१ असोज २०८३, बिहिबार

विकूको ‘युवा समृद्धि बचत’ सुरु, बचतसँगै बीमा र उद्यमशीलता तालिम

२०८३ असोज १, बिहिबार
विकूको ‘युवा समृद्धि बचत’ सुरु, बचतसँगै बीमा र उद्यमशीलता तालिम

गैंडाकोट (नवलपुर) : युवामा बचत गर्ने बानीको विकाससँगै उनीहरूलाई उद्यमशीलतातर्फ अघि बढाउने उद्देश्यले विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ‘विकू युवा समृद्धि बचत’ खाता शुभारम्भ गरेको छ।

‘सुरक्षित बचत, उज्ज्वल भविष्य’ अभियानअन्तर्गत संस्थाले १६ देखि ४० वर्ष उमेर समूहका युवालाई लक्षित गरी नयाँ बचत सेवा सञ्चालनमा ल्याएको हो। ‘युवाको सपना, विकूको साथ’ भन्ने अवधारणाका साथ सुरु गरिएको उक्त खाता संस्थाका २४ वटै सेवा केन्द्रबाट एकैसाथ सञ्चालनमा ल्याइएको हो।

भदौ ३१ गते आयोजित विशेष कार्यक्रममार्फत सञ्चालक समिति, व्यवस्थापन उपसमिति, शेयर सदस्य तथा कर्मचारीहरूको उपस्थितिमा खाता शुभारम्भ गरिएको संस्थाले जनाएको छ। खाता शुभारम्भकै दिन ४७५ जना नयाँ युवा सदस्यले ‘विकू युवा समृद्धि बचत’ खाता सञ्चालन गरेका छन् ।

युवालाई केवल बचतमा जोड्नेभन्दा पनि उनीहरूको आर्थिक क्षमता विकास गर्ने उद्देश्यले खातासँगै विभिन्न सुविधा तथा अवसरसमेत उपलब्ध गराइएको छ। युवालाई नियमित बचतको संस्कार विकास गराउँदै भविष्यमा उद्यम तथा स्वरोजगारका क्षेत्रमा अघि बढ्न सहयोग पुर्‍याउने संस्थाको लक्ष्य रहेको प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद पौडेलले जानकारी दिए।

बचतसँगै बीमा र उद्यमशीलता तालिम
‘विकू युवा समृद्धि बचत’ खातामा युवालाई आकर्षित गर्ने गरी विभिन्न सुविधा समावेश गरिएको छ। खातामा निःशुल्क खाता खोल्न सकिने व्यवस्था गरिएको छ भने मोबाइल बैंकिङ र एटीएम सेवा पहिलो एक वर्ष निःशुल्क उपलब्ध गराइनेछ।

त्यस्तै, खातावालालाई पहिलो वर्ष एक लाख रुपैयाँसम्मको दुर्घटना बीमा सुविधा प्रदान गरिने संस्थाले जनाएको छ। यसले युवालाई बचतसँगै वित्तीय सुरक्षाको आधारसमेत प्रदान गर्ने अपेक्षा गरिएको पौडेलले बताए।

खातालाई अझै प्रभावकारी बनाउन संस्थाले युवालाई उद्यमशीलता तालिम तथा अभिमुखीकरण कार्यक्रममा सहभागी हुने अवसर समेत दिने भएको छ । यसबाट युवामा वित्तीय ज्ञान, बचतको बानी तथा उद्यम सञ्चालनसम्बन्धी सीप विकास गर्ने लक्ष्य संस्थाले राखेको छ।

विकूले नयाँ पुस्तालाई सहकारीसँग जोड्दै उनीहरूको आर्थिक भविष्य निर्माणमा साझेदारी गर्ने रणनीतिअनुसार युवा समृद्धि बचत सञ्चालनमा ल्याएको हो। १६ देखि ४० वर्षसम्मका युवालाई लक्षित यो सेवाले बचतलाई उद्यमशीलता र आर्थिक आत्मनिर्भरतासँग जोड्ने आधार तयार गर्ने संस्थाको विश्वास छ।

अभिलेख

लोकप्रिय