अवसरभन्दा उद्देश्य ठूलो ठाने, सहकारीमै बनाए पहिचान
सुर्खेतको वीरेन्द्रनगरस्थित उत्तरगंंगामा जन्मिएका ईश्वर न्यौपानेको बाल्यकाल सामान्य रूपमा बित्यो । बुबा नेपाली सेनाबाट निवृत्त थिए । बुबा नै उनको जीवनका पहिलो गुरु थिए । घरको अनुशासन, सीमित स्रोत र आत्मनिर्भर बन्नुपर्ने बाध्यताले उनलाई प्रारम्भमै परिपक्व बनायो । उनी बुबालाई स्मरण गर्दै भन्छन्, ‘कठिन परिस्थितिमा पनि नहड्किने बानी मैले बुबाबाटै सिकेको हुँ ।’ आज पनि उनी आफ्नो निर्णयहरूमा त्यही संस्कारको प्रतिबिम्ब देख्छन् ।
गाउँको विद्यालयबाट सुरु भएको पढाइ क्रमशः काठमाडौंसम्म आइपुग्दा उनले व्यवस्थापन, शिक्षा र कानुन तीनै क्षेत्रलाई आत्मसात् गरे । बीबीएस, बीएड र एलएलबीको परीक्षा पास गरेर उनी अधिवक्ता पनि बनेका छन् । तर, उनी औपचारिक शिक्षामै रोकिएनन् । तालिम, कार्यशाला र व्यावहारिक अभ्यासमार्फत उनले आफूलाई निरन्तर परिस्कृत गरे । उनी भन्छन्, ‘सिकाइ कहिल्यै अन्त्य हुँदैन, सिक्न छोडियो भने विकास रोकिन्छ ।’
शेयर सदस्यबाट सीईओ
सहकारी संस्था केवल वित्तीय संस्थामात्र नभई सदस्यहरूको जीवनस्तर सुधार गर्ने माध्यम पनि हो भन्ने विश्वास र बुझाइ ईश्वरमा थियो । सहकारी क्षेत्रमा प्रवेश गर्न उत्प्रेरणा पनि यही बुझाइले गर्यो।
सहकार्य, समानता, समता र आत्मनिर्भरताजस्ता सहकारीका मूल्यहरूले पनि आफूलाई प्रेरित गरेको उनी सुनाउँछन् । त्यसैले पनि उनले सहकारी क्षेत्रलाई आफ्नो करिअरको रूपमा रोजे । उनले वि.सं २०६४ सालमा शेयर सदस्यका रूपमा मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा प्रवेश गरे । शेयर सदस्य बनेको एक वर्षमै अर्थात् २०६५ सालमा उनी संस्थाको व्यवस्थापक बने ।

‘सुरुमा यो रोजगारीको विकल्प थियो, तर विस्तारै यो जीवनको उद्देश्य बन्यो । सहकारीले समाज बदल्न सक्छ भन्ने विश्वासले मलाई लाग्यो, त्यसपछि काम सुरु गरें,’ उनले भने । सहकारी एकताको बलमा आधारित हुने, शेयर सदस्यहरूसँग घुलमिल हुन पाइने, लोकतान्त्रिक नियन्त्रण, समानता, समता, पारदर्शिता, सहभागिता, स्वनियन्त्रण, सुशासनजस्ता विषयमा घुलमिल भई कार्य गर्न पाइने तथा समाजको आर्थिक तथा सामाजिक अवस्थालाई सुधार गर्न मौका मिल्ने भएकोले नै सहकारीलाई करिअर बनाउने निर्णय लिएको उनी बताउँछन् ।
सहकारीमा प्रवेश गर्दाका सुरुवाती दिनहरू सहज थिएनन् । म्यानुअल प्रणाली, सीमित स्रोत, कमजोर प्रविधि र सदस्यमा चेतनाको कमी । यी सबै चुनौतीहरू थिए । संस्थागत संंस्कृति निर्माण गर्न र पारदर्शिता स्थापित गर्न उनले निरन्तर संघर्ष गरे ।
उनी भन्छन्, ‘सबैभन्दा गाह्रो काम विश्वास जित्नु हो । तर, एक पटक जितेपछि त्यो नै सबैभन्दा ठूलो पुँजी बन्छ ।’
सदस्य केन्द्रित सोच, प्रजातान्त्रिक नेतृत्वशैली, पारदर्शिता र उत्तरदायित्व, सामूहिकताको प्रवद्र्धन, नैतिकता र इमान्दारिता, दिगो विकासमा ध्यान, नवप्रवर्तनको प्रोत्साहन, सदस्य सशक्तीकरण, जोखिम व्यवस्थापन, समुदायप्रतिको प्रतिबद्धतालगायत आफ्नो व्यवस्थापन नेतृत्वको दर्शन मान्छन् उनी ।
प्रमुख कार्यकारी अधिकृतको रूपमा न्यौपानेको नेतृत्व शैली स्पष्ट छ कि सदस्य केन्द्रित, पारदर्शी र सहभागितामूलक । उनका लागि नेतृत्व भनेको केवल निर्णय गर्नु होइन, सामूहिक निर्णयलाई मार्गदर्शन गर्नु हो ।
‘नेतृत्व भनेको अघि हिँड्नुमात्र होइन, सबैलाई सँगै हिँडाउनु हो,’ उनले भने । उनले टिम निर्माणमा खुला संवाद, क्षमता विकास र प्रेरणालाई प्राथमिकता दिएका छन् ।
‘शान्त र दृढ अर्थात् संयमित नेतृत्व लिनुर्पछ, छिटो र सही निर्णय लिने, पारदर्शी सञ्चार गर्ने, टिमलाई एकजुट बनाउने, स्रोतहरूको प्रभावकारी उपयोग गर्ने, नयाँ उपाय र रणनीति प्रयोग गर्ने, शेयर सदस्यहितलाई विशेष प्राथमिकतामा राख्ने, दीर्घकालीन सोच राखी निर्णयहरू गर्ने विधि अपनाएर नेतृत्व गर्ने प्रयास गर्छु,’ उनले आफ्नो काम गर्ने शैली सुनाउँदै भने ।
सहकारीले हासिल गरेका उपलब्धि
उनको नेतृत्वमा संस्थाले उल्लेखनीय प्रगति गरेको छ । सदस्य संख्या र वित्तीय आकार दुवैमा तीव्र वृद्धि भएको छ । तर, न्यौपानेका लागि सफलता केवल तथ्यांंकमा सीमित छैन । ‘हामीले सदस्यहरूको सोच परिवर्तन गरेका छौं, यही हाम्रो वास्तविक उपलब्धि हो,’ उनी भन्छन् । वित्तीय साक्षरता र सदस्य शिक्षा कार्यक्रमले संंस्थालाई दीर्घकालीन रूपमा सुदृढ बनाएको छ । संस्थाले हासिल गरेका अन्य प्रमुख उपलब्धिहरूमा जिल्लास्तरमा विभिन्न सम्मान तथा पुरस्कार, राष्ट्रिय सहकारी बैंक लिमिटेडबाट मध्यमाञ्चलभर उत्कृष्ट, नेफ्स्कूनबाट नेपालभर उत्कृष्ट, नेफ्स्कूनबाटै सहकारी एकीकरणमा नेपालभर उत्कृष्ट, आन्तरिक राजस्व कार्यालयबाट तीन पटक उत्कृष्ट करदाता, अकुबाट तीन पटक एक्सेस ब्रान्ड प्राप्त गरेर सहकारीले आफूलाई स्थापित संस्थाका रूपमा चिनाएको छ ।

‘संस्थामा म व्यवस्थापकको रूपमा प्रवेश गर्दा शेयर सदस्य १ हजार ६ सय ५२ जना र बाल बचतकर्ता ३ सय २५ गरी कुल १ हजार ९ सय ७७ जना बचतकर्ता थिए । त्यो समयमा कुल वासलात ७ करोड १९ लाख २० हजार १ सय ९० रुपैयाँ थियो । संस्थामा हाल शेयर सदस्य २१,३३५ जना र बालबचतकर्ता ८ हजार बढी छन्,’ उनले वृद्धिको तथ्यांक सुनाउँदै भने । अहिले कुल वासलात १ अर्ब ४७ करोड रुपैयाँ पुगेको छ ।
संस्थाको आर्थिक प्रशासन नियमावली व्यवस्थित गरी कार्यान्वयनको पाटोमा लगिएको छ । संंस्थामा आबद्ध शेयर सदस्यहरूलाई मुस्कान र प्रविधिसहित सेवा प्रवाह गर्नुपर्दछ भनी संस्थाको सदस्य सेवाको लागि दश सिद्धान्त प्रतिपादन गरी कार्यान्वयनमा लगिएको उनले बताए ।
अध्यापन छोडे, बैंकको अफर त्यागे
सीईओ न्यौपाने सहकारीमा प्रवेश गर्नुअघि अध्यापन गराउँथे । सहकारीमा काम गर्ने भएपछि उनले पढाउने काम छोडे । उनले त्यो बीचमा बैंकमा जागिर गर्ने पनि नसोचेका होइनन्, त्यही सिलसिलामा एउटा विकास बैंकबाट उच्च तहको पदका लागि उनलाई अफर पनि आयो । तर, सहकारीका केही व्यक्तिले उनलाई सहकारीमै राम्रो भनेपछि बैंंकको अफर त्यागेको उनी सुनाउँछन् ।
अध्यापन पेशा छोड्नु र बैंकको आकर्षक अवसर त्याग्नु उनका जीवनका निर्णायक मोडहरू थिए । यी निर्णयहरूले उनको करिअरलाई नयाँ दिशा दिए । ‘कहिलेकाहीँ ठूलो अवसर छोड्दा नै ठूलो सम्भावना भेटिन्छ,’ उनी भन्छन् ।

सहकारीमा कमजोर अनुगमन, राजनीतिक हस्तक्षेप, अव्यवस्थित वित्तीय प्रणाली, तरलता व्यवस्थापनमा कमजोरी, जोखिमपूर्ण लगानी, पारदर्शिताको अभाव, दक्ष जनशक्तिको कमी, विश्वासको संकट, केही सहकारीको रकम हिनामिना र ठगीलगायत समस्याले चुनौती थपिएको उनी सुनाउँछन् ।
कोभिड–१९ ले पनि सहकारी क्षेत्रमा तरलता संंकट ल्यायो । तर, उनले संयमित भएर संस्थालाई स्थिर राखे । ऋण असुली, बचतमा आकर्षण र बाह्यस्रोत परिचालनले संकट पार गरेको अनुभव सुनाउँछन् ।
सदस्य सर्वोपरि, प्रविधिमा जोड
न्यौपाने प्रविधिलाई भविष्यको आधार मान्छन् । मोबाइल बैंकिङ, क्यूआर कोड र डिजिटल सेवा विस्तारले संस्थालाई आधुनिक बनाएको छ । ‘डिजिटल प्रणाली बिना सहकारीको भविष्य सम्भव छैन,’ उनी भन्छन् ।
शेयर सदस्यहरूले मोबाइल बंैंकिङबाट वित्तीय सेवा लिनुको साथै संंस्थालाई केही सुझाव दिन परेमा वा गुनासो राख्न परेमा यसैबाट दिन सक्ने व्यवस्था गरिएको छ भने शेयर सदस्यहरूलाई केही सूचना वा जानकारी प्रवाह गर्नको लागि पनि प्रयोग गर्न मिल्ने बनाइएको छ ।
संस्थामा पारदर्शिता र जवाफदेहितालाई मजबुत बनाउन उनले विभिन्न अभ्यास लागू गरेका छन् । नियमित लेखापरीक्षण, खुला सूचना प्रणाली र गुनासो व्यवस्थापन यसको उदाहरण हुन् ।
न्यौपाने सहकारीलाई सामाजिक परिवर्तनको माध्यमका रूपमा हेर्छन् । गरिबी न्यूनीकरण, उद्यमशीलता विकास र महिला सशक्तीकरणमा उनले जोड दिएका छन् ।
‘सहकारीको सफलता सदस्यको जीवनमा देखिनुपर्छ,’ उनी भन्छन्, ‘सबै निर्णय, योजना र सेवा सदस्यहरूको हित, आवश्यकता र सहभागितालाई केन्द्रमा राखेर गर्नुपर्छ, यस्तो सहकारीमा सदस्य नै मालिक र लाभग्राही हुन्छन् । त्यसैले संंस्थाको सफलता पनि सदस्यहरूको सन्तुष्टि र सशक्तीकरणमा निर्भर हुन्छ ।’
आगामी वर्षहरूमा उनी संस्थालाई डिजिटल, पारदर्शी र सदस्य केन्द्रित बनाउने लक्ष्य राख्छन् । युवालाई सहकारीमा आकर्षित गर्न प्रविधि, तालिम र अवसर आवश्यक रहेको उनी सुनाउँछन् । उनी युवाबिना सहकारीको भविष्य अधुरो देख्छन् ।
उनी आगामी ५ देखि १० बर्षमा आधुनिक प्रविधि प्रयोग गर्न र गराउन सक्ने, पारदर्शी, सदस्य केन्द्रित र दिगो विकासमा आधारित संस्था बनाउने योजनामा छन् । त्यो अवधिसम्म संस्थाले प्रविधिको प्रभावकारी प्रयोग गर्दै डिजिटल सेवा विस्तार गरिसकेको हुने उनी बताउँछन् । जसले छिटो, सुरक्षित र सहज सेवा प्रदान गर्नेछ ।
साथै सुदृढ सुशासन, कडा वित्तीय अनुशासन र प्रभावकारी जोखिम व्यवस्थापनमार्फत सदस्यहरूको विश्वास कायम राख्ने संस्था बनाउने उनको लक्ष्य छ । सदस्य शिक्षा, उद्यमशीलता विकास र रोजगारी सिर्जनामा जोड दिँदै समुदायको समग्र आर्थिक तथा समाजिक विकासमा योगदान पुर्याउन सक्ने संस्था बनाएर समावेशी, नवप्रवर्तनमुखी र दीर्घकालीन सोचसहित अघि बढ्ने योजनामा उनी छन् ।
न्यौपाने सफल प्रमुख कार्यकारी अधिकृत हुनुको वास्तविक अर्थ केवल संस्था सञ्चालन गर्नु मात्र नभई सदस्यहरूको विश्वास जित्दै उनीहरूको आर्थिक र समाजिक उन्नति हुने काम गर्नु भएको बताउँछन् । सफल प्रमुख कार्यकारी अधिकृतले पारदर्शिता, सुशासन, इमान्दारिता र उत्तरदायित्वलाई केन्द्रमा राखेर संस्था सञ्चालन गर्नुपर्ने धारणा उनको छ ।

संस्थासँगै व्यक्तिगत रूपमा पनि न्यौपानेले धेरै सम्मान र कदर प्राप्त गरेका छन् । २०६६ सालमा शैक्षिक क्षेत्रको उन्नयनको लागि गरेको योगदानको कदर गर्दै कालिञ्चोक माध्यामिक बिद्यालयबाट प्रशंसा पाए । २०७१ सालमा नेफ्स्कूनबाट पुरस्कार प्राप्त गरे भने २०७३ सालमा जिल्ला सहकारी संघ लिमिटेडबाट जिल्लाको उत्कृष्ट व्यवस्थापकको रूपमा सम्मानित भए । २०७६ सालमा दोलखा जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडबाट दोलखा जिल्लाको उत्कृष्ट प्रमुख कार्यकारी अधिकृतको रूपमा सम्मानित तथा पुरस्कृत भए । उनी २०७७ सालमा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) बाट नेपालकै उत्कृष्ट प्रमुख कार्यकारी अधिकृतको रूपमा सम्मानित र पुरस्कृत भए । यसरी उनले संंस्थासँगै आफूलाई पनि परिस्कृत गर्दै गएका छन् ।
उनलाई अब नयाँ सरकारमाथि ठूलो भरोसा र विश्वास छ । नयाँ सरकारले सहकारी क्षेत्रको अनुगमन र नियन्त्रण मजबुत बनाउँछ भन्ने उनको विश्वास छ । ‘समस्याग्रस्त सहकारीको समस्या समाधान गरी जनविश्वास बढाउनुपर्छ, स्पष्ट, स्थिर र दीर्घकालीन नीति निर्माण गर्नुपर्छ डिजिटल प्रणाली विकास र प्रयोगमा सहयोग गर्नुपर्दछ, व्यावहारिक र कार्यान्वयन योग्य कानुनी व्यवस्था गर्नुपर्दछ,’ नयाँ सरकारले गर्नुपर्ने काम सुनाउँदै उनले भने, ‘समस्यामा परेका सहकारीलाई किन समस्यामा परेको हो कारण पत्ता लगाई कमजोरी गर्नेलाई कानुनबमोजिम गर्नुपर्छ ।’
युवालाई सहकारीमा जोड्ने विशेष योजना ल्याएर सहकारीसम्बन्धी जनचेतना बढाउने, दूरदराजमा संंस्था खोली वा सेवा केन्द्र खोली राम्रो काम गरिरहेका सहकारीलाई प्रोत्साहन गर्दै राम्रा कामको प्रचारप्रसार गरिदिनुपर्नेमा उनको जोड छ ।
‘सहकारीमार्फत साना व्यवसाय र उत्पादमूलक क्षेत्रलाई प्रोत्साहन गर्नुपर्छ, सहकारीको एकीकृत डेटा र अभिलेख प्रणालीको प्रभावकारी रूपमा स्थापित गर्नुपर्छ, सहकारीलाई राष्ट्रिय विकास रणनीतिसँग जोड्नुपर्छ,’ सरकारलाई सुझाव दिँदै उनले भने ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
ज्योति मिर्मिरे सामूहिक साकोसको २७औँ साधारण सभा सम्पन्न, ७०.०३% सदस्यको उपस्थिति
१ मंसिर २०८३, सोमबार
चन्द्रागिरि साकोसमा वरिष्ठ अधिकृतका लागि रोजगारीको अवसर
१ मंसिर २०८३, सोमबार
अवसरभन्दा उद्देश्य ठूलो ठाने, सहकारीमै बनाए पहिचान
१ मंसिर २०८३, सोमबार
