सहकारी संस्थामा लेखा समितिको सक्रियता वृद्धिका उपायहरू
– दोर्णराज घिमिरे
सहकारीलाई असहकारी हुनबाट जोगाउन सहकारी क्षेत्रमा आन्तरिक नियन्त्रणको मुख्य अंगको रुपमा संस्थागत व्यवस्था गरिएको संरचना हो, लेखा समिति । लेखा समितिले आफ्नो भुमिका कम बुझ्नाले, सम्बन्धीत काममा सिप र दक्षताको कमी, उचित कार्यवातावरण नपाउनाने, लेखा समितिको आन्तिरिक नियन्त्रणमा जुन भूमिका अपेक्षा गरिएको थियो त्यो पुरा हुन नसकिरहेको देखिन्छ ।
सैद्धान्तिक हिसावले पनि स्वयिनमनमा चल्नुपर्ने सहकारी संस्थाहरुमा, आन्तरिक नियन्त्रण प्रणाली नै महत्वपुर्ण हो, त्यसका लागि लेखा समितिको सकृय भुमिका चाहिन्छ नै । सहकारी संचालन, व्यवस्थापनका धेरै जोखिमहरुलाई कम गराएर दिगोरुपले संचालन हुने सुसासित संस्था निमार्णको लागि भुमिका खेल्नु पर्ने लेखा समिति धेरै सहकारीहरुमा नाम मात्रको हुन गएको जस्तो अवस्था छ । हुनुपर्ने जति प्रभावकारी भूमिका देखिन्न । लेखा समितिको भूमिका सहकारी ऐन, नियम र विनियममा महत्वपूर्ण तोकिँदा पनि सकृयता कमजोर रहँदा सहकारी संस्थाको आन्तरिक नियन्त्रण कमजोर हुन पुग्यो । कमजोर आन्तरिक नियन्त्रणको परिणाम संस्था धरासायी हुने, भाग्ने, बचत फिर्ता गर्न नसक्ने जस्ता अप्रिय अवस्था सृजना हुनलाई बल पुर्यायो ।
लेखा समितिलाई सकृय भूमिका वृद्धि गर्न यसका कारणहरुको विश्लेषण गरेर सो मा सुधार गर्न सकेमा, पक्कै पनि आशातित परिणाम देख्न सकिएला । विश्लेषण र सुधारका उपायहरुबारे संस्था आफैले प्रयास गर्नुपर्ने आत्मबोध गर्ने हो भने, सकृयता वृद्धि गर्न पनि सकिन्छ । ती मध्येका केही शीर्षकहरु आफ्नो अनुभव, कार्य, भएका छलफल र अन्र्तकृयाका आधारमा महत्वपूर्ण ठानेर उल्लेख गर्दछु ।
क) लेखा समितिको छनौटमा ध्यान दिनुपर्ने
संस्थामा लेखा समिति छनौट गर्दा, निर्वाचित गर्दा समितिमा अटाउन नसकेका, समय कम दिन सक्ने भएर, विरोध गर्नेको मुख टाल्नलाई मात्र छनौट गर्नु भएन । त्यतीमात्र नभई समिति वा व्यवस्थापकले भनेको मान्ने सोझो मात्र खोज्नु भएन । सहकारी नीति नियम बुझेको, आफ्नो भूमिका प्रति सचेत, जिम्मेवारी र जवाफदेहिता लिने, सामाजिक सेवा भाव भएको, नजानेको सिक्न खोज्ने र सिकेको कुरा अरुलाई बुझाउन सक्ने व्यक्तित्व लेखा समितिमा छनौट गर्नुपर्छ । ठाउँ परिवेश अनुसार भने जस्तो उपयुक्त व्यक्तित्व नपाइन सक्न तर छनौट, निर्वाचित गर्दा सकेसम्म त्यस्ता व्यक्ति हुुनुपर्छ । लेखासमितिको छनौट, समितिको निर्वाचनपछि हुने गरेको व्यहारिक अभ्यास देखिन्छ । लेखा समितिको महत्वलाई उजागर गर्न पहिले लेखा समितिको छनौट वा निर्वाचित गरेर समितिको छनौट प्रकृया गर्न उपयुक्त होला कि ।
ख) सिप तथा दक्षताको वृद्धि गर्नुपर्ने
आन्तरिक निरिक्षणको जिम्मेवारी पाएको लेखा समितिलाई सो सम्वन्धी ज्ञान र सिप हुन जरुरी भए पनि सबै संस्थामा सो ज्ञानसिप भएका नै लेखा समिति हुन्छन् भन्ने हुँदैन र पढेलेखेका दक्ष कर्मचारीहरुले गरेको कार्य, सामान्य जानकार, त्यस क्षेत्रको अनुभव नभएका लेखा समितिले के जाँच गर्ने होला भनी कमजोर आत्मवल राखी लेखा समिति निष्कृय रहेको देखिन्छ । तर, कमजोर लेखा समितिलाई किन र कसरी सशक्त बनाउने भन्ने बारे संस्थाहरुमा सोच रहेको कम नै पाइन्छ ।
त्यसैले संस्थामा लेखा समितिको सकृया भूमिका वृद्धि गराउन संस्था आफैले नीति तथा कार्यक्रम बनाइ सो को कार्यान्वयन गराउनु पर्छ । संस्था निरिक्षण बहुआयामिक प्राविधिक विषय भएता पनि साना साना विषय र पक्षका सुधारले पनि महत्वपूर्ण जोखिम घटाउन सकिने भएकाले, संस्था समिति तथा व्यवस्थापले लेखासमितिलाई हतोत्साही नभइ जानेका साना साना विषयमा निरिक्षण गर्न उत्प्रेरित र सहयोग गर्नुपर्छ । लेखा समितिको ज्ञान सिप वृद्धि गराउने दायित्व समिति र व्यवस्थापन कै हो भन्ने स्वीकार गर्नुपर्छ ।
ग) तालिम कार्यक्रममा सरल व्यवहारिक अभ्यासलाई समावेश
लेखा समिति सदस्यलाई तालिम प्रदान गरिदा जटिल सैद्धान्तिक र जटिल व्यवहारिक अभ्यासहरु बारे बढि जानकारी दिने गरेको तर कम जानकार सहभागीले सो नबुझ्ने भएकोले केही पनि प्रयोगमा नआएको देखिन्छ । आवश्यक नै भएपनि सामान्य विषयमा ज्ञान नभइ, अभ्यास नगरि जटिल सैद्धान्तिक अभ्यास बुझ्न बुझाउन सकिदैन । तालिमका चरणहरु तय गरि आवश्यकता अनुसार सरल विषयहरु समेत समावेस गर्न आवश्यक छ ।
जस्तोः सामान्य सारक्षरले पनि गर्न सक्ने, नगदको भौतिक परिक्षण, नगदको जिम्मा, बैंक हिसाबको भिडान भए नभएको, लेखा हिसावको अद्यावधिकता, खर्च विल भरपाईको सिफारिस र स्वीकृत, संलग्नता, समितिले गरेका निर्णयको कार्यान्वयन, ऋण लगानी र कागजात सामान्य परिक्षण र सो को सामान्य प्रतिवेदन लेखनको सिप समेत दिन सके लेखा समिति सकृयता वृद्धि गराउन सकिने थियो ।
घ) लेखा समितिको कैफियत उपरको छलफल तथा प्रतिकृया
लेखा समितिले आफ्नो प्रतिवेदन वा निर्णयमा जस्तो कैफियत दिएपनि समिति तथा साधारण सभामा खास निर्णय गरेर प्रतिकृया नजनाउने, सुधारका लागि गम्भिर नहुने गरेकोले लेखा समितिले सुझाव दिएर के नै हुन्छ ? सुधार हुने वा प्रतिकृया आउने होइन भन्ने भावना बढेर गएको छ । साधारण सभामा लेखा समितिको कार्य बारे सदस्यले प्रश्न नै नगर्ने भएकोले पनि लेखा समिति निष्कृय हुनलाई सहयोग गरेको छ । संस्था बिग्रीएको, जोखिम भएको बारे अध्ययन गरेर साधारण सभामा जानकारी गराउनुपर्ने महत्वपूर्ण निकायलाई सदस्यले महत्व दिनुपर्नेबारे सचेतना वृद्धि गर्नुपर्छ । लेखा समितिले उठाएका प्रश्न कैफियतको बारे गम्भिर भई समितिले निर्णय, सुधार गर्नुपर्छ ।
त्यसैगरि साधारण सभामा लेखा समितिका कार्यबारेमा, प्रतिवेदन बारेमा सदस्यसँग अन्तरक्रिया हुने वातावरण बनाउन सके, लेखा समितिको सकृयता वृद्धि हुने थियो ।
ङ) मनोसामाजिक पक्ष
हाम्रो समाजको छुच्चो किन हुने भन्ने मनोसामाजिक पक्षले लेखा समितिलाई सामाजिक विवेकका लागि कार्य गर्नुपर्ने जिम्मेवारीमा बाधा गरिरहेको हुँदा लेखा समितिको सकृयतालाई कमजोर बनाएको छ । सरोकारवालाको हौसला, लेखा समितिको दायित्व प्रतिको जवाफदेहिताले जिम्मेवारीपुर्वक यो मनोसामाजिक पक्षलाई चिरेर सकृय बनाउन सकिन्छ । संस्थाको तालिम लगायत सबै खालका कार्यक्रममा संस्थाले र तालुक कार्यालयहरुले लेखा समितिको भूमिकालाई उजागर गरेर यो मनोसामाजिक पक्षलाई जित्न सकिन्छ ।
च) जिम्मेवार बोध
लेखा समिति छनौट भइ आएपछि, लेखा समितिलाई सामाजिक तथा कानुनी दायित्व आएको हुन्छ कि संस्थाको नियमानुसार निरिक्षण अनुगमन गरि संस्था सुधार गर्न लगाउनु र तोकिएका पक्षमा साधारण सभामा जानकारी गराउनु । तर छनौट भई आएका समिति नै मलाई थाहा छैन, जान्दिन भन्दै पन्छिने प्रवृति देखिएको पनि छ । जति थाहा छ त्यहीबाट शुरु गर्नु, नजानेको विषयमा संस्था मै र तालुक कार्यालयसँग समन्वय गरि सिक्न सकिन्छ तर सकेको थोरै भएपनि गर्नै पर्छ भन्ने बोध हुन चाँही आवश्यक छ । संस्थाले पनि लेखा समितिको सकृयताले संस्थाको हित हुने बोध गरेर, त्यसको क्षमता विकासमा काम गर्ने जिम्मेवारी लिने हो भने लेखा समितिको सकृय भूमिका अझै बढाउन सकिन्छ ।
र अन्त्यमा, जिम्मेवारी र जवाफदेहिताका साथ संस्थाको सुशासन, दिगोपना र समाजको हितलाई सर्वोपरि राख्दै जिम्मेवारी र जवाफदेहिताका साथ कार्य गर्ने हो भने, लेखा समितिको भूमिका केवल कानुन र कागजमा मात्र होइन, व्यवहारमा पनि अत्यन्त महत्वपूर्ण हुन्छ। लेखा समितिको सक्रिय भूमिकाले सहकारीलाई स्वनियमनमा राख्दछ । संस्थागत नियन्त्रण पद्धति नबुझ्ने सदस्य, बुज्न नखोज्ने संचालक र व्यवस्थापकका कारणले पनि लेखा समिति निष्कृय हुन पुगेको हो ।
व्यवस्थापनले गरेको कार्यलाई सुधारका लागि दिएको सुझाव वा आलोचनालाई विरोध वा गालीको अर्थमा बुझिने समाजमा लेखा समितिको सकृयता वृद्धिका लागि उसको दायित्व र जिम्मेवारीलाई सजग गराउँदै र समर्थन गर्दै, जहाँ जति गर्न सकिन्छ सो गर्नलाई लेखा समितिलाई उत्प्रेरित गर्नु सदस्य, संस्था र तालुक कार्यालय सबैको दायित्व हो । जसले गर्दा लेखा समितिको सक्रिय भूमिकामा वृद्धि होस्, समाजले खोजे जस्तो संस्था सञ्चालन होस् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
आईस्मार्ट चौथो वर्षमा प्रवेश, थप तीन गुणा फिचरसहित भर्सन २.० सार्वजनिक
१८ बैशाख २०८३, शुक्रबार
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सहकारी अध्यादेश जारी
१७ बैशाख २०८३, बिहीबार
समस्याग्रस्त सहकारीको बचत फिर्ता र ऋण असुलीको काम एकसाथ अगाडि बढाउँछौं: मन्त्री रावल
१६ बैशाख २०८३, बुधबार