१७ भदौ २०८३, बुधबार

दुःखमा समुदायसँगै जनकल्याण, बाढीपीडितलाई १ लाख ११ हजार

२०८३ भदौ १७, बुधबार
दुःखमा समुदायसँगै जनकल्याण, बाढीपीडितलाई १ लाख ११ हजार

विपद्मा जनकल्याणको हात : भोटेकोशी बाढीपीडितका लागि एक लाख ११ हजार सहयोग

धादिङ : भदौ १० गते बिहान ८ः४५ बजे भोटेकोशी नदीमा आएको भीषण बाढीले रसुवा, नुवाकोट र धादिङमा पुर्‍याएको क्षतिको पीडा अझै थामिएको छैन। बाढीले धेरैको घरबार उजाडेको छ, परिवारका सदस्य गुमेका छन् भने कतिपय अझै बेपत्ता छन्। सडक, पुल, विद्यालय, व्यवसाय र सार्वजनिक संरचनामा समेत ठूलो क्षति पुगेको छ।

प्राकृतिक विपत्तिले सिर्जना गरेको यही पीडादायी परिस्थितिमा जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड, बेनिघाट रोराङ–३, रिचोकटार, मलेखू, धादिङले पीडित परिवारको राहत, उद्धार तथा पुनःस्थापनामा आफ्नो तर्फबाट सहयोगको हात बढाएको छ।

संस्थाले सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, कर्मचारी तथा विपद् व्यवस्थापन कोषबाट संयुक्त योगदान गरी एक लाख ११ हजार १११ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेको हो।

सहकारी केवल बचत र ऋणको कारोबार गर्ने संस्था मात्र नभई समुदायको सुख–दुःखमा साथ दिने सामाजिक संस्था पनि हो भन्ने भावनालाई आत्मसात् गर्दै संस्थाले विपद्को घडीमा आफ्नो जिम्मेवारी निर्वाह गरेको संस्थाका अध्यक्ष मिनराज कडेलले बताउनुभयो।

बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै संस्थाले घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। संस्थाले बेपत्ताको सकुशल उद्धारको कामना गर्दै दिवंगतप्रति भावपूर्ण श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ।

विपद्को यस कठिन समयमा पीडित परिवारलाई तत्काल राहतसँगै दीर्घकालीन पुनःस्थापनाको आवश्यकता रहेको जनाउँदै संस्थाले सबैलाई आफूले सक्ने सहयोग गर्न आह्वानसमेत गरेको छ।

“विपद्को समयमा जो जससँग जे छ र जे सकिन्छ, सोहीअनुरूप सहयोग, सद्भाव र मानवीय सेवामा सहभागी बनौँ” भन्ने सन्देशसहित संस्थाले नेपाल सरकारसँग हातेमालो गर्दै पीडितको दुःखमा साथ दिन सम्पूर्णमा आग्रह गरेको छ।

भोटेकोशीको बाढीले दिएको घाउ गहिरो छ। तर यस्तो कठिन घडीमा समुदायका संस्था, व्यक्ति र विभिन्न क्षेत्रबाट बढाइएका सहयोगका हातहरूले पीडितमा आशाको उज्यालो जगाउन सक्छन्। जनकल्याण सहकारीको यो सहयोग पनि त्यही मानवीय भावनाको एउटा सानो तर अर्थपूर्ण प्रयास बनेको छ।

अभिलेख

लोकप्रिय