१५ भदौ २०८३, सोमबार

किसान कल्याण साकोसद्वारा प्रधानमन्त्री राहत कोषमा २ लाख ५ हजार सहयोग

२०८३ भदौ १५, सोमबार
किसान कल्याण साकोसद्वारा प्रधानमन्त्री राहत कोषमा २ लाख ५ हजार सहयोग

काठमाडौं : सुनसरीको इटहरी–१६ मा मुख्य कार्यालय रहेको किसान कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको भीषण बाढीबाट भएको अपूरणीय मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ।

बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायतका क्षेत्रमा ठूलो जनधनको क्षति भएपछि किसान कल्याण साकोसले विपद्को यस कठिन घडीमा पीडित परिवारको राहत तथा उद्धारमा सहयोग पुर्‍याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ लाख ५ हजार रुपैयाँ योगदान गरेको जनाएको छ।

सहकारी सिद्धान्तलाई व्यवहारमा परिणत गर्दै उक्त सहयोग रकम उपलब्ध गराउने निर्णय गरिएको संस्थाले जनाएको छ। संस्थाका अनुसार सञ्चालक समिति, सेवा केन्द्र व्यवस्थापन उपसमिति, लेखा सुपरिवेक्षण समिति, सम्पूर्ण कर्मचारी तथा संस्थाको तर्फबाट संयुक्त रूपमा उक्त रकम सहयोग गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत पुस्कर बस्नेतले जानकारी दिनुभयो।

प्राकृतिक विपद्का कारण ठूलो क्षति व्यहोरेका परिवारप्रति सहकारीले समवेदना व्यक्त गर्दै राहत, उद्धार तथा पुनःस्थापनाका कार्यमा आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

किसान कल्याण साकोसले बाढी तथा प्राकृतिक विपद्मा परी जीवन गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ। साथै, बाढीमा परी घाइते भएका सबैको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

विपद्को समयमा सहकारी संस्थाहरूले सदस्य र समुदायप्रतिको सामाजिक उत्तरदायित्व निर्वाह गर्दै राहत तथा पुनःस्थापनाका लागि सहयोग गर्नुपर्ने भावनासहित किसान कल्याण साकोसले पनि आफ्नो योगदानलाई सहकारीको सामाजिक उत्तरदायित्वसँग जोडेको जनाएको छ।

अभिलेख

लोकप्रिय