१ मंसिर २०८३, मङ्गलबार

चन्द्रागिरि साकोसमा वरिष्ठ अधिकृतका लागि रोजगारीको अवसर

२०८३ कात्तिक ३०, सोमबार
चन्द्रागिरि साकोसमा वरिष्ठ अधिकृतका लागि रोजगारीको अवसर

काठमाडौं : चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था लिमिटेडले एक जना वरिष्ठ अधिकृत माग गरेको छ । संस्थाले खुला प्रतिस्पर्धाद्वारा पदपूर्ति गर्ने गरी सातौँ तहको वरिष्ठ अधिकृत पदका लागि दरखास्त आह्वान गरेको हो ।

संस्थाले प्रकाशित गरेको कर्मचारी आवश्यकता सम्बन्धी सूचनाअनुसार व्यवस्थापन, वाणिज्य, वित्त तथा अर्थशास्त्र विषयमा स्नातकोत्तर उत्तीर्ण गरी सहकारी संघसंस्था, बैंक तथा वित्तीय संस्था वा विकास साझेदार निकायमा कम्तीमा तीन वर्ष काम गरेको अनुभव भएका नेपाली नागरिकले आवेदन दिन सक्नेछन् । आवेदन दिनका लागि २४ वर्ष पूरा भई ४० वर्ष ननाघेको हुनुपर्नेछ ।

यस पदका लागि व्यवस्थापन, वाणिज्य वा वित्त तथा अन्य संकायमा अर्थशास्त्र लिएर स्नातकोत्तर वा सोसरह उत्तीर्ण गरेको हुनुपर्नेछ । सहकारी संघसंस्था, बैंक तथा वित्तीय संस्था वा विकास साझेदार निकायमा अधिकृत तहमा काम गरेको अनुभव, कम्प्युटरसम्बन्धी एडभान्स अफिस प्याकेज तथा एकाउन्टिङ र सिबिएस सञ्चालनसम्बन्धी ज्ञान, लेखा व्यवस्थापन तथा गुणस्तर अडिटसम्बन्धी तालिम प्राप्त उम्मेदवारलाई प्राथमिकता दिइने संस्थाले जनाएको छ ।

त्यस्तै, संस्थाको दैनिक कारोबार विश्लेषण, विभाग तथा सेवाकेन्द्रको कार्यसम्पादन अनुगमन, वित्तीय लक्ष्य तथा कार्यक्रम कार्यान्वयनमा सहजीकरण, जोखिम व्यवस्थापन, आन्तरिक नियन्त्रण प्रणाली सुदृढीकरण तथा नियामकीय परिपालना र संस्थागत सुशासन प्रवर्द्धनमा सहयोग गर्नु वरिष्ठ अधिकृतको मुख्य जिम्मेवारी हुनेछ ।

उक्त पदमा नियुक्त हुने कर्मचारीले संस्थाको मुख्य कार्यालय चन्द्रागिरि नगरपालिका–७, चेकपोष्ट, काठमाडौंमा रहेर काम गर्नुपर्नेछ । छनोट प्रक्रिया लिखित परीक्षा, कम्प्युटरको प्रयोगात्मक परीक्षा र अन्तर्वार्तामार्फत पूरा गरिने संस्थाले जनाएको छ । कर्मचारीले संस्थाको नियमानुसार तलब, भत्ता, सामाजिक सुरक्षा कोषलगायतका सुविधा प्राप्त गर्नेछन् ।

इच्छुक तथा योग्य नेपाली नागरिकले सूचना प्रकाशित भएको मिति २०८३ कात्तिक ३० गतेदेखि १५ दिनभित्र आवश्यक शैक्षिक प्रमाणपत्र, कार्यअनुभवको प्रमाण, नागरिकता तथा राष्ट्रिय परिचयपत्रको प्रतिलिपि, हालसालै खिचेको फोटो र अद्यावधिक व्यक्तिगत विवरण (सीभी) सहित आवेदन दिन सक्नेछन् । आवेदन संस्थाको मुख्य कार्यालयमा प्रत्यक्ष उपस्थित भएर वा vacancy.chandragirisaccos@gmail.com मा इमेलमार्फत पठाउन सकिनेछ । आवेदनका लागि कुनै शुल्क लाग्ने छैन ।

२५ वर्षदेखि गुणस्तरीय सहकारी वित्तीय सेवा प्रदान गर्दै आएको चन्द्रागिरि साकोसले पछिल्लो समय अन्तर्राष्ट्रिय तथा राष्ट्रियस्तरका विभिन्न पुरस्कार र सम्मानसमेत प्राप्त गर्दै आएको छ । संस्थाले आईरिसको र विश्व ऋण परिषद्बाट अन्तर्राष्ट्रियस्तरको ‘डिजिटल ग्रोथ अवार्ड २०२६’, राष्ट्रिय सहकारी महासंघबाट ‘उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार २०८२’, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) बाट ‘अभियानको उत्कृष्ट व्यवस्थापक पुरस्कार २०८०’ तथा बागमती प्रदेश सहकारी संघबाट ‘उत्कृष्ट व्यवस्थापक सम्मान २०८२’ प्राप्त गरेको छ ।

अभिलेख

लोकप्रिय