विश्व ऋण परिषद्को ‘डिजिटल ग्रोथ अवार्ड’ जित्दै चन्द्रागिरि साकोसले रच्यो इतिहास
काठमाडौं : नेपाली सहकारी अभियानले अन्तर्राष्ट्रिय मञ्चमा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ । विश्व ऋण परिषद् (ओकू) ले प्रदान गर्ने ‘डिजिटल ग्रोथ अवार्ड–२०२६’ काठमाडौंको थानकोट स्थित चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था लिमिटेड ले जितेको छ । यो अवार्ड प्राप्त गर्ने चन्द्रागिरि नेपालकै पहिलो संस्था बनेको छ ।
अष्ट्रेलियाको सिड्नीमा आयोजित ओकूको वार्षिक साधारणसभा तथा विश्व क्रेडिट युनियन सम्मेलनका क्रममा सोमबार चन्द्रागिरि साकोसलाई उक्त सम्मान प्रदान गरिएको हो । ओकूका अध्यक्ष माइकल लरेन्स र प्रमुख कार्यकारी अधिकृत पल ट्रेनिनले संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठलाई अवार्ड हस्तान्तरण गरेका थिए ।
सदस्य सेवामा डिजिटल प्रविधिको प्रभावकारी प्रयोग, सेवा प्रवाहलाई छिटो, सहज र विश्वसनीय बनाएको तथा संस्थागत डिजिटल रूपान्तरणमा देखाएको प्रगतिलाई मूल्यांकन गर्दै ओकूले चन्द्रागिरि साकोसलाई यस वर्षको डिजिटल ग्रोथ अवार्ड प्रदान गरेको हो । यस अवार्डका लागि विश्वभरका सदस्य संस्थाबीच प्रतिस्पर्धा भएको थियो ।
अवार्डले संस्थाको प्रविधिमैत्री सेवाप्रतिको प्रतिबद्धतालाई थप ऊर्जा दिएको प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठले बताए। उनले यो सम्मान संस्थाका सदस्य, सञ्चालक समिति, लेखा समिति, कर्मचारी तथा साझेदार सबैको सामूहिक प्रयासको परिणाम भएको उल्लेख गर्दै आगामी दिनमा पनि अझ गुणस्तरीय र नवप्रवर्तनयुक्त सेवा प्रदान गर्न प्रतिबद्ध रहने बताए ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून)का प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटाले यो उपलब्धिलाई नेपालको सम्पूर्ण बचत तथा ऋण सहकारी अभियानका लागि प्रेरणादायी सफलता भएको बताए। उनका अनुसार विश्वस्तरको संस्थाबाट प्राप्त यो सम्मानले नेपाली सहकारी संस्थाहरू प्रविधिको प्रयोग र सदस्य सेवाको गुणस्तरमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धा गर्न सक्षम रहेको पुष्टि गरेको छ ।
उनले पछिल्लो समय सहकारी क्षेत्रबारे विभिन्न नकारात्मक धारणा फैलिरहेका बेला यस्तो अन्तर्राष्ट्रिय सम्मानले नेपाली सहकारीप्रतिको विश्वास बढाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
नेफ्स्कूनद्वारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण
४ आश्विन २०८३, आईतवार
विकू बचतमा रोजगारीको अवसर
४ आश्विन २०८३, आईतवार
७ लाख बचतबाट २ अर्ब २८ करोड कारोबारसम्म, बालकुमारी साकोसको २७ वर्षे यात्रा
४ आश्विन २०८३, आईतवार