२५ असोज २०८३, आईतवार

किसान साकोसको ३१औँ साधारण सभा सम्पन्न, कर्मचारीको उत्कृष्ट कार्यसम्पादनको कदर

२०८३ असोज २५, आईतवार
किसान साकोसको ३१औँ साधारण सभा सम्पन्न, कर्मचारीको उत्कृष्ट कार्यसम्पादनको कदर

गैँडाकोट : किसान बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ३१औँ वार्षिक साधारणसभाअन्तर्गत एकाइगत सभा सम्पन्न गरेसँगै निर्णय प्रमाणीकरण सभा पनि सम्पन्न गरेको छ। नवलपुरको गैँडाकोट नगरपालिका–८ मा मुख्य कार्यालय रहेको संस्थाले साधारणसभाको अवसरमा कर्मचारीको उत्कृष्ट कार्यसम्पादनलाई सम्मान गर्नुका साथै सहकारी क्षेत्रका समसामयिक विषयमा प्रशिक्षणसमेत आयोजना गरेको छ।

सभामा चितवनका प्रमुख जिल्ला अधिकारी तथा केन्द्रीय सहकारी प्रशिक्षण तथा अनुसन्धान केन्द्रका पूर्वप्राचार्य गणेश अर्यालले सहकारी क्षेत्रका समसामयिक विषयमा प्रशिक्षण दिएका थिए। सहकारी क्षेत्रमा लामो अनुभव हासिल गरेका अर्यालले सभामा सहभागीलाई सहकारीका विषयमा प्रशिक्षण प्रदान गरेका हुन्।

संस्थाले गत आर्थिक वर्षमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मानसमेत गरेको छ। समग्र कर्मचारीमध्ये उत्कृष्टता हासिल गर्दै सर्वोत्कृष्ट कर्मचारी पुरस्कार प्राप्त गर्ने विन्दु गिरीसहित विभिन्न विधामा उत्कृष्ट कर्मचारीलाई सम्मान गरिएको थियो।

त्यसैगरी, सेवाकेन्द्र व्यवस्थापन उपसमितिका संयोजक तथा सदस्य र प्रथम, द्वितीय तथा तृतीय स्थान हासिल गर्ने सेवाकेन्द्रका व्यवस्थापन उपसमिति एवं कर्मचारीलाई पनि सम्मान गरिएको थियो। कर्मचारीको कार्यसम्पादन मूल्याङ्कन र उत्कृष्ट योगदानको पहिचानले सेवाको गुणस्तर सुधार गर्न, जिम्मेवारीप्रतिको प्रतिबद्धता बढाउन तथा संस्थागत कार्यसंस्कृति सुदृढ बनाउन सहयोग पुग्ने संस्थाले अपेक्षा गरेको छ।

कार्यक्रममा गैँडाकोट नगरपालिका–८ का वडाध्यक्ष प्रेम सापकोटाले कार्यक्रमको स्वामित्व ग्रहण गर्दै सहभागीलाई उत्प्रेरणा प्रदान गरेका थिए। संस्थाका पूर्वअध्यक्ष एवं नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) का सञ्चालक सदस्य गोपालप्रसाद गौतम, पूर्वअध्यक्ष एवं जिल्ला सहकारी संघ नवलपुरका अध्यक्ष तिलक पराजुुलीलगायत सहकारी क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहेको थियो।

संस्थाले कार्यक्रम सफल बनाउन योगदान पुर्‍याउने तयारी उपसमिति, एकाइ सभा व्यवस्थापन कार्यदल, विभिन्न उपसमितिका संयोजक तथा सदस्य, सल्लाहकार, व्यवस्थापनका विभिन्न तहमा कार्यरत कर्मचारी, सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिप्रति कृतज्ञता व्यक्त गरेको छ।

४ अर्ब ३० करोडभन्दा बढी सम्पत्ति

समुदायमा आधारित किसान साकोसको २०८३ साउन मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार संस्थाको कुल सम्पत्ति ४ अर्ब ३० करोड ७८ लाख रुपैयाँ पुगेको छ। संस्थामा सदस्यको बचत ३ अर्ब २६ करोड रुपैयाँ रहेको छ भने लगानीमा रहेको कर्जा २ अर्ब ६७ करोड ६३ लाख रुपैयाँ छ।

संस्थाको शेयर पुँजी ३६ करोड ६४ लाख रुपैयाँ र जगेडा कोष २१ करोड ६१ लाख रुपैयाँ रहेको छ। त्यस्तै, कुल संस्थागत पुँजी करिब २२ करोड ९४ लाख रुपैयाँ पुगेको विवरणमा उल्लेख छ। संस्थाको तरलता रकम १ अर्ब १२ करोड ५८ लाख रुपैयाँ रहेको छ, जुन कुल बचतको ३४.५२ प्रतिशत हो।

संस्थामा ८४ हजार ८५७ शेयर सदस्य आबद्ध छन्। सदस्यको बचत परिचालन, कर्जा लगानी तथा वित्तीय व्यवस्थापनमार्फत समुदायमा आधारित सहकारी सेवामा सक्रिय किसान साकोसले ३१औँ वार्षिक साधारणसभाअन्तर्गत एकाइगत सभा सम्पन्न गरी निर्णय प्रमाणीकरण समारोह आयोजना गरेको हो।

अभिलेख

लोकप्रिय