजना सभामा प्रस्तुत गरिएको छ ।
सभाले सञ्चालक समिति, कोषाध्यक्ष तथा लेखा सुपरिवेक्षण समितिबाट प्रस्तुत सम्पूर्ण प्रतिवेदन र प्रस्तावहरू सर्वसम्मत रूपमा पारित गरेको छ । संस्थाको २७औँ वार्षिक साधारण सभामा कुल सदस्य संख्याको ७०.०३ प्रतिशत उपस्थिति रहेको थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
ज्योति मिर्मिरे सामूहिक साकोसको २७औँ साधारण सभा सम्पन्न, ७०.०३% सदस्यको उपस्थिति
१ मंसिर २०८३, सोमबार
चन्द्रागिरि साकोसमा वरिष्ठ अधिकृतका लागि रोजगारीको अवसर
१ मंसिर २०८३, सोमबार
अवसरभन्दा उद्देश्य ठूलो ठाने, सहकारीमै बनाए पहिचान
१ मंसिर २०८३, सोमबार
