१७ वैशाख २०८३, बिहिबार

हातेमालो साकोसद्धारा १३ करोड उन्नाइस लाखको कारोवार

२०७१ साउन ४, आईतवार
हातेमालो साकोसद्धारा १३ करोड उन्नाइस लाखको कारोवार

सिमरा, ४ साउन  । हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आ. व. २०७०÷०७१ को वार्षिक खातावन्दी गरेको छ । संस्थाले उक्त आर्थिक वर्ष ७२ लाख चौतीस हजार रुपैया आर्जन गरेको छ ।
गढीमाई नगरपालिका वडा नं. २ सिमरामा रहेको संस्थाले १ हजार ३ सय ३२ सदस्यहरुवीच कारोवार गरिरहेको र हाल १३ करोड वीस लाख ४५ हजारको कुल सम्पत्ति वा दायित्व सिर्जना गरेको संस्थाका अध्यक्ष कृष्ण पौडेलले जानकारी दिए । संस्थामा हाल करीव एक करोड छयालीस लाख शेयर पूंजी, आठ करोड चार लाख बचत, दश करोड वीस लाख कर्जा लगानी रहेको  सं। संस्थाले गत वर्ष १३ करोड तिरासी लाख लगानी र ११ करोड पैतीस लाख रुपैया असुली गरेको छ । त्यसैगरी संस्थाले सदस्यहरुबाट विभिन्न शिर्षकमा रु. १६ करोड अठाइस लाख बचत संकलन र रु. १३ करोड सतहत्तर लाख छैसठी हजार बचत फिर्तासमेत गरेको छ । उक्त मुनाफा र कारोवार अनुमानित बजेट भन्दा करीव १२ प्रतिशतले बढी हो ।
संस्थाले सोही वर्ष करीव पैसठी लाखको लगानीमा निर्माणाधीन भवनको पहिलो तला पुरा गरी आफनै भवनबाट कारोवार प्रारम्भ गरिसकेको छ र चालु वर्षभित्रै पुरा गर्ने गरी दोस्रो तला निर्माण प्रक्रिया अघि बढाएको छ । संस्थाले सदस्यहरुलाई गुणस्तरीय वित्तिय सेवा, पन्ध्र प्रतिशत लाभांश र दुर्घटना बिमा सुविधा उपलव्ध गराउदै आएको छ । युवा तथा साना व्यवसायी स्वरोजगार कोष र साना किसान विकास बैंकमार्फत सुपथ व्याजदरमा स्वरोजगार कर्जा सेवा उपलव्ध गराउदै आएको छ । संस्थाले श्रावण १ गतेबाट कृषि कर्जामा एक प्रतिशत व्याज छुट र नियमित रुपमा किस्ता बुझाउने सदस्यहरुलाई व्याज रकममा दुई प्रतिशत छुट दिने नीति लागु गरेको छ । संस्थाले तीन वर्षअघि लागु गरेको त्रिवर्षीय रणनीतिक योजनाको अवधि पुरा भएको छ र संस्थाका अध्यक्ष कृष्ण पौडेलको संयोजकत्वमा सात सदस्यीय रणनीतिक योजना तथा नीतिहरु तर्जुमा समिति गठनसमेत गरेको छ । संस्थाले आगामी भाद्र मसान्तभित्र सातौं वार्षिक साधारणसभासमेत गर्ने निर्णय गरेको छ ।
२०६५ जेठ २० गते ७२ शेयर सदस्यहरुको ९० हजार दुई सय रुपैया शेयर पूंजीमा दर्ता भई शुरु भएको यो संस्थाले सदस्यहरुवीच मध्यतराईकै समुदायमा आधारित सदस्यकेन्द्रीत उत्कृष्ट बचत तथा ऋण सहकारी संस्थाको पहिचान बनाएको हातेमालोले यस भेगको सहकारी अभियानलाई व्यवस्थित र प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । संस्थाले विभिन्न रचनात्मक कार्यहरुसहित सामाजिक उत्तरदायित्वसमेत बहन गरिरहेको छ ।
संस्थाले गुणस्तरीय वित्तिय सेवा उपलव्ध गराउनुका साथै सहकारीहरुवीच एकीकरण छलफल, सहकारी क्रियाकलापको विविधीकरणसंगै आगामी दिनमा कृषि, शिक्षा तथा स्वास्थ्य सेवाका लागि अघि बढनेसमेत उद्धेश्य लिएको छ ।

अभिलेख

लोकप्रिय