बाढीपीडितको पीडामा ज्योति मिर्मिरेको सहयोगी हात
राहत र पुनःस्थापनाका लागि एक लाख १ हजार १११ रुपैयाँ सहयोग
काठमाडौं : एकैछिनमा आएको बाढीले कसैको घर बगायो, कसैको परिवार टुक्र्यायो। कतिले आफ्नै आँखाअघि जीवनभरको मेहनत नदीको भेलसँगै बगिरहेको हेर्नुपर्यो। रसुवा, नुवाकोट र धादिङका बाढीपीडितका लागि अहिले पनि पीडा सकिएको छैन । उजाडिएको घर, टुटेको सपना र गुमाएका आफ्नजनको सम्झनाबीच जीवन फेरि कसरी सुरु गर्ने भन्ने प्रश्न उनीहरूसामु छ।
यही पीडा र संकटको घडीमा काभ्रेको पनौती-६ मा मुख्य कार्यालय रहेको ज्योति मिर्मिरे सामूहिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले पीडितको दुःखमा साथ दिने उद्देश्यले सहयोगी हात अघि बढाएको छ।
रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट रसुवा, नुवाकोट र धादिङमा भएको अकल्पनीय जनधनको क्षतिप्रति मर्माहत भएको जनाउँदै संस्थाले राहत, उद्धार तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक लाख एक हजार एक सय ११ रुपैयाँ सहयोग गरेको संस्थाका अध्यक्ष उद्धव सापकोटाले जानकारी दिनुभयो।
विगत २७ वर्षदेखि समुदायमा आधारित रही सहकारीका मूल्य, मान्यता र सिद्धान्तलाई आत्मसात् गर्दै आएको ज्योति मिर्मिरे सामूहिक साकोसले सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग गरेको हो।
सहकारी केवल बचत र ऋणको कारोबारमा सीमित संस्था होइन। समुदायको सुखमा खुसी र दुःखमा काँध थाप्ने संस्था पनि हो भन्ने मान्यतालाई व्यवहारमा उतार्दै संस्थाले ‘संकटमा सहकार्य नै हाम्रो धर्म’ भन्ने भावनाका साथ राष्ट्रिय संकट समाधानमा हातेमालो गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत गोपाल दाहालले बताउनुभयो।
बाढी प्रभावित परिवारको राहत, उद्धार तथा पुनःस्थापनामा थोरै भए पनि सहयोग पुग्ने विश्वासका साथ उक्त रकम प्रदान गरिएको संस्थाले जनाएको छ।
संस्थाले विपत्तिमा परेका नागरिकको पीडा सबैको साझा दुःख भएको उल्लेख गर्दै कठिन समयमा एकअर्काको हात समाउनु मानवताको सबैभन्दा ठूलो दायित्व भएको जनाएको छ।
बाढीमा ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै संस्थाले शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ। साथै, बेपत्ता भएकाहरूको शीघ्र खोजी तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
ज्योति मिर्मिरे सामूहिक साकोसले यस दुःखद् र कठिन घडीमा सबैलाई आफ्नो क्षमता र सामर्थ्यअनुसार राहत कोषमा सहयोग गर्न पनि हार्दिक अनुरोध गरेको छ।
ज्योति मिर्मिरे सामूहिक साकोसको यो सहयोग पनि रकम हस्तान्तरणमा मात्र सीमित छैन, संकटमा समुदायसँगै उभिने सहकारिताको मानवीय भावना र ‘एकका लागि सबै, सबैका लागि एक’ भन्ने सहकारी सिद्धान्तको जीवन्त उदाहरण बनेको छ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
बाढीपीडितको पीडामा ज्योति मिर्मिरेको सहयोगी हात
१७ भाद्र २०८३, बुधबार
दुःखमा समुदायसँगै जनकल्याण, बाढीपीडितलाई १ लाख ११ हजार
१७ भाद्र २०८३, बुधबार
बाढीपीडितको पीडामा सगुन साकोसको साथ, उद्धार कोषमा २ लाख ५३ हजार सहयोग
१६ भाद्र २०८३, मंगलवार