मह उत्पादनमा निजी क्षेत्रको प्रस्ताव आए छ प्रतिशत ब्याजमा लगानीः कृषि विकास मन्त्री
काठमाडैा, ६ साउन । नेपाल महमा समेत परनिर्भर भएपछि सरकारले निजी क्षेत्रका उद्यमीहरूलाई मह उत्पादनमा लगानी गर्न आह्वान गरेको छ ।
नेपालले भारत, अमेरिका, डेनमार्क र चीनबाट करिब रु ६० करोडको मह आयात गर्दै आएको नेपाल केन्द्रीय मह व्यवसायी सङ्घका अध्यक्ष धर्मराज श्रेष्ठले बताए ।
मिडिया इन्टरनेसनलले आज आयोजना गरेको कृषि बहस कार्यक्रममा कृषि विकास मन्त्री हरिप्रसाद पराजुलीले मह उत्पादनमा निजी क्षेत्रको प्रस्ताव आए छ प्रतिशत ब्याजमा लगानी गर्न सरकार इच्छुक रहेको बताए ।
नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष दिनेश श्रेष्ठले कृषि उत्पादनमा सरकारको कर नीति स्पष्ट भए निजी क्षेत्रलाई लगानीमा आकर्षित गर्न सकिने बताए ।
आर्थिक वर्ष ०७१÷०७२ को बजेटले कृषि उत्पादनका लागि सरकारले रु एक अर्बको ब्याज रकम विनियोजन गरेको छ । व्यावसायिक खेती गर्न चाहने सहकारी, कम्पनी तथा कृषक समूह एवम् निजी फर्म सञ्चालकका लागि सरकारले सो रकम विनियोजन गरको हो ।
नेपालमा मेलिफेरा र केरेना जातको मौरीबाट व्यावसायिक मह उत्पादन कार्य हुँदै आएको छ । मेलिफेराका ३५ हजार घार र केरेनाबाट एक लाख २५ हजार गोलोद्वारा करिब २१ लाख केजी मह उत्पादन हुँदै आएको बताइन्छ । उत्पादित मह स्थानीय बजारमा खपत हुँदै आएको छ ।
सरकरले यस वर्ष मह उत्पादनका लागि देशको ५० जिल्लालाई पकेट क्षेत्र मानेको छ । जसका लागि मौरी घार तथा मौरीका लागि रु २० करोड विनियोजन गरेको कृषि विकास मन्त्रालय, योजना महाशाखाका सचिव रामप्रसाद पुलामीले जानकारी दिनुभयो ।
युवा तिमी फर्क र यहाँ केही गर भन्ने उद्देश्यले वैदेशिक रोजगारमा ओइरिरहेका युवालाई लक्षित गरी सो रकम विनियोजन गरिएको मन्त्रालयको भनाइ छ ।
सरकारले मौरी चराउन लैजाने ट्रक तथा अन्य उपकरणका लागि ५० देखि ९० प्रतिशतसम्म अनुदान दिने व्यवस्थाबाट युवा वर्ग मौरीपालनमा आकर्षित हुन सक्ने सम्भावना छ ।
विश्वमा नौ थरीका मौरीबाट मात्र मह उत्पादन गर्न सकिन्छ । त्यसमध्ये नेपालमा मेलिफेरा, केरेना, कठ्यौरी, भिरमौरी र सिनकुश (खागो) जातका मौरीबाट मह उत्पादन हुँदै आएको छ ।
सबैभन्दा महँगो मह भिर मौरीको हो । जुन प्रतिकेजी रु दुई हजार ५०० देखि रु तीन हजार, केरेनाको रु ७०० देखि रु एक हजार र मेलिफेराको रु ४०० देखि रु ५०० सम्ममा बिक्री हँुदै आएको छ । नेपालमा मेलिफेरा जातको मौरीको व्यावसायिक उत्पादन हुँदै आएको छ ।
विश्वमा सबैभन्दा धेरै मह उत्पादन गर्ने देश टर्की हो । त्यसपछि क्रमशः अमेरिका, भारत र चीन पर्दछन् । नेपालमा हाल प्रतिवर्ष दुई हजार ५० मेट्रिक टन मह उत्पादन हुने गरेको कीट विकास निर्देशनालयका निर्देशक जगदीशभक्त श्रेष्ठले जानकारी दिनुभयो । नेपालले प्रति वर्ष २० हजार मेट्रिक टन मह उत्पादन गर्ने क्षमता राख्दछ ।
नेपालको मह विश्वमा नै उत्कृष्ट मानिन्छ । नेपाली महले विश्व बजारमा अर्गानिक, प्राकृतिक र हर्वलको पहिचान स्थापित गरेको छ ।
महका अन्तर्राष्ट्रिय व्यापारी जोन हकले नेपालले उत्पादन गरेको सबै मह आफूले खरिद गरिदिने बताउनुभयो । उहाँ नेदरल्यान्ड निवासी हुन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
इजाजतपत्रको प्रक्रियामा रहेका सहकारीलाई थप विवरण र कागजात अपलोड गर्न निर्देशन
१९ कार्तिक २०८३, बुधबार
