२८ असार २०८३, आईतवार

किसान सहकारीको पहलमा वातावरणमैत्री नमुना गाउँ

२०८३ असार २८, आईतवार
किसान सहकारीको पहलमा वातावरणमैत्री नमुना गाउँ

कैलाली : डडेल्धुराको आलीताल गाउँपालिका वडा नं. ८ स्थित डोलागाउँलाई आगामी दुई वर्षभित्र पूर्ण रूपमा ‘वातावरणमैत्री नमुना गाउँ’ का रूपमा विकास गरिने भएको छ। किसान बहुउद्देश्यीय सहकारी संस्थाले स्थानीय सरकार र गाउँबासीसँगको सहकार्यमा यो अभियान सुरु गरेको हो।

‘प्रकृतिमै रमाऔँ, प्रकृतिमै कमाऔँ, वातावरणमैत्री डोला गाउँ मिलेर बनाऔँ’ भन्ने नाराका साथ सुरु गरिएको यस कार्यक्रमका लागि प्रारम्भिक घरधुरी सर्वेक्षण सम्पन्न भइसकेको छ। १६५ घरधुरी रहेको यस गाउँलाई नमुना बनाउन संस्थाले सुदूरपश्चिम प्रदेश सरकार र आलीताल गाउँपालिकासँग सम्झौता समेत गरिसकेको छ।

निःशुल्क कफी बेर्ना वितरण र व्यावसायिक तालिम
अभियानकै कार्यक्रम स्वरूप संस्थाले डोलागाउँका स्थानीयलाई व्यावसायिक कफी उत्पादनसम्बन्धी व्यावहारिक तालिम प्रदान गरेको छ। राष्ट्रिय चिया तथा कफी विकास बोर्डको प्राविधिक सहकार्यमा डोलागाउँमा कफी खेतीको सम्भाव्यता अध्ययन र तालिम पश्चात् शुक्रबार आयोजित एक कार्यक्रमका बीच प्रस्तावित नमुना गाउँका सदस्यहरूलाई निःशुल्क कफीका बेर्नाहरू वितरण गरिएको छ।

बेर्ना वितरण कार्यक्रममा बोल्दै आलीताल गाउँपालिकाका अध्यक्ष शेरसिंह पार्की र उपाध्यक्ष मैनाकुमारी रावलले सहकारी संस्थाको यस उदाहरणीय कार्यको प्रशंसा गरेका छन्। उनीहरूले वातावरणमैत्री गाउँ विकासका लागि स्थानीय सरकारको तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता दोहोर्याए।

पूर्वाधार र वातावरण संरक्षणका कार्यक्रम
सम्झौता अनुसार वातावरणमैत्री गाउँ विकासका लागि आवश्यक भौतिक पूर्वाधार निर्माणमा आलीताल गाउँपालिकाले बजेट विनियोजन गर्नेछ । यस्तै, सहकारी संस्थाले हरित कर्जा मार्फत कृषि तथा वातावरणमैत्री उद्यमशीलता प्रवद्र्धन गर्ने योजना अघि सारेको छ ।

संस्थाले स्थानीय उत्पादनको बजारीकरण, नमुना गाउँका सदस्यहरूलाई सहकारीको सेवा उपभोगमा विशेष अनुदान, कार्बन उत्सर्जन न्यूनीकरणका उपाय र सरसफाइ सामग्री तथा उपकरणहरू वितरण गर्नेछ। यसका साथै वृक्षारोपण, प्राकृतिक स्रोत संरक्षणमा स्थानीयको क्षमता अभिवृद्धि, र ‘शून्य प्रदूषण, शून्य फोहोर’ सम्बन्धी तालिम एवं सामुदायिक सशक्तीकरणका कार्यक्रमहरू सञ्चालन गरिने संस्थाले जनाएको छ ।

संस्थाका अनुगमन विभाग प्रमुख प्रकाश जिसीको अध्यक्षतामा सम्पन्न बेर्ना वितरण कार्यक्रममा नेपाल पत्रकार महासंघ डडेल्धुरा शाखाका कोषाध्यक्ष भक्तबहादुर गाहा, स्थानीय समाजसेवी रामचन्द्र पुन, संस्थाका सदस्य तथा कर्मचारीहरूको उपस्थिति थियो ।

अभिलेख

लोकप्रिय