२८ असोज २०८३, बुधबार

वीरेन्द्रनगर साकोसको २५औँ साधारण सभा सम्पन्न, अध्यक्षमा बमबहादुर वि.सी. निर्विरोध निर्वाचित

२०८३ असोज २८, बुधबार
वीरेन्द्रनगर साकोसको २५औँ साधारण सभा सम्पन्न, अध्यक्षमा बमबहादुर वि.सी. निर्विरोध निर्वाचित

वीरेन्द्रनगर : वीरेन्द्रनगर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २५औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। साधारण सभाले आगामी चार वर्षे कार्यकालका लागि पुनः बमबहादुर वि.सी.को अध्यक्षतामा नौ सदस्यीय सञ्चालक समिति र लालबहादुर खड्काको संयोजकत्वमा तीन सदस्यीय लेखा सुपरिवेक्षण समिति निर्विरोध निर्वाचित गरेको छ।

संस्थाको सञ्चालक समितिको २०८३ भदौ ६ गतेको बैठकको निर्णयअनुसार असोज २४ र २५ गते सातवटा एकाईमा साधारण सभा सञ्चालन गरिएको थियो। ती सभाबाट भएका निर्णयलाई असोज २८ गते सम्पन्न एकाई प्रतिनिधिहरूको निर्णय प्रमाणीकरण सभाले पारित गरेसँगै २५औँ वार्षिक साधारण सभा सम्पन्न भएको हो।

नवनिर्वाचित सञ्चालक समितिको उपाध्यक्षमा श्याम पौडेल, सचिवमा राजन रजवार र कोषाध्यक्षमा इन्द्रा हमाल निर्विरोध निर्वाचित हुनुभएको छ। त्यसैगरी, सञ्चालक सदस्यमा कमलप्रसाद नेपाल, देविराम बोहरा, शान्ति पोखरेल, विद्या खत्री र होमबहादुर रामजाली निर्वाचित हुनुभएको छ।

लेखा सुपरिवेक्षण समितिको संयोजकमा लालबहादुर खड्का तथा सदस्यमा बेचुलाल चौधरी र मोतिप्रसाद सापकोटा निर्विरोध निर्वाचित हुनुभएको छ।

संस्थाले सहकारी संस्थाको साधारण सभा (कार्यव्यवस्था) निर्देशिका, २०७६ बमोजिम असोज २४ गते एकै समयतालिकामा सातवटै एकाई बैठक सञ्चालन गरेको थियो। सबै एकाईमा समान कार्यसूचीमाथि छलफल गरिएको थियो। असोज २४ देखि २८ गतेसम्म एकाईगत रूपमा सम्पन्न साधारण सभाबाट छनोट भएका प्रतिनिधिहरूको सहभागितामा असोज २८ गते के.जी.एस. बेन्क्वेटको सभाहलमा अन्तिम निर्णय प्रमाणीकरण सभा सम्पन्न भएको हो।

संस्थाका अध्यक्ष बमबहादुर वि.सी.को अध्यक्षतामा सम्पन्न सभामा सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिका पदाधिकारी, सातवटै एकाईबाट छनोट भएका प्रतिनिधि तथा व्यवस्थापन पक्षका कर्मचारीहरूको उपस्थिति रहेको थियो। संस्थाका प्रमुख कार्यकारी अधिकृत छत्रबहादुर थापाले सञ्चालन गर्नुभएको उक्त सभाले साधारण सभाका कार्यसूचीअन्तर्गत प्रस्तावित १९ वटा प्रस्तावमाथि व्यापक छलफल गरी सर्वसम्मत रूपमा पारित गरेको थियो।

एक करोड १६ लाखभन्दा बढी सञ्चालन मुनाफा

सभामा प्रस्तुत अन्तिम लेखापरीक्षण प्रतिवेदनअनुसार संस्थाले आर्थिक वर्ष २०८२/८३ मा एक करोड १६ लाख ८४ हजार ८२५ रुपैयाँ ११ पैसा सञ्चालन मुनाफा आर्जन गरेको छ। समीक्षा अवधिमा संस्थाको कुल सम्पत्ति एक अर्ब ५३ करोड २५ लाख ६७ हजार २५ रुपैयाँ ९६ पैसा पुगेको छ।

त्यस्तै, संस्थामा सदस्यको बचत एक अर्ब २० करोड ५४ लाख ७० हजार ५८९ रुपैयाँ ६७ पैसा, शेयर पुँजी १६ करोड २५ लाख ९१ हजार ६०० रुपैयाँ र संस्थागत पुँजी ६ करोड ८५ लाख २८ हजार ९६६ रुपैयाँ रहेको छ। संस्थाले सदस्यलाई प्रवाह गरेको ऋण लगानी एक अर्ब १८ करोड ७९ लाख ११ हजार ९४४ रुपैयाँ ४३ पैसा पुगेको प्रतिवेदनमा उल्लेख छ।

४४५ सदस्य सम्मानित

संस्थाले २५औँ वार्षिक साधारण सभाका अवसरमा १२ वटा विधाअन्तर्गत ४४५ जना शेयर सदस्यलाई सम्मान गरेको छ। सम्मानित सदस्यहरूमध्ये बाल सदस्यलाई स्टेसनरी सामग्री, ज्येष्ठ सदस्यलाई पौष्टिक आहार तथा अन्य सदस्यलाई प्रशंसापत्र प्रदान गरिएको थियो। साथै, ११ कित्ता संस्थागत शेयर थप गरी सम्मान गरिएको संस्थाले जनाएको छ।

साधारण सभामा संस्थाको आर्थिक वर्ष २०८२/८३ को प्रगति प्रतिवेदन, नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरिएको थियो। सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिका पदाधिकारीले प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने सेवा केन्द्र सञ्चालन तथा व्यवस्थापन उपसमितिका संयोजक तथा सदस्यहरूले सम्बन्धित सेवा केन्द्रको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।

प्रस्तुत प्रतिवेदन, नीति तथा कार्यक्रम र बजेटमाथि शेयर सदस्यहरूसँग व्यापक छलफल गरिएको थियो। छलफलका क्रममा सदस्यहरूले दिएका रचनात्मक सुझाव संकलन गर्दै संस्थाका प्रस्तावित कार्यक्रम तथा संस्थागत एजेन्डा सर्वसम्मत रूपमा पारित गरिएको थियो।

सदस्यको जीवनका विभिन्न चरणमा सहयोग

संस्थाले सदस्यको जीवनमा आइपर्ने विभिन्न अवस्थालाई ध्यानमा राख्दै सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन गर्दै आएको छ। संस्थाले प्रसूति हुने महिला सदस्यलाई दुई हजार रुपैयाँ बराबरको मातृत्व सुरक्षा सहयोग र दुर्घटना बीमाअन्तर्गत एक लाख रुपैयाँ बराबरको सुविधा प्रदान गर्दै आएको छ।

त्यसैगरी, सदस्यको मृत्यु हुँदा परिवारलाई काजकिरिया खर्चबापत २० हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने व्यवस्था पनि संस्थाले गरेको छ।

सदस्यको समानान्तर शेयर कायम गर्ने नीतिसहित अघि बढेको संस्थाले मुनाफा आर्जनमा मात्र केन्द्रित नभई सदस्यलाई जीवनका विभिन्न परिस्थितिमा आर्थिक तथा सामाजिक सुरक्षा प्रदान गर्ने योजनालाई प्राथमिकता दिएको छ। लाभांशसँगै बचत तथा ऋण कारोबारमा आधारित अतिरिक्त लाभ र सदस्य सुरक्षा कार्यक्रममार्फत संस्थाले सहकारीको प्रतिफल सदस्यसम्म पुर्‍याउने प्रयास गरेको छ।

२५औँ वार्षिक साधारण सभा सञ्चालन तथा व्यवस्थापनमा संस्थाका प्रमुख कार्यकारी अधिकृत छत्रबहादुर थापा, कार्यालय व्यवस्थापक योगेन्द्र भण्डारी र प्रकाश शर्मा, वरिष्ठ कार्यक्रम अधिकृत रेशमप्रसाद सुवेदी, कार्यक्रम अधिकृत लिलाराम नेपाली, छिन्चु सेवा केन्द्र प्रमुख तथा कार्यक्रम अधिकृत निर्मला शाही, कार्यक्रम अधिकृत बमबहादुर पुनमगर, दीपक शर्मा र डुगेन्द्रबहादुर शाही लगायत विभागीय प्रमुख, सेवा केन्द्र प्रमुख, वरिष्ठ सहायक, सहायक तथा सहजकर्ता कर्मचारीहरूले भूमिका निर्वाह गर्नुभएको थियो।

अभिलेख

लोकप्रिय