२० कात्तिक २०८३, शुक्रबार

‘मौद्रिक नीतिका लक्ष्य ःआर्थिक स्थायित्व, आर्थिक वृद्धि र मूल्यवृद्धि नियन्त्रण’

२०७१ साउन १३, मङ्गलबार
‘मौद्रिक नीतिका लक्ष्य ःआर्थिक स्थायित्व, आर्थिक वृद्धि र मूल्यवृद्धि नियन्त्रण’

काठमाडौँ, १३ साउन । नेपाल राष्ट्र बैंकका गभर्नर युवराज खतिवडाले मुलुकको समग्र आर्थिक स्थायित्व, आर्थिक वृद्धि र मूल्यवृद्धि नियन्त्रण मौद्रिक नीतिका लक्ष्य एवम् उद्देश्य भएको स्पष्ट गर्नुभएको छ ।
इन्डिपेन्डेन्ट बिजनेस न्यूज मिडिया एन्ड रिसर्च नामक संस्थाले आज यहाँ आयोजना गरेको ‘मौद्रिक नीति र वित्तीय क्षेत्र सुधार’ विषयक छलफल कार्यक्रममा उहाँले शैशवावस्थामा रहेका देशका वित्तीय संस्थाको सुदृढीकरणमा मौद्रिक नीति केन्द्रित रहेको बताउनुभयो ।
मूल्यवृद्धिलाई नियन्त्रणमा राख्दै आर्थिक वृद्धिका लक्ष्य पूरा गर्नु मौद्रिक नीतिको उद्देश्य हो भन्दै उहाँले वित्तीय प्रणालीलाई समस्यारहित तुल्याउन कानुनी दायरामा रहेर उक्त नीति सार्वजनिक गरिएको प्रष्ट गर्नुभयो ।
कृषि, ऊर्जा, पर्यटन र साना तथा घरेलु उद्योगले प्रतिफलका साथै रोजगारीका अवसरहरू सिर्जना गर्ने भएकाले ती क्षेत्रमा लगानी बढाउन वाणिज्य बैंकहरूलाई निर्देशन दिइएको प्रष्ट्याउँदै गभर्नर खतिवडाले देशको समग्र अर्थतन्त्रलाई उजिल्याउन बैंकको स्रोत परिचालन हुनैपर्छ भन्नुभयो ।
“वित्तीय स्थायित्वको सुनिश्चितता, पारदर्शिता एवम् जवाफदेहिता प्रवद्र्धन गर्न तथा सर्वसाधारण निक्षेपकर्ताको रकमको सुरक्षाका लागि संस्थागत सुशासनसम्बन्धी व्यवस्था गरिएको हो”, बैंकका सञ्चालक तथा अध्यक्ष दुई कार्यकालभन्दा बढी पदमा बस्न नपाइने मौद्रिक नीतिले गरेका प्रावधानको व्याख्या गर्दैै उहाँले भन्नुभयो ।
बैंक तथा वित्तीय क्षेत्रको स्वास्थ्य सुधारका लागि बैंक तथा वित्तीय संस्था ऐन, बैंकिङ कसुर तथा सजाय ऐन र विदेशी विनिमय नियमित गर्ने ऐन संसद्समक्ष प्रस्तुत गर्ने तयारी भइरहेको बताउँदै उहाँले विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन तर्जुमाबारे पनि केन्द्रीय बैंकले छलफल गरिरहेको जानकारी दिनुभयो ।
नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले मूल्यवृद्धि नियन्त्रण नै मौद्रिक नीतिको लक्ष्य हुनुपर्नेमा जोड दिँदै अघिल्लो वर्ष जारी भएको उक्त नीतिले पनि घोषित लक्ष्य हासिल गर्न नसकेकामा आलोचना गर्नुभयो । कृषि एवम् उत्पादनमूलक क्षेत्रमा लगानी बढाउन बाध्यात्मक प्रावधान नीतिले गरेकामा त्यो स्वागतयोग्य भएको उहाँले बताउनुभयो ।
कार्यक्रम आयोजक संस्थाका प्रबन्ध निर्देशक हृदयराज गौतमको सभापतित्वमा भएको उक्त कार्यक्रममा नेपाल बैंकर्स सङ्घका अध्यक्ष राजनसिंह भण्डारीले महँगीबाट आहत सर्वसाधारणको क्रयशक्ति बढाउने खालको मौद्रिक नीति आउनुपथ्र्यो भन्नुभयो । साथै उहाँले नीतिमा गरिएको उत्पादनशील क्षेत्रको परिभाषा सङ्कुचित भएको गुनासो गर्नुभयो ।

अभिलेख

लोकप्रिय