२० कात्तिक २०८३, शुक्रबार

सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता

२०८३ कात्तिक २०, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता

सहकारी क्षेत्रका व्यवस्थापकहरूको व्यावसायिक क्षमता अभिवृद्धि, नेतृत्व विकास, आपसी एकता र अनुभव आदानप्रदानलाई मुख्य उद्देश्य बनाउँदै आएको क्लबले नयाँ नेतृत्व चयनसँगै संस्थागत विकास र व्यवस्थापकहरूको क्षमता अभिवृद्धिलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ। नवनिर्वाचित अध्यक्ष अधिकारी सुरक्षा पालुवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत हुनुहुन्छ।

पोखरा : कोअपरेटिभ म्यानेजर्स क्लब (सीएमसी) कास्कीको नवौँ वार्षिक साधारणसभा तथा निर्वाचनबाट विष्णुप्रसाद अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित भएको छ। पोखरा महानगरपालिका–१०, बुद्धचोकस्थित रोयल दिदीबहिनी किचनमा सम्पन्न साधारणसभाले आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गरेको हो।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा शंकरप्रसाद पौडेल, सचिवमा सन्तोष रानाभाट, कोषाध्यक्षमा प्रेमसागर अधिकारी र सहसचिवमा दीपक थापा चयन हुनुभएको छ। त्यस्तै सदस्यहरूमा रविन्द्र तिवारी, सुशील केसी, रविन्द्रराज पौडेल, विकास रानाभाट, शम्भु पौडेल र दिव्य सुनार चयन हुनुभएको छ।

क्लबका अध्यक्ष मोहनप्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव शंकरप्रसाद पौडेलले गर्नुभएको थियो। कार्यक्रममा अध्यक्ष मोहनप्रसाद अधिकारीले वर्षभरि सञ्चालन गरिएका संस्थागत गतिविधि समेटिएको श्रव्यदृश्य (डकुमेन्ट्री) सहितको डिजिटल प्रतिवेदन र भावी कार्यक्रम प्रस्तुत गर्नुभएको थियो। कोषाध्यक्ष सन्तोष रानाभाटले लेखापरीक्षण तथा आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।

कार्यक्रममा क्लबका मानार्थ सदस्य भीमबहादुर गुरुङ, संस्थापक अध्यक्ष मिलन ढकाल, पूर्वअध्यक्ष डम्बर सिंह बस्नेतलगायतले बदलिँदो परिस्थितिअनुसार व्यवस्थापकहरूले आफ्नो जिम्मेवारी र भूमिकाप्रति प्रतिबद्ध हुँदै कार्यसम्पादन गर्नुपर्नेमा जोड दिनुभयो। वक्ताहरूले क्लबले स्थापनाकालदेखि सहकारी व्यवस्थापकहरूको व्यावसायिक विकास र सहकारी क्षेत्रको संस्थागत सुदृढीकरणमा पुर्‍याउँदै आएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा अझ प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने धारणा राख्नुभयो।

आफ्नो दुईवर्षे कार्यकालको समीक्षा गर्दै अध्यक्ष मोहनप्रसाद अधिकारीले सीएमसी कास्कीले सहकारी अभियानका विभिन्न संघ/संस्था तथा नियामक निकायसँग समन्वयकारी भूमिका निर्वाह गरेको बताउनुभयो। जिल्ला सहकारी संघ कास्की, बचत संघ, विषयगत सहकारी संघहरू, राष्ट्रिय सहकारी बैंक, नेफ्स्कुन, नेपाल राष्ट्र बैंक, राष्ट्रिय सहकारी नियमन प्राधिकरण, सहकारी रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश, कर्जा असुली न्यायाधिकरण, मालपोत कार्यालय, जिल्ला प्रशासन कार्यालय कास्की, गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान तथा प्रहरी प्रशासनसँगको समन्वयले क्लबको साख उच्च राख्न योगदान पुर्‍याएको उहाँको भनाइ थियो। उहाँले आगामी दिनमा पनि यस्तै समन्वयकारी र रचनात्मक कार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा मन्तव्य राख्दै क्लबका मानार्थ सदस्य भीमबहादुर गुरुङले सीएमसी कास्कीले सहकारी अभियानमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको बताउनुभयो। उहाँले क्लब सहकारी क्षेत्रसँग सम्बन्धित संस्थागत पहलहरूमध्ये अग्रणी रहेको उल्लेख गर्दै स्थापनाकालीन परिकल्पना, उद्देश्य र लक्ष्यलाई आत्मसात् गर्दै अघि बढ्नु नै संस्थाको निरन्तरताको आधार भएको धारणा व्यक्त गर्नुभयो। उहाँले नयाँ नेतृत्वलाई आगामी दिनमा थप सक्रियता, उत्साह र प्रभावकारिताका साथ कार्यक्रम सञ्चालन गर्न शुभकामना दिनुभयो।

गुरुङले सहकारी क्षेत्रका संस्थाहरू एकअर्कासँग अन्तरसम्बन्धित रहेकाले कुनै एउटा संस्थामा देखिएको समस्याले समग्र सहकारी क्षेत्रको गतिविधि, विश्वास र छविमा असर पार्न सक्ने बताउनुभयो। त्यसैले कुनै संस्था समस्यामा पर्दा बेवास्ता नगरी आपसी सहयोग, सहकार्य र साझा प्रयासबाट समाधान खोज्नुपर्ने उहाँको भनाइ थियो। सहकारी क्षेत्रको विश्वसनीयता र गरिमा कायम राख्न सबै संस्थाले साझा जिम्मेवारीबोधका साथ अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो।

यसै अवसरमा कार्यसमितिमा रहेर उत्कृष्ट कार्यसम्पादन गरेबापत घामपानी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका प्रबन्धक रविन्द्र तिवारीलाई सम्मान गरिएको थियो।

नयाँ नेतृत्व चयनका लागि संस्थापक उपाध्यक्ष कमलमोहन आचार्यको संयोजकत्वमा निर्वाचन उपसमिति गठन गरिएको थियो। उपसमितिका सदस्यमा राष्ट्रिय सहकारी बैंक पोखरा शाखाका प्रबन्धक रुक्मत श्रेष्ठ र जिल्ला सहकारी संघ कास्कीका प्रबन्धक प्रविन कँडेल रहनुभएको थियो। उपसमितिले निर्वाचन प्रक्रिया सम्पन्न गरी सर्वसम्मत निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई प्रमाणपत्रसमेत प्रदान गरेको थियो।

नवनिर्वाचित अध्यक्ष विष्णुप्रसाद अधिकारीले सीएमसी कास्की सहकारी क्षेत्रका व्यवस्थापकहरूको व्यावसायिक क्षमता, दक्षता र नेतृत्व विकासका लागि स्थापित साझा तथा महत्त्वपूर्ण मञ्च भएको बताउनुभयो। सहकारी संस्थाको प्रभावकारी सञ्चालन, संस्थागत सुशासन र गुणस्तरीय सेवा प्रवाहमा व्यवस्थापकहरूको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गर्दै उहाँले व्यवस्थापन पक्ष सक्षम, जिम्मेवार र समयअनुकूल हुनुपर्नेमा जोड दिनुभयो।

समय परिवर्तनसँगै सहकारी क्षेत्रका चुनौती, आवश्यकता र व्यवस्थापकीय जिम्मेवारी पनि परिवर्तन हुँदै जाने भएकाले व्यवस्थापकहरू निरन्तर अध्ययनशील, दक्ष र प्रविधिमैत्री बन्नुपर्ने उहाँको भनाइ थियो। कार्यक्षेत्रमा देखिएका समस्या, चुनौती र सम्भावनाको अध्ययन गर्दै नयाँ ज्ञान, सीप र प्रविधिलाई आत्मसात् गर्न सके सहकारी संस्थाहरूको सञ्चालन थप व्यवस्थित र प्रभावकारी हुने उहाँले बताउनुभयो।

अध्यक्ष अधिकारीले क्लबको मूल नारा ‘व्यवस्थापकको क्षमता, सहकारी संस्थाको एकरूपता’ लाई व्यवहारमा कार्यान्वयन गर्दै व्यवस्थापकहरूको क्षमता अभिवृद्धि, नेतृत्व विकास र संस्थागत सुशासनलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

अभिलेख

लोकप्रिय