२० कात्तिक २०८३, शुक्रबार

दूध उत्पादनमा कैलाली आत्मनिर्भर

२०७१ साउन २८, बुधबार
दूध उत्पादनमा कैलाली आत्मनिर्भर

कैलाली । कैलाली जिल्ला दूध उत्पादनमा आत्मनिर्भर बनेको छ । दुग्ध व्यवसायप्रति किसानको आकर्षण बढ्दै गएपछि यो जिल्ला दूध उत्पादनमा आत्मनिर्भर बनेको हो । जिल्लाका किसान दूध उत्पादनतर्फ आकर्षित भएपछि यहाँबाट दूध अन्य जिल्लामा निर्यात हुन थालेको जिल्ला पशुसेवा कार्यालय कैलालीले जनाएको छ ।

कैलालीमा उत्पादन भएको दूध जिल्ला बाहिर निर्यात हुने गरेको बताउँदै पशुसेवा कार्यालयका प्रमुख डा विनय कर्णले भन्नुभयो व्यावसायिक रुपमा गाई भैँसीपालनमा यहाँका कृषकको आकर्षण बढेसँगै बर्सेनि दूध उत्पादनमा वृद्धि हुँदै आएको छ ।

पशुसेवा कार्यालय कैलालीको गत वर्षको तथ्याङ्कअनुसार २२ हजार १६४ मेट्रिक टन गाईको र ३४ हजार ५९२ मेट्रिक टन भैँसीको गरी वार्षिक ५६ हजार ७५६ मेट्रिक टन दूध उत्पादन भएको छ ।

दूधमा औसत राष्ट्रिय आवश्यकता ५७ भएको र कैलालीमा ७३.१६ उपलब्धता भएकाले कैलाली दूध उत्पादनमा आत्मनिर्भर बनेको सो कार्यालयको तथ्याङ्कले देखाएको छ । कैलालीबाट आजकल दैनिक दुई हजारदेखि दुई हजार ५०० लिटर दूध जिल्ला बाहिर निर्यात हुने गरेको दुग्ध विकास आयोजना अत्तरियाले जनाएको छ ।

जिल्लामा गाई र भँैसीका गरी ५२ वटा फार्म पशु कार्यालयमा दर्ता भएका छन् । ती फार्ममा १५६ जनाले प्रत्यक्ष रोजगारी पाएको पशुसेवा कार्यालयका पुष्प भारतीले बताए । गाईभैँसी फार्मले वार्षिक रुपमा चार करोड ८९ लाख २१ हजार आम्दानी गर्दै आएको उनको भनाइ छ ।

जिल्लाका विभिन्न ठाउँमा १४ वटा दुग्ध सहकारी, ४४ वटा निजी डेरी र एउटा खप्तड इन्डस्ट्रिज प्रालि सञ्चालनमा रहेका छन् । दुग्ध सहकारी, निजी डेरी र इन्डस्ट्रिजले वार्षिक १८ करोड ८४ लाख १० हजारको कारोबार गर्दै आएको बताइएको छ ।

कैलाली–कञ्चनपुरबाट सङ्कलित बढी भएको दूध नेपालगन्ज निर्यात हुँदै आएको छ । बजारमा दूध तथा दुग्ध पदार्थको माग पनि बढ्दै गएको डेरी व्यवसायीको भनाइ छ ।

अभिलेख

लोकप्रिय