२० कात्तिक २०८३, शुक्रबार

नेपालकै पहिलो व्यबस्थित ‘न्यु मोबाइल मार्केट’ सिटिसी मलमा

२०७१ साउन २९, बिहिबार
नेपालकै पहिलो व्यबस्थित ‘न्यु मोबाइल मार्केट’ सिटिसी मलमा

काठमाडौं, २९ साउन । सुन्धारास्थित सिटिसी मल (सिभिल ट्रेड सेन्टर)मा  नेपालकै पहिलो व्यबस्थित मोबाइल बजार संचालन हुने भएको छ । मलको चौथो तल्ला र पाँचौं तल्लामा १ सय भन्दा बढि मोबाइलका ब्राण्डेड पसल तथा बिभिन्न कम्पनीका शोरुम र केयर सेन्टर खुल्ने भएको हो ।

नेपालकै भव्य, व्यबस्थित र आधुनिक यस मोबाईल मार्केटको संचालन र तयारीको बारेमा आज सिटिसी मलमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिईयो । पत्रकार सम्मेलनमा मार्केटको हालको तयारी, व्यवस्थापनको प्रकृया, भावी योजना र संचालनमा आउने समयको बारेमा कम्पनिका संचालकहरु तथा सिभिल ग्रुपका अध्यक्षसहित व्यवसायीहरुले जानकारी दिए । दक्ष व्यवसायीहरुको ब्यबस्थापनमा संचालन हुने यस मोबाइल बजारका सबै पसल तथा केयर सेन्टरहरु निर्माणको अन्तिम चरणमा रहेका छन् ।

निकै वर्ष लामो अनुभव बटुलेका मोबाइल व्यवसायीहरुको समूहले संचालन गर्ने न्यू मोबाइल मार्केटका अध्यक्ष पुरुषोत्तम बस्नेतले हालसम्म सबै पसलहरुको निर्माण पुरा भएको र सामान्य सजावटको काम मात्रै बाँकि भएको जानकारी दिए । ‘हामी तयारी अवस्थामा छौं र केहि प्राविधिक कामहरु सम्पन भएपछि न्यू मोबाईल मार्केट भदौ १२ गतेदेखि  शुभारम्भ गर्नेछौं ।’ उनले भने । मार्केटले नेपाली नारीहरुको महान चाड तिजको अवसर पारेर मार्केटको शुभारम्भका साथै विभिन्न ग्राण्ड ओपनिङ प्रबद्र्धनात्मक एक्स्पो पनि आयोजना गर्ने भएको छ ।

ग्राण्ड ओपनिङको अवसर पारेर मोबाइल मार्केटले भदौ १२ गतेदेखि २१ गतेसम्म प्रबद्र्धनात्मक एक्सपो पनि आयोजना गर्न लागेको छ । उक्त एक्सपोको अवधिभर मोबाईल खरिदमा प्रत्येक दिन एउटा ३० हजार रुपैंया बराबरको मोबाइल सेट र बम्पर उपहारमा ८० हजार रुपैंया बराबरको मोबाइल सेट एक जनालाई प्रदान गरिने छ ।
त्यसैगरी ग्राण्ड ओपनिङ एक्सपोको अवसर पारेर हरेक ब्राण्डको नयाँ मोबाइल खरिदमा ७ प्रतिशतदेखि ७० प्रतिशतसम्मको विशेष छुट पनि दिइने मार्केटका अध्यक्ष बस्नेतले जानकारी दिए ।

यस मोबाईल मार्केटमा २४ सै घण्टा बिजुली, पार्किङ तथा सुरक्षाको ब्यबस्था मिलाइएको छ भने मोबाइल बजारमा आउने ग्राहकहरुले निशुल्क वाइफाइमार्फत इन्टरनेट प्रयोग गर्न पाउनेछन् ।

मोबाइल खरिदका लागि आउने ग्राहकको लागि पार्किङको प्रशस्त सुबिधा दिईएको छ भने मोबाइल खरिद गरेको खण्डमा कुनै पार्किङ शुल्क नलाग्ने ब्यबस्था मिलाईएको छ । विभिन्न मल तथा सपिङ सेन्टरहरुमा अझैपनि ग्राहकहरुसँग पाकिङको शुल्क उठाउने गरेको अवस्थामा त्यस्तो अनावश्यक खर्चबाट उपभोक्तालाई राहत हुने कम्पनिको ठहर छ ।

मोबाइल बजारमा सामसुङ, हुवावे, सोनी, नोकिया, एलजी, कलर्स, कार्बन, बिक्यु, लेनेभो, सेलकोन, आइफोन, स्पाइस, डिटिसी, इन्टेक्स, एचटिसी, लाभा, जोलो, रेज, माइक्रोम्याक्स, फ्लाइ र वीनकम लगायतका कम्पनीबाट उत्पादित मोबाइल सेटहरु बिक्री बितरण हुने कम्पनीले जनाएको छ । जसअन्तरगत विभिन्न कम्पनिहरुले यस मार्केटमा संचालन हुने पसलहरुको लागि ब्राण्डिङ र नयाँ मोडलहरु सार्वजनिक पनि गर्नेछन् । यस मार्केटमा बजेट फोन, फिचर फोन, स्मार्टफोनका साथै विभिन्न किसिमका ग्याजेट्स र मोबाइल एशेसरीज्, ट्याबलेट, ल्यापटप, फ्याबलेटलगायतका सामाग्रीहरु पनि बिक्री गरिनेछ ।

अभिलेख

लोकप्रिय