५ असार २०८३, शुक्रबार

विविध कार्यक्रमसहित प्रतिभा बहुउद्देश्यीय सहकारीले मनायो २७औँ स्थापना दिवस

२०८३ असार ५, शुक्रबार
विविध कार्यक्रमसहित प्रतिभा बहुउद्देश्यीय सहकारीले मनायो २७औँ स्थापना दिवस

काठमाडौं : ललितपुरको थसिखेलमा केन्द्रीय कार्यालय रहेको प्रतिभा बहुउद्देश्यीय सहकारी संस्थाले २७औँ स्थापना दिवस विभिन्न सामाजिक तथा स्वास्थ्यसम्बन्धी कार्यक्रम आयोजना गरी भव्य रूपमा मनाएको छ। स्थापना दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटी ललितपुर जिल्ला शाखाको प्राविधिक सहयोगमा आयोजित खुला रक्तदान कार्यक्रममा ३७ जना रक्तदाताले स्वेच्छिक रूपमा रक्तदान गरेका थिए।

मानव जीवन बचाउन तथा रगतको अभाव न्यूनीकरण गर्न सहयोग पुर्‍याउने उद्देश्यले आयोजित उक्त कार्यक्रममा स्थानीय समुदाय, संस्थाका सदस्य तथा शुभेच्छुकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। साथै, लायन्स इन्टरनेसनल ३२५E अन्तर्गतको लायन्स क्लब अफ काठमाडौं भ्याली सेन्टिनियल तथा ॐ समाज डेन्टल हस्पिटल, चापागाउँ दोबाटो, ललितपुरको प्राविधिक सहयोगमा सञ्चालन गरिएको निःशुल्क दन्त स्वास्थ्य शिविरमा ८४ जनाले दन्त परीक्षण तथा स्वास्थ्य परामर्श सेवा प्राप्त गरेका थिए।

शिविरमार्फत सहभागीहरूले मुख तथा दन्त स्वास्थ्यसम्बन्धी आवश्यक जानकारी, परामर्श तथा प्रारम्भिक परीक्षण सेवा निःशुल्क रूपमा प्राप्त गरेका थिए।

संस्थाले स्थापना दिवसलाई केवल औपचारिक समारोहमा सीमित नराखी सामाजिक उत्तरदायित्व तथा समुदायको स्वास्थ्य प्रवर्द्धनसँग जोडेर कार्यक्रम सञ्चालन गरेको जनाएको छ। कार्यक्रममा संस्थाका सल्लाहकारहरू, पूर्व सञ्चालकहरू, सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति तथा विभिन्न उपसमितिका पदाधिकारी, कर्मचारी, सदस्यहरू र स्थानीय समुदायको सक्रिय सहभागिता रहेको थियो।

यस अवसरमा स्थानीय टोल सुधार समितिका पदाधिकारी, विभिन्न क्लबका प्रतिनिधि, सामाजिक संघसंस्थाका प्रतिनिधि तथा समाजसेवी व्यक्तित्वहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले सहकारी संस्थाले समुदायमुखी कार्यक्रममार्फत सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आएको भन्दै प्रशंसा व्यक्त गरेका थिए।

कार्यक्रमका अवसरमा संस्थाका अध्यक्ष कृष्णप्रसाद शर्माले सहकारीको २७ वर्षे यात्रामा साथ, सहयोग र विश्वास प्रदान गर्ने सम्पूर्ण सदस्य, कर्मचारी, सहयोगी संस्था तथा स्थानीय समुदायप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि सामाजिक, आर्थिक तथा स्वास्थ्य क्षेत्रमा थप प्रभावकारी कार्यक्रम सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गरे।

विविध सामाजिक तथा स्वास्थ्य सेवा कार्यक्रमसहित मनाइएको यस स्थापना दिवसले सहकारी र समुदायबीचको सम्बन्धलाई अझ सुदृढ बनाएको विश्वास संस्थाले व्यक्त गरेको छ।

अभिलेख

लोकप्रिय