सदस्य हित र सामाजिक उत्तरदायित्वसँगै बिन्धवासिनीको ३३औँ स्थापना दिवस सम्पन्न
काठमाडौं : काभ्रे जिल्लाको खोपासीमा स्थापना भई हाल मुख्य कार्यालय बनेपामा रहेको बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो ३३औँ स्थापना दिवस विविध कार्यक्रमका साथ सम्पन्न गरेको छ।
स्थापना दिवसको अवसरमा संस्थाले पनौती नगरपालिका-१ स्थित शान्ति निकेतन माविमा विद्यार्थीहरूका लागि वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको थियो। साथै, शैक्षिक बाल बचतकर्ताहरूको व्यक्तित्व विकासका लागि “आजको आवश्यकता, सहकारी शिक्षा” विषयक सेवा कार्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको थियो।
त्यसैगरी, खुला रक्तदान कार्यक्रम, कर्मचारी तथा पदाधिकारीहरूका लागि “जिम्मेवारीदेखि नतिजासम्मः वित्तीय संस्थाहरूमा प्रेरणादायी नेतृत्व, सुशासन र मानव पूँजी उत्कृष्टता” विषयक अनुशिक्षण कार्यक्रम तथा विभिन्न विधामा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम पनि सम्पन्न गरिएको थियो।
वि.सं. २०५० कार्तिक २९ गते प्रादुर्भाव भई २०५० फागुन ६ गते डिभिजन सहकारी कार्यालय काभ्रेमा दर्ता भएको मितिलाई आधार मानी संस्थाले प्रत्येक वर्ष फागुन ६ गते स्थापना दिवस मनाउँदै आएको छ।
संस्थाका अध्यक्ष शान्तकुमार श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि संस्थापक अध्यक्ष भरतप्रसाद शर्माले स्थापना कालको स्मरण गर्दै सहकारी सदस्यको हितका लागि काम गर्ने संस्था भएको उल्लेख गर्नुभयो। उहाँले सहकारीले बैंकझैँ बचत र ऋण कारोबारमा मात्र सीमित नभई सदस्यको सुख–दुःखमा साथ दिनुपर्ने धारणा व्यक्त गर्नुभयो।

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत के.बी. लामा स्याङ्तानले संस्थाको स्थापना देखिनै हालसम्मको गतिविधि प्रस्तुत गर्दै सानो सुकुल र ट्याङ्काबाट सुरु भएको संस्थाले ३२ वर्षमा काभ्रे सहित उपत्यकाका तीन जिल्लामा सेवा विस्तार गर्न सफल भएको जानकारी दिनुभयो। हाल संस्थामा ६०,१३१ सदस्य तथा १२,३५१ शैक्षिक बाल बचतकर्ता गरी कुल ७२,४८२ जना सेवाग्राही रहेका छन्।
संस्थाको शेयर पूँजी ५३ करोड ८४ लाख ९९ हजार रुपैयाँ, बचत ४ अर्ब १८ करोड २ लाख ३६ हजार रुपैयाँ, जगेडा तथा अन्य कोष ६० करोड १४ लाख ८१ हजार रुपैयाँ रहेको र कुल कारोबार ५ अर्ब ४८ करोड ८७ लाख १ हजार रुपैयाँ पुगेको जानकारी दिइयो।
संस्थाले राहत सुविधा, बीमा तथा सुरक्षा सेवा, आयमूलक तथा सीपमूलक तालिम, अध्ययन–अवलोकन भ्रमण, अन्धोपन निवारण कार्यक्रम, स्वास्थ्य शिविर, निःशुल्क रक्ततत्व वितरण, स्वास्थ्य उपचार छुट सुविधा, सहुलियत ब्याज अनुदान, कृषि परामर्श तथा प्राविधिक सेवा लगायत सामाजिक तथा सामुदायिक कार्य गर्दै आधुनिक प्रविधिमैत्री सेवा प्रदान गर्दै आएको जनाएको छ।
कार्यक्रममा संस्थापक अध्यक्ष भरतप्रसाद शर्मालाई नगदसहित सम्मान गरिएको थियो। साथै, २४ जना पूर्व सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समिति सदस्यहरू, सेवा कार्यालय व्यवस्थापन उपसमितिमा योगदान पुर्याएका १८ जना निर्वतमान पदाधिकारीहरूलाई कदरपत्रसहित सम्मान गरिएको थियो।
त्यसैगरी, ५ जना जेहेन्दार तथा उत्कृष्ट शैक्षिक बाल बचतकर्तालाई छात्रवृत्ति प्रदान गरिएको थियो। वक्तृत्वकला प्रतियोगितामा प्रथम अञ्जली काफ्ले, द्वितीय नितेश चिमौरिया, तृतीय अनुस्का गिरी र सान्त्वना आचल खड्कालाई नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो। छ वटा सहयोगी संघ–संस्थालाई कृतज्ञता पत्र प्रदान गरिएको थियो।
प्रमुख अतिथिद्वारा सहकारी अभियन्ता मुकुन्दप्रसाद दाहाललाई सम्मान गरिएको थियो। आ.व. २०८१/०८२ को कार्यसम्पादन मूल्याङ्कनमा उत्कृष्ट बनेपा सेवा कार्यालय तथा कर्मचारीहरू सुरज अधिकारी, सविता भण्डारी कोइराला र सोविता लामिछाने न्यौपानेलाई नगदसहित पुरस्कृत गरिएको थियो। २० वर्ष सेवा अवधि पूरा गरेका कर्मचारी दीपक गुरागाईं र नमराज तिमल्सिनालाई दीर्घ सेवा पदक प्रदान गरिएको थियो।
सोही अवसरमा संस्थाका सदस्यलाई आवश्यक पर्दा नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखाबाट निःशुल्क रगत उपलब्ध गराउने सम्झौता समेत गरिएको थियो।
कार्यक्रम संस्थाका सचिव डोरेन्द्रराज सापकोटाले सञ्चालन गर्नुभएको थियो। उपाध्यक्ष रामहरि शर्मा तिमल्सिना, पूर्व सञ्चालक डा. अम्भुभवानी काकी, नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखाका सभापति देवेन्द्रप्रसाद भैल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै सहकारीले ग्रामीण क्षेत्रको आर्थिक तथा सामाजिक विकासमा पुर्याएको योगदानको प्रशंसा गरेका थिए।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
फागुन १५ गतेदेखि ‘ऋण क्लिनिक’ सञ्चालन गर्दै विकू बचत
१२ फाल्गुन २०८२, मंगलवार
सदस्य हित र सामाजिक उत्तरदायित्वसँगै बिन्धवासिनीको ३३औँ स्थापना दिवस सम्पन्न
१० फाल्गुन २०८२, आईतवार
नेपाल दुग्ध उत्पादक सहकारीद्वारा पशु स्वास्थ्य शिविर, औषधि तथा परामर्श सेवा निःशुल्क
१० फाल्गुन २०८२, आईतवार