३१ साउन २०८३, आईतवार

नेफ्स्कून स्थापना दिवसमा उत्कृष्ट साकोसदेखि व्यक्तित्वसम्म सम्मानित

२०८३ साउन ३१, आईतवार
नेफ्स्कून स्थापना दिवसमा उत्कृष्ट साकोसदेखि व्यक्तित्वसम्म सम्मानित

काठमाडौं : नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) ले आफ्नो ३९औँ स्थापना दिवसका अवसरमा साकोस अभियानमा योगदान पुर्‍याउने व्यक्तित्व, उत्कृष्ट संस्था, व्यवस्थापक तथा कर्मचारीलाई विभिन्न विधामा सम्मान तथा पुरस्कार प्रदान गरेको छ । संघले संस्थापक अध्यक्ष पुरस्कारदेखि जीवनपर्यन्त उपलब्धि सम्मान, विद्वत्ता सम्मान, उत्कृष्ट साकोस तथा व्यवस्थापक, जिल्ला बचत संघ, पत्रकारिता र प्रविधि प्रयोगसम्मका विभिन्न विधामा सम्मान प्रदान गरेको हो ।

स्थापना दिवसका अवसरमा नेफ्स्कूनले दोलखाको एकीकृत फ्रेण्डसिप साकोसका अध्यक्ष भूमिराज खड्कालाई संस्थापक अध्यक्ष पुरस्कारबाट सम्मान गरेको छ । त्यस्तै, नेफ्स्कूनका पूर्वअध्यक्ष, पूर्वसल्लाहकार तथा सहकारी अभियानका अग्रणी व्यक्तित्व स्व. कैलाशभक्त प्रधानाङ्गलाई मरणोपरान्त नेफ्स्कून जीवनपर्यन्त उपलब्धि सम्मान प्रदान गरिएको छ । नेफ्स्कून विद्वत्ता सम्मानबाट डा. रुपा जोशी सम्मानित हुनुभएको छ भने अन्तर्राष्ट्रिय सहकारी क्षेत्रमा योगदान पुर्‍याउनुभएका भारतका सिक्ट्याबका निर्देशक डा. डी. रबीलाई नेफ्स्कून राइफाइसन क्रेडिट युनियन पुरस्कार प्रदान गरिएको छ ।

त्यसैगरी, नेफ्स्कूनका पूर्वसञ्चालक तथा चिनारी साकोस काठमाडौंका न्हुच्छे नारायण श्रेष्ठ र पूर्व लेखा सुपरिवेक्षण समिति सदस्य शुभद्रा देवी महतोलाई नेफ्स्कून अग्रज व्यक्तित्व सम्मान प्रदान गरिएको छ ।

रौतहट जिल्ला बचत संघ सर्वोत्कृष्ट

नेफ्स्कून सर्वोत्कृष्ट संघ सम्मान रौतहट जिल्ला बचत संघले प्राप्त गरेको छ । प्रदेशगत रूपमा उत्कृष्ट कार्यसम्पादन गर्ने जिल्ला बचत संघहरूलाई नेफ्स्कून संघ उत्प्रेरणा सम्मान प्रदान गरिएको छ ।

कोशी प्रदेशबाट झापा जिल्ला बचत संघ, मधेशबाट पर्सा जिल्ला बचत संघ, बागमतीबाट धादिङ जिल्ला बचत संघ, गण्डकीबाट स्याङ्जा जिल्ला बचत संघ, लुम्बिनीबाट नवलपरासी (पश्चिम) जिल्ला बचत संघ, कर्णालीबाट सुर्खेत जिल्ला बचत संघ र सुदूरपश्चिमबाट दार्चुला जिल्ला बचत संघ सम्मानित भएका छन् ।

उत्कृष्ट साकोस र व्यवस्थापकलाई सम्मान

नेफ्स्कून सर्वोत्कृष्ट व्यवस्थापक सम्मान धादिङको स्रोत परिचालन साकोसका व्यवस्थापन प्रमुख दयानिधी नेपालले प्राप्त गर्नुभएको छ । नेफ्स्कून सर्वोत्कृष्ट साकोस सम्मान नवलपुरको मध्यनेपाल साकोस तथा सर्वोत्कृष्ट साकोस सम्मान–राष्ट्रिय महिला मकवानपुरको महिला सेवा साकोसलाई प्रदान गरिएको छ ।

प्रदेशस्तरीय उत्कृष्ट संस्थातर्फ कोशी प्रदेशमा सुनसरीको गोरखा साकोस, मधेशमा बाराको पालनपोषण साकोस, बागमतीमा चितवनको सुरक्षित साकोस, गण्डकीमा नवलपुरको पौरखी साकोस, लुम्बिनीमा बर्दियाको किसान कमैया साकोस, कर्णालीमा सुर्खेतको शुभसेभिङ साकोस र सुदूरपश्चिममा कञ्चनपुरको कञ्चनझलारी साकोस सम्मानित भएका छन् ।

प्रदेशस्तरीय उत्कृष्ट व्यवस्थापकतर्फ कोशीबाट समसेवन साकोस, मोरङकी जर्मन कुमारी राई, मधेशबाट चन्द्रोदय साकोस, रौतहटका शुभ नारायण चौधरी, बागमतीबाट हातेमालो साकोस, मकवानपुरकी रमला कुमारी सापकोटा, गण्डकीबाट सार्दीखोला साकोस, कास्कीका गोबिन्दराज आचार्य, लुम्बिनीबाट लुम्बिनी साकोस (बुटवल), रुपन्देहीका बिनोद प्रताप जबरा, कर्णालीबाट भविष्य उज्जवल साकोस, सुर्खेतका बिनोद ओली तथा सुदूरपश्चिमबाट एकता साकोस, कञ्चनपुरकी चित्रकुमारी पाण्डे सम्मानित हुनुभएको छ ।

संघमा कार्यरत उत्कृष्ट कर्मचारी पुरस्कारबाट नेफ्स्कूनका व्यवसाय अधिकृत राजेन्द्र ढकाल सम्मानित हुनुभएको छ । त्यसैगरी, नेफ्स्कून पत्रकारिता पुरस्कार राजधानी दैनिकका पत्रकार अमृतनाथ तिमल्सिनालाई प्रदान गरिएको छ ।

प्रविधि प्रयोगमा झझल्को साकोस सम्मानित

प्रविधिको प्रभावकारी प्रयोग तथा सदस्य सेवामा उत्कृष्ट योगदान पुर्‍याएको भन्दै भक्तपुरको झझल्को साकोसलाई नेफ्स्कून उत्कृष्ट सेवा सञ्चालन प्रशंसा (प्रविधि) प्रदान गरिएको छ । झझल्को साकोसले १० वटा युजरसहित मोबाइल बैंकिङ सेवा सञ्चालन गर्दै आएको छ ।

नेफ्स्कूनले स्थापना दिवसका अवसरमा प्रदान गरेको यी सम्मान तथा पुरस्कारले साकोस अभियानमा योगदान पुर्‍याउने व्यक्ति, संस्था तथा कर्मचारीलाई प्रोत्साहन गर्नुका साथै उत्कृष्ट अभ्यासलाई संस्थागत गर्न सहयोग पुग्ने जनाएको छ ।

अभिलेख

लोकप्रिय