२० कात्तिक २०८३, शुक्रबार

नेपाल चीन सचिवस्तरीय समितिलाई सक्रिय बनाइने

२०७१ साउन २३, शुक्रबार
नेपाल चीन सचिवस्तरीय समितिलाई सक्रिय बनाइने

बेइजिङ, २२ साउन । नेपाल र चीनबीच प्रभावकारी संयन्त्रको रुपमा रहेको सचिवस्तरीय समितिलाई सक्रिय गराई दुई मुलुकबीचको व्यापारिक समस्या समाधान गर्ने सहमति भएको छ ।

सो अवसरमा बैठक नियमितरुपमा गर्ने सहमति पनि भएको छ । चीनको औपचारिक भ्रमणमा रहेका अर्थमन्त्री डा रामशरण महत र चीनका वाणिज्यमन्त्री गाओ होचेङबीच बेइजिङमा भएको छलफलपछि उक्त सहमति भएको हो । समितिको बैठक बिनाकारण बिगत ७ बर्षदेखि बस्न सकेको छैन । यसले गर्दा नेपालको चीनसँगको व्यापार तथा कारोबारमा बेलाबेलामा बिभिन्न समस्या आउने गरेका छन । यिनै समस्याका कारण पनि चीनसँगको नेपालको व्यापार बढ्न नसकेको व्यवसायीहरुको गुनासो रहँदै आएको थियो । अहिले चीनसँग नेपालको व्यापारघाटा करिब ६५ अर्ब पुगिसकेको छ । चीनतर्फ निर्यात ३ प्रतिशत र आयात ११ प्रतिशतले बढिरहेको छ ।

नेपालका अर्थमन्त्री डा महतले सचिवस्तरीय बैठक निरन्तर आयोजना गरी दुई देशबीचको व्यापार सहजीकरण गर्न अनुरोध गरेपछि चीनका वाणिज्यमन्त्री होचेङले समितिको बैठकलाई नियमित गर्ने बचन दिएको । वाणिज्यमन्त्री होचेङले भने, बिना कारण लामो समयदेखि रोकिएको सचिवस्तरीय समितिको बैठकलाई नियमितरुपमा आयोजना गरिनेछ । उक्त बैठकका लागि प्रस्तावित एजेण्ड र बिस्तृत कार्यक्रमहरु चाँडै नै उपलब्ध गराइनेछ ।

चीनका वाणिज्यमन्त्री होचेङले सिन्धुपाल्चोकको मांखामा गएको ठूलो बाढी पहिरोबाट बिस्थापितहरुका लागि सहयोग गर्ने बचन पनि दिए । सो अवसरमा उनले भने, छिमेकी मित्रराष्ट्रमा भएको ठूलो दुर्घटनाले हामीलाई दुखित तुल्याएको छ । वाणिज्यमन्त्री होचेङले उक्त घटनाबाट प्रभावितहरुलाई के कस्तो सहयोग होस भन्ने नेपालले चाहेको छ, त्यसको खाका दिएमा सहयोग गर्न सजिलो हुने जानकारी पनि दिए । उनले बाढी पहिरोबाट प्रभावितहरुका लागि आवश्यक सहयोग गर्न एक चिनियाँ टोली चाँडै नै त्यसतर्फ जाने जानकारी पनि दिए ।

चीनका अर्थमन्त्रीपछि नेपालका अर्थमन्त्री डा महतको भेट चीनको शक्तिशाली मानिने वाणिज्य मन्त्रालय सम्हालिरहेका मन्त्री होचेङसँग भएको थियो । वाणिज्यमन्त्री होचेङले पनि नेपालको विकासमा चीनले गर्दै आएको सहयोग जारी रहने प्रतिवद्धता जनाए । अर्थमन्त्री डा महतले नेपाल सन २०२२ सम्ममा विकासशील मुलुकको रुपमा स्थापित हुन चाहेकोले आवश्यक पर्ने ठूलो स्तरको स्रोत परिचालनको लागि सहयोग गर्न आग्रह गरे । विशेषगरी दुई देशबीचको व्यापारिक सम्वन्धलाई सहजीकरण गर्ने उद्देश्यका साथ नेपालका अर्थमन्त्रीको यो भ्रमण आयोजना भएको हो ।

सो अवसरमा अर्थमन्त्री डा महतले भन्नुभयो, नेपाल र चीनबीच सदिऔंदेखिको प्रगाढ सम्वन्ध रहेको छ । तर नेपालमा काम गरिरहेका चिनियाँ केही ठेकेदारहरुले राम्रो काम नगरिदिदा चीनप्रति नेपाली जनताको बुझाई अपेक्षितरुपमा सकारात्मक बन्न नसकेकोले ती कम्पनीहरुलाई आफ्नो मुलुकको प्रतिष्ठासमेत अभिबृद्धि हुने ढंगले काम गर्न निर्देशन गर्नुपर्ने खाँचो महसूस गरिएको छ । उहाँले कतिपय परियोजनाहरुमा चिनियाँ कम्पनीहरुले राम्रो काम गरिरहेको पनि स्पष्ट पारे ।

भेटघाटका अवसरमा अर्थमन्त्री डा महतले पश्चिम सेती जलबिद्युत आयोजनामा भएको सुस्त कार्यप्रगति, मेलम्ची खानेपानी आयोजनामा चिनियाँ बैंकले नेपाली बैंकलाई भुक्तानी नदिएको जस्ता पक्षमा कुटनीतिक हस्तक्षेप गरी समस्या समाधान गरिदिन आग्रह गरे । साथै उनले चीनको लगानीमा वा नेपालसँगको संयुक्त लगानीमा नेपालमा बैंक स्थापना गर्न सकेमा दुई मुलुकबीचको व्यापारलाई सहजीकरण गर्न ठोस सहयोग पुग्ने भएकोले यसतर्फ पनि बिचार गर्न चिनियाँ वाणिज्यमन्त्री समक्ष आग्रह गरेका थिए ।

नेपाल र चीनबीच करिब ६५ अर्ब रुपैयाँ बराबरको व्यापारघाटा रहेको छ । यस्तो व्यापारघाटा चुनौतीपूर्ण रुपमा रहेको उल्लेख गर्दै अर्थमन्त्री डा महतले नेपाली बस्तुहरुको सहुलियतपूर्ण र सहजतापूर्ण पहुँचको लागि पनि चीनका वाणिज्यमन्त्रीसँग आग्रह गरे । सो अवसरमा अर्थमन्त्री डा महतले चीनका वाणिज्यमन्त्री होचेङलाई अनुकूल समयमा नेपाल भ्रमणको निम्तो पनि दिएको छ ।

अभिलेख

लोकप्रिय